‘दिदी मलाई त्यसले धोका दियो। मैले आफूलाई भन्दा पनि ज्यादा प्रेम गरेकी थिएँ, के कमी देखेछ? १६ दिन भयो उसले न मेरो फोन उठाउँछ न आफूले गर्छ। अनलाइन देखिन्छ, म्यासेज पठाउँछु, सीन गरेर छोड्छ। मलाई सास फेर्न पनि धौँधौँ भएको छ।
मायाले मुटु खान्छ भन्थे हो रैछ दिदी, जसले जे भन्दा पनि रून मात्र मन लाग्छ। म त बाँच्दिनँ होला दिदी अब। एकै पटक फोन उठाएर के भएको हो भनिदिए पनि अलि शान्त त हुन्थ्यो होला नि यो मन।’
धेरै दिनदेखि गुमसुम भएकी बहिनी मसँग भक्कानिएर रोई।
बहिनीको कुरा सुनेर मैले मेरो विगतलाई सम्झिएँ। मैल मेरो हुनै नसकेको प्रेमीलाई सम्झिएँ जसलाई म प्रेममा कुनै हद हुन्छ भने त्यो हदभन्दा पनि धेरै माथि उठेर प्रेम गर्थें र उसकी बन्न चाहन्थेँ।
पहिले नजिकिन खोजेको, प्रेम प्रस्ताव राखेको उसैले हो। सुरूसुरूमा मलाई खासै वास्ता लाग्दैन थियो। जब वास्ता गर्न थालेँ तब उसले मसँग गर्ने व्यवहार र वचनमा परिवर्तन पाएँ। पहिले निकै माया र वास्ता गरे झैँ गर्थ्यो। विस्तारै म हुनु र नहुनुमा उसलाई कुनै फरक नै नपर्ने झैं गर्न थाल्यो।
दिन तनावमा, रात बिना निद्रा बित्थ्यो। मलाई त्यसबेला आफू निकै एक्लो लाग्थ्यो। केही गर्न, कसैसँग बोल्न मसँग जाँगर थिएन। अभाव केही कुराको नभए पनि आफू टुहुरो लाग्थ्यो।
एक अन्जान व्यक्तिलाई यति धेरै खास जीवनमा पहिलो पटक बनाएकी थिएँ। त्यसैले पनि उसलाई जत्तिकै महत्त्व मैले कसैलाई दिएकी थिइनँ। आमासँग फोनमा बोल्दै गर्दा उसको फोन आयो भने १/२ घन्टीमा नै उठाउँथें तर ऊसँग बोल्दै गर्दा आमाको फोन आयो भने वास्ता गर्दिन थिएँ।
धेरै दिन चुपचाप बसेर तड्पाएपछि एकदिन उसले भनेको थियो, ‘मलाई तिमीले आफूसँग बाँधेर राख्न नसक्नु कमजोरी तिम्रो हो।’
उसका यी शब्दहरू मेरो मनमा नमज्जाले बिझेँ।
मैले बाँध्नका लागि प्रेम न गरेँ न गर्छु। मैले प्रेम उसलाई माया र साथ दिई सहयात्री बन्नका लागि गरेकी थिएँ।
कसैले भनिदिनु उसलाई, ‘मेरो कमजोरी उसलाई अघात प्रेम र विश्वास गर्नु हो। त्यो बाहेक उसलाई बाँधेर राख्न नसक्नु तेरो कमजोरी हो।’ स्वंय मैले विश्वास गर्ने भगवान आएर भने पनि म स्वीकार गर्दिनँ।
मैले दुनियाँ ठानेको मान्छेले मेरो दुनियाँ नै उजाड बनाएर मलाई छोडेको बेला मलाई पनि बहिनीलाई जस्तै बाँच्दिनँ, अब मर्छु भन्ने ख्याल मनमा आइरहन्थ्यो।
यहाँ हरेकको दिल एक न एक चोटि नराम्ररी टुटेको छ। कसैको त एउटै दिल बारबार टुटेको पनि छ। मलाई लाग्छ टुट्नु नराम्रो होइन। टुटेर जोडिन नखोज्नु, लागेको चोटलाई पटकपटक कोट्याइरहनु चाहिँ बेवकुफी हो।
हामी आफ्नो शरीरलाई हेरौं, आफ्ना हातखुट्टा हेरौं। हातखुट्टाका प्रत्येक अङ्ग टुटेर बनेका छन्। टुटेका हड्डीलाई जोर्निले जोडेर हाम्रा हात खुट्टाका औंला बनेका छन्। हामी एकछिन जोर्नी नै नभएको हातखुट्टाको कल्पना गरौं त कस्तो लाग्छ? हड्डी टुट्दैन थिए, जोर्नीले जोडिँदैन थियो भने पक्कै पनि हामी यति सहज र सबल महसुस गर्दैन्थ्यौं जुन आज गर्छौं।
त्यस्तै टुटेर खण्ड-खण्ड भएका हाम्रा सपना र रहरलाई हामी आत्मबल र आत्मविश्वासले जोड्न सक्छौँ। जोड्ने कि नजोड्ने त्यो आफ्नो हातमा हुन्छ। टुट्नु कत्ति नराम्रो होइन। यसले नयाँ जीवन दिन्छ।
प्रेमको बदलामा प्रेम चाहनु गलत होइन तर तिमीले प्रेम गरेकाले तिमीलाई तिमीले उसलाई गरे जस्तै प्रेम गर्नुपर्छ भन्ने चाहिँ नसोचेकै राम्रो। तिमीलाई ऊसँग बोल्न मन लागेमा फोन गर्न सक्छौ। फोन गर्ने तिम्रो हातमा छ तर फोन उठाउने/नउठाउने उसको हातमा छ। हाम्रो आफ्नै मन त बुझ्न सकिँदैन, अर्काको बुझ्नै नसकिने मन बुझ्ने मूर्खता किन गर्ने?
