हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ टिप्न सुरु गरिएको छ। बगैँचामा स्याउ पाक्न थालेपछि बजारीकरणको लागि कृषकहरूले स्याउ टिप्न थालेका हुन्। मुस्ताङका ५ वटै स्थानीय तहका स्याउ बगैँचामा यतिबेला स्याउ व्यापारीहरूको चहलपहल बढेको छ।
बोटमा स्याउ नपाक्दै बजार पठाउने प्रवृत्तिलाई रोक्दै यस वर्ष स्याउ टिप्ने समय तोकिएको थियो। भदौ २५ गतेदेखि कृषकहरूलाई स्याउ टिप्न दिने निर्णय भयसँगै बगैँचाहरूमा स्याउ टिप्न सुरु भएको कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।
उनका अनुसार, यसवर्ष मुस्ताङमा स्याउ उत्पादन बढेको छ। विगतका वर्षहरूमा बोटबाट स्याउ नपाक्दै बजारमा लैजाँदा उपभोक्ताले मुस्ताङको स्याउमा गुणस्तर खस्किएको गुनासो गरेपछि यस वर्षदेखि भने बोटमा पाकेपछि मात्रै बजारमा स्याउ निर्यात गर्न थालिएको छ।
अनुकूल मौसमका कारण गत वर्षको तुलनामा स्याउको उत्पादन १५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको कार्यालय प्रमुख बस्ताकोटीले बताए।
यहाँ उत्पादन भएको स्याउ ९० प्रतिशत विक्री हुने गरेको छ। गत बर्ष ५ हजार ५ सय ६४ मेट्रिक टन स्याउ बिक्रीबाट मुस्ताङमा रु ५१ करोड बढी रकम भित्रिएको थियो। मुस्ताङमा १ हजार ४ सय ७५ हेक्टर जमिनमा स्याउ खेती गरिएको मध्ये ५८० हेक्टरमा गरिएको स्याउका बोटहरूले उत्पादन हुने गरेको छ। जसमध्ये ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती विस्तार भएको हो। जिल्लाको थासाङ गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ बाहेक ५ वटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको छ।
स्याउको राजधानीका रूपमा चिनिने मुस्ताङमा स्याउ खेतीलाई थप व्यावसायिक र विस्तार गर्न कृषि ज्ञान केन्द्रले सहयोग गर्दै आएको छ। पुरानो बगैँचा व्यवस्थापनका लागि प्राङ्गारिक मल, विषादी र यन्त्र उपकरण खरिदका लागि कार्यालयले नगद अनुदान दिँदै आएको छ। कार्यालयले स्याउ खेतीको विस्तार र व्यवसायीकरणका लागि बल्क विस्तार कार्यक्रम समेत सञ्चालन गरेको छ।
कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समेत प्राविधिक परामर्श सेवासँगै गुणस्तर कायम गरेर बजारीकरण गर्न सहयोग गर्न थालेपछि स्याउ खेतीतर्फ कृषकहरू उत्साहित बनेका छन्। जोमसोममा बर्षौंदेखि स्याउ खेती गर्दै आएका कर्मा गुरुङले हरेक वर्ष खेतीलाई विस्तार गरेको बताए। करिब ३ सय रोपनी जग्गामा स्याउ खेती गरेका गुरुङले आफ्नो बगैँचामा उत्पादन भएका स्याउलाई काठमाडौँ पुर्याएर विक्री गर्ने तयारी गरेको बताए। ‘यहाँ बाहिरका व्यापारीहरू पनि आउने गर्छन्, यस वर्ष म आफैँले पनि स्याउलाई काठमाण्डौंको मन्डीमा पुर्याएर विक्री गर्ने योजनामा छु, बाहिरका व्यापारीहरूले पनि यहाँका बगैँचा नै खरिद गरेर स्याउ टिप्न थालेका छन्’, उनले भने।
मुस्ताङ स्याउको माग अत्यधिक
नगदे बालीको रूपमा रहेको मुस्ताङको स्याउ यहाँका किसानको मुख्य आम्दानीको स्रोत हो भने समुद्री सतहदेखि २ हजार ५ सय मिटर माथिको उचाइमा उत्पादन हुने मुस्ताङको स्याउ हिउँले सिञ्चित हुने हुँदा स्वादिलो र पोषिलो हुने भएकाले बजारमा माग अत्यधिक हुने गर्छ।
व्यापारीले किसानको स्याउ बगैँचामा प्रतिकेजी ९० देखि १ सय रुपैयाँमा खरिद गरी बेनी, बागलुङ, पोखरा, काठमाडौंलगायतका बजारमा विक्री गर्दै आएका छन्। बजारमा मुस्ताङ स्याउको मूल्य प्रतिकिलो रु. २ देखि ३ सय रुपैयाँसम्म पर्ने गरेको छ।