चुनावको चटारोमा कतिपय महत्त्वपूर्ण काम छुटेका छन्। कैयन् गर्नैपर्ने कामसमेत हुन पाएका छैनन्। धौलागिरि हिमालको आधार शिविरमा विगत ४१ दिनदेखि भोकभोकै दुईटा घोडा बाँचिरहेका छन्।
सामान ढुवानीका बेला लगिएका तिनीहरू त्यो ठाउँमा मृत्यु कुरेर बसेका छन्। तिनलाई बेलैमा उद्धार गर्न वा तिनका निम्ति खानाको प्रबन्ध गर्न सम्बन्धित व्यक्ति चुकेका छन्। यी निर्दोष प्राणीले मानिसको सेवा गरेका छन्। तर अप्ठ्यारोमा परेका बेला तिनलाई त्यत्तिकै छाडिएको छ। मानवीय भावना कमजोर नहुने हो भने स्वाभाविकरूपमा तिनका निम्ति सोच्न सकिन्छ। एकातिर, उच्च हिमाली क्षेत्रमा घोडा र खच्चरलाई ढुवानीका निम्ति प्रयोग गर्न पाइँदैन। प्रयोग गरिसकेपछि तिनको कल्याणका निम्ति थोरै मात्र भए पनि सोच बनाएको भए हुन्थ्यो।
धर्ती मानिस र अन्य प्राणीको साझा बासस्थान हो। मानिस आफ्नो सोच्ने क्षमताका कारण आज प्राणी जगत्मा आफ्नो हैकम स्थापित गर्न सफल भएको छ। चेतनाका हिसाबले अन्य प्राणी पनि मानिसभन्दा कम छैनन्। तिनले देखाउने भावलाई मात्र महसुस गर्ने हो भने पनि अन्य प्राणीप्रति पनि मानिसमा उत्तिकै अनुकम्पा जाग्न सक्छ। अरूभन्दा शक्तिशाली भएपछि स्वाभाविक रूपमा सबैको रक्षाका निम्ति मानिसले आफूलाई लगाउनुपर्छ। तर पशुप्रति गरिने व्यवहारका हिसाबले मानिसले आफूलाई उम्दा सावित गर्न सकेको छैन। त्यही भएर विभिन्न कानुन बनाएर भए पनि मानिसलाई त्यस बाटोमा लगाउन कोसिस गरिएको छ। तैपनि त्यसको पालना भएको देखिँदैन।
आफूले काम लगाएका पशुपन्छीप्रतिको दायित्व मानिसमा रहन्छ। उसले ती निर्दोष प्राणाीमाथि ज्यादती गर्न पाउँदैन। हिजोका दिनमा पशुप्रतिको क्रूरता बढेपछि रोकथामका लागि कानुन बनेका पनि छन्। तर तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको विभिन्न घटना क्रमले देखाएका छन्। धौलागिरि हिमालको आधार शिविरमा मरेका घोडा र खच्चडको थुप्रो नजिकै दुई जीवित घोडाको तस्बिर र समाचार नागरिकमा प्रकाशित भएको थियो। आरोही र पर्यटक सामग्री लिएर आधार शिविर पुगेका ती घोडा र खच्चड असोज १७ गते हिउँले पुरिएका थिए। हिउँमा परेर ४५ घोडा र खच्चड मरेका थिए।
त्यो बेलादेखि आधार शिविरमा अलपत्र परेका घोडाको उद्धार हुन सकेन। ती घोडाले खान पाएनन्। भोकभोकै रहेका तीप्रतिको दायित्व तिनलाई भारी बोकाउने ट्राभल तथा ट्रेकिङ कम्पनीको हो। त्यतातिर कसैको ध्यान पुग्न सकेको छैन। यस्तो बेलामा तिनलाई हिँडाएर सुरक्षित ठाउँमा ल्याउन नसकिए पनि कम्तीमा खानाको व्यवस्था गराउन सकिने थियो। तिनलाई खानाको व्यवस्था र उद्धार कार्यका निम्ति सम्बन्धित व्यक्तिहरूको ध्यान पुग्न नसक्दा कानुन कार्यान्वयन गर्ने निकायको भने ध्यान पुग्नु उचित हुन्थ्यो।
