दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन्, म्याग्दीकी सपना रोकामगर । काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त बनेर दागबत्ती दिन्छिन् । बेवारिसे शव भेटिएपछि पहिलो फोन सपनालाई नै जान्छ । कानुनी प्रक्रिया पूरा गरेपछि उनले नै पशुपतिमा दागवत्ती दिने गरेकी छन् ।
पशुपति आसपासमा माग्न बस्नेहरूले उनलाई आफ्नै सदस्य सम्झन्छन् । हरेक दिन एउटै दैनिकी भएकी म्याग्दीको मंगला गाउँपालिका ३, बरंजाको बुकेनी घर भएकी सपनाले आफन्त कोही नभएकाको उपचार र मृत्युपछिको दाहसंस्कारमा समय दिएकी सपनाले निरन्तरता दिइरहेकी छन् । यो अभियानमा उनी करिब आधादशकदेखि सक्रिय छिन् । बेवारिसेको शवव्यवस्थापनसँगै उनी अन्य सामाजिक कार्यमा समेत जुटेकी छन् । सपनाको सामाजिक तथा मानवीय यात्रा पशुपति आर्यघाटमा मात्रै सीमित छैन ।
उनी पहिलो र दोस्रो कोरोनाकालमा भएको लकडाउनमा सडका भोकभोकै बसेकालाई खानाको व्यवस्थापन, बेवारिसेलाई जाडोयाममा लत्ताकपडा, आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकाहरुलाई उपचारमा सहयोगसहित थुप्रै सामाजिक कार्यमा व्यस्त थिइन्, छिन् ।
बेवारिस शवव्यवस्थापनका सदस्यहरुबाटै भएको व्यवहारबाट आजित भएपनि उनले आफ्नो अभियानलाई काठमाडौंसँगै देशभर फैलाउने अभियान अन्तर्गत दोस्रोपटक स्थानीय तहको निर्वाचनमा विजय भएका जनप्रतिनिधिहरुसँग समेत अभियानका बारेमा छलफलमा व्यस्त छिन् ।
यही बेवारिसको अभियानमा लागेर सपनालाई ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) तयार पारेको यस वर्षका एक सय महिलाको सूचीमा राखेको थियो ।पहिले चर्चा कम भएपनि बिबिसीले सार्वजनिक गरेको सूचीले सपनाको सामाजिक यात्रा फराकिलो बन्दै गयो ।
हरेक वर्ष संसारभरका एक सय प्रेरणादायी महिलाहरुको सूचीमा सपनासँगै फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोबल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत विश्वभर दर्जनौ लोकप्रिय र संघर्षशील महिलाहरू थिए ।
नेपालकी एक युवा समाजसेवीलाई समेत विश्वका शक्तिशाली व्यक्तिको सूचीमा परेपछिको यात्रा चुनौतीपूर्ण भएपनि सपनाले सहजै सामाजिक अभियानमार्फत आफ्नो सूचीमा परेको नामको प्रमाणीत गर