माया भन्ने चिज अचम्मको हुन्छ। बुझ्न खोजियो भनेर डुबाएर जान्छ तर बाँच्नका लागि हामीले तैरिनुपर्छ। त्यसैले प्रेमलाई परिभाषाको दायराभित्र राख्न, उसले त्यसो गर्यो भने मैलै यसो गर्छु भनेर कल्पन उचित छैन।
जीवनमा प्रेम चाहिन्छ, राम्रो लागेमा प्रेम गर्न पनि पाइन्छ। सापटी लगेको पैसा फिर्ता मागे जस्तै कसैलाई मैले प्रेम गर्छु, तैंले पनि गर् भनेर दबाब दिन सकिन्न।
मेरी बहिनीले मात्र नभएर ती तमाम व्यक्तिहरूले बुझ्न जरुरी छ, जो प्रेमीले धोका दियो भनेर आफ्नो हत्यारा आफै बन्ने बारे सोच्दैछन्।
सत्य कुरा तिमीले सबैभन्दा बढी प्रेम आफूलाई गर्छौ, तिमी रूनुको कारण कसैले घात गरेर होइन, तिम्रो मन दुखेर हो।
पहिलो कुरा, तिमीले उसलाई आफूलाई भन्दा बढी महत्त्व दिएर गल्ती गर्यौ। अर्को, आफूलाई प्रेम गर्न छोडेर उसले प्रेम गरिदिए हुन्थ्यो भन्ने आश राखेर गल्ती गर्यौ।
तिमीले चाहँदा चाहँदै, आफ्नो शतप्रतिशत दिँदादिँदै तिमीले चाहेको कुरा प्राप्त गर्न सकेनौ भने सम्झनु ती कुरा तिम्रा लागि बनेका होइनन्, तिमी तीभन्दा राम्रा कुरा प्राप्त गर्न सक्छौ।
समस्या र भावनाबाट भागेर होइन, आत्मसात गर्दै सामना गरेर जिउनु पर्छ। हामी यीबाट भागियो भने कुकुरसँग भागे जस्तै हुन्छ। समस्या र भावना पछि लागेर डस्न आइपुग्छन्। त्यसैले नडराई टक्क उभिएर सामना गर्नुपर्छ। समस्या आफै भाग्छन् या तिम्रो कदममा झुक्छन्।
हिजोको कुरा आज पुरानो भयो र आजको कुरा भोलि पुरानो हुनेछ। अहिले पीडा भए पनि समय अधिक बलवान छ। समयसँगै सबै ठिक हुन्छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ, सब कुरा ठिक हुन्छ। सबै कुरा परिवर्तनशील छ। केसैका लागि पनि मरिहत्ते गर्नु पर्दैन।
विवाह भएर बालबच्चा भएपछि त सम्बन्ध छुट्छ। तिम्रो त एक प्रेम सम्बन्ध मात्र टुटेको हो। केही दिन नराम्रो लाग्ने छ तर विश्वास गर, समयसँगै सामान्य बन्नेछौ। सबै कुरा ठिक हुनेछ। कोही बिना कोही मर्दैन, आदतको कुरा केही समय लाग्छ तर परिवर्तन भने पक्कै हुन्छ।
पहिला राम्रो, प्रिय मान्छे बोलेको, हाँसेको सुनिरहुँ, हेरिरहुँ लाग्ने मान्छे ऊसँगको संगतपछि देख्दा पनि रिस उठ्छ। यो साँचो हो, हामीले पहिले व्यक्तिको तन, अनुहार हेरेर मन पराइन्छ। व्यक्तिको व्यवहार र विचार सुन्दर नभएमा त्यो दिगो हुँदैन। यसर्थ कसैलाई आकर्षण गर्न तनलाई श्रृंगार्नुभन्दा मन र विचारलाई सुन्दर बनाउन तर्फ हामीले विशेष ध्यान दिनुपर्छ।
तिम्रो उपस्थितिलाई महत्त्व नदिने व्यक्ति तिम्रो जीवनमा भएको भन्दा नभएको नै राम्रो हुन्छ। आफ्नो अनुशासनमा रहेर सुन्दर विचारमा मेहनत गरिरह्यौ भने तिमीले चाहेको कुराले तिमी खोज्दै तिम्रासामु आइपुग्छ र त्यो तिम्रो हुनेछ।
एक गए अर्को आउँछ। तिमीलाई महत्व नै नदिने, मूल्य नै नदिनेका लागि तिम्रो मूल्यवान जीवन किन त्याग गर्न खोज्दैछौ? तिमी हुनुमा फरक नपर्नेलाई तिमी संसारै त्यागेर गए पनि केही फरक पर्दैन। फरक त ती आमाबाबु र आफन्तलाई पर्छ जसले तिम्रो खुसीका लागि तिमीले चाहेका सबथोक पुर्याइदिएका छन्।
तिम्रो जीवन तिम्रो मात्र होइन। तिमी आज यहाँ हुनुका पछाडि थुप्रै व्यक्तिको हात छ र ती व्यक्तिप्रति तिमीले पूरा गर्नुपर्ने कर्तव्य छन्। प्रिय व्यक्तिहरू विश्वास गर, टुट्नु नराम्रो होइन, यसले तिमीलाई पहिलेभन्दा सबल र सक्षम बनाउँछ। कसैका लागि मर्ने विचार त्यागिदेऊ। जीवन सुन्दर छ।