यी घोडाको ठाउँमा कुनै मानिस भए यसरी पक्कै छाडिने थिएन। खान नपाएका र चिसोले कठ्याङ्ग्रिएका यी घोडाको अवस्था देखेर उदारमना व्यक्तिहरूले तिनको अवस्थाबारे जानकारी गराएका छन्। केही आरोही र भरियाले आफूसँग भएको बाँकी खाना दिए पनि त्यो तिनका निम्ति पर्याप्त हुन सक्दैन। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने विश्वको सातौँ (८ हजार १ सय ६७) मिटर अग्लो धौलागिरि हिमालमा थामसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीका सामान लिन गएका २८ खच्चड मरेका मरिसकेका छन्। दसैँको दिनमा हिमपातले अलपत्र भरिया र पर्यटकको उद्धार भए पनि सामान लिएर गएका घोडा खच्चड भने अलपत्र परे। भोकभोकै मरेका पशुहरूमा अहिले जम्मा दुईवटा घोडा बाँकी भएका हुन्।
हामीकहाँ पशु कल्याणका निम्ति कानुनले समेत सम्बन्धित व्यक्तिलाई जिम्मेवारी तोकेको छ। पशु कल्याण निर्देशिका, २०७३ अनुसार पशुको आहार, बासस्थान, सुरक्षा, स्वास्थ्य र सामान्य जीवन यापन जस्ता न्यूनतम आवश्यकतामा ध्यान पुर्याउनुपर्छ। पशुप्रति हुने निर्दयी व्यवहार रोकावट र पशु कल्याण सुनिश्चित गर्ने उद्देश्य यसमा राखिएको छ। पशुलाई कुनै काम लगाउँदा होस् वा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा होस्, तोकिएको मापदण्ड पूरा गर्नुपर्छ। पशुले कतै उजुरबाजुर गर्न सक्दैनन् भन्ने ठानेर अन्याय गर्ने होइन,आफू जस्तै एउटा चेतना भएको प्राणीमाथि अन्याय गर्दैछु कि भनेर आफैँ सचेत हुने हो। पशु बोल्न पो सक्दैनन्। तर, तिनमा संवेदनाको कमी हुँदैन। अतः पशुपति गरिने निर्दयी व्यवहार आफैँमा दण्डनीय छ।
पशुपन्छी ओसारपसार गर्दा पनि तोकिएको मापदण्ड पूरा गर्नुपर्छ। तर कतिपय अवस्थामा कुखुरालाई उल्टो पारेर झुण्ड्याएको, पशुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा घाइते तुल्याइएको, तिनलाई असजिलो पारेको देखिन्छ। यसो गर्नु भनेको पशु ढुवानी मापदण्ड, २०६४ विपरीत हो। यस्तो मापदण्ड कार्यान्वयनमा आइसकेको भए पनि तद्नुकूलको व्यवहार नभएको देखिन्छ। केही वर्षअघि बनेपामा कुकुरलाई निर्दयतापूर्वक कुटेर मारेको दृश्य सार्वजनिक भएको थियो। त्यसले प्रशस्त ध्यानकर्षण गरेको पनि हो। यसले बिस्तारै हाम्रो समाजमा पशुप्रति निर्दयी व्यवहार गर्न नहुने धारणा बलियो हुँदै गएको छ। होइन भने विगतमा पशुमाथि क्रूर व्यवहार गर्नुलाई अनौठो मानिँदैनथ्यो।
समयसँगै यस्ता विषयमा पनि सुधार आउनुपर्ने हुन्छ। धौलागिरि हिमाल आधार शिविरमा रहेका यी अन्तिम बाँचेका दुई घोडाका सन्दर्भमा पशु अधिकारको क्षेत्रमा क्रियाशील संस्थाको ध्यानाकर्षण भएको छ। तिनले पक्कै पनि सरकारको ध्यानाकर्षण गराउनेछन्। जसमार्फत सम्बन्धित व्यक्तिमा घोडाहरूप्रति संवेदनशील हुन आग्रह गर्नेछन्। यसपटक भएको जस्तो घटना भविष्यमा नहोस्। पशुपन्छीप्रति संवेदनशील हृदयले आममानिसको मन पनि जित्न सक्छ। हामीमा गहिरो संवेदनशीलता जगाउन पनि पशुपन्छीप्रति सकारात्मक भाव राख्नु आवश्यक छ। आजको नागरिक दैनिकको सम्पादकीय साभार गरिएको हो ।