आदरणीय पार्टी सभापति
सम्माननीय प्रम शेरबहादुर देउवा दाइ !
जयनेपाल !
अघिल्लो अामनिर्वाचनमा इतिहासमै नेपाली कांग्रेसले सबैभन्दा शर्मानक र लज्जास्पद पराजयको नतिजा व्यहोर्नुपर्यो। कारण धेरै थिए, परिस्थितिजन्य र तत्कालिन कारण कांग्रेसकै प्रतिकूल थिए, तथापि अन्तराष्ट्रिय र केही राष्ट्रिय घटनाका मान्यता अनुरुप कांग्रेसको नेतृत्व गरिरहनु भएका तत्कालिन पार्टी सभापति हजुरले नैतिकता बोध गर्दै राजिनामा गर्नुपर्थ्यो, त्यसो गरिएन।
तत्पश्चातका दिनहरूमा पनि कांग्रेसको सांगठनिक विस्तार कार्य यति फितलो भयो, सर्वविदितै छ। सशक्त कांग्रेस चाहनेहरू निराश रहिरहनु पर्यो, जगजाहेर छ। यसै बीच चौधौं महाधिवेशनमार्फत नेतृत्व चयनका लागि तमाम कांग्रेसजन सामु दुई विकल्प थिए – कांग्रेस नेतृत्वको लागि हजुर (समादरणीय सभापति शेरबहादुर देउवा ज्यू)को पुनरागमन वा बहिर्गमन।
आदरणीय महाधिवेशन प्रतिनिधिहरूले हामी सम्पूर्ण कांग्रेसजन कार्यकर्ताहरूको प्रतिनिधिमूलक मतदाताका रुपमा उपस्थिति जनाउनु भयो। हामीले परिवर्तन मार्फत कांग्रेसको परिमार्जन र पुस्तान्तरण एवम् पदहस्तान्तरणमार्फत सशक्त परिस्कृत कांग्रेसको निर्माण चाहेका थियौं। तर त्यसो भएन।
हामीले व्यक्तिको होइन, प्रवृत्तिको विरोध गरेका थियौं। हजूरले सरकार प्रमुखको अवसर पनि पटक पटक पाउनु भएकै छ, पार्टी नेतृत्वमा समेत दोहोर्याउनुभएका हजुरको नेतृत्वमा “पक्ष”को दुर्भाव मौल्याउदै छ, “दक्ष”साथीहरू पाखा लाग्दैछन्, “लक्ष्य” ओझेल पर्दै गएको छ। हजुरको नेतृत्वको पुनरावृत्तिपश्चात् पुन: नीति र विधिभन्दा व्यक्ति प्रधान भएको स्थितिले सर्वोत्कृष्ट लोकतान्त्रिक पार्टीको धज्जी उडाउने काम भएको छ।पछिल्लो समानुपातिक सूची प्रकरणलाई दृष्टिगोचर गर्दा समेत यहि कुराको पुनर्पुष्टी भएको एक उपमा र दृष्टान्त म्याग्दीबाट पनि पेश गर्न चाहन्छु।
२०३६ सालको जनमत संग्रहमा अोठमाथि जुङ्गाको रेखी भर्खर बसेका म्याग्देली एक युवा ‘नेत्रबहादुर महत’ बहुदलको प्रचारमा निरन्तर लागिरहे। २०४६/०४७ को परिवर्तनपछि म्याग्दी कांग्रेसका संस्थापक सदस्य महत नेपाल तरूण दल म्याग्दीका संस्थापक अध्यक्ष बने। द्वन्द्वकालिन असहज परिस्थितिमा तरूण दलको नेतृत्व सम्हालेका र २०६० चैत ७ को बेनी आक्रमणमा घरबास गुमाएर ज्यानसम्म जोगाएका दाह्री जुङ्गा फुलिसकेका महतको मर्मान्त कथालाई अञ्जु, मञ्जु लगायतका भाउजूहरुको माननीय पदले साट्न मिल्छ ? यसको जवाफ चाहिन्छ।
सभापति प्रम देउवा दाइ, स्मरण गराउन चाहन्छु – हजुरले एक व्यक्ति एक पदको अवधारणाको वहाना बनाइ ‘प्रजातान्त्रिक कांग्रेस’का रुपमा पार्टी विभाजन गराउँदा हजुरसँगै सती जान तयार भएर सो पार्टीको जिल्ला सभापति बनी हालसम्म पनि हजुरकै जयगानको लाममा सतिसाल भएर उभिएका महतहरूलाई आज कसरी बिर्सदै हुनुहुन्छ ? जतिबेला महतहरू चारतारे ध्वजा फहराउन म्याग्दीका माटोसँग मितेरी गाँस्दै थिए, सुकिला दरबारमा विराजमान, एेश आरामको जिन्दगीका विलासी भाउजूहरू धूलोमैलोको संसर्गदेखि कति टाढा हुनुहुन्थ्यो, हेक्का छ ?
माफ गर्नुहोला सभापति ज्यू, महिलाकै हकमा पनि तत्कालिन द्वन्द्वरत समयमा आँखामा पट्टी बाँधिएर एक्काइस दिन अपहरित भएका विना खड्काहरू पनि म्याग्दीका भूगोलमा छन् है भनेर स्मरण गराउने धृष्टता गरें। कि कांग्रेस केन्द्रीय कार्यालयको नक्शामा म्याग्दीको भूगोल छुटेको छ र ! होइन भने ११० को सूचीभित्र नेत्र, विना वा म्याग्दीका अन्य किन अटाएनन् , यसको जवाफ चाहिन्छ।
गत अधिवेशनहरूमा कथित गुट, उपगुट र फुटका बदनामी नाम र बहानामा “योग्यता र योगदान” दुवै भएका, “लगानी र लगाव” खुबै भएका र “सदिच्छा र सामर्थ्य” सबै भएका हामी जस्ता इमान्दार कार्यकर्ताहरूलाई छानी छानी पाखा लगाइएका गलत परिणाम र नजीरलाई विश्रान्ति दिदै “उत्साह, एकता र रुपान्तरण”को नारालाई सार्थक बनाउने दिशामा कांग्रेस हिडाउनुभएको छ ??
अन्तमा, आशा र विश्वास छ, प्रत्यक्ष टिकट प्रकरणमा विवेक पुर्याइयोस् , आगामी निर्वाचनको परिणाम मार्फत् नेपाली कांग्रेस सबैभन्दा बलियो भएको इतिहास कायम गर्न पनि हजुरको कार्यकाल सफल रहोस् ! हार्दिक शुभकामना !!
जयनेपाल !
– अजयमिलन श्रेष्ठ, म्याग्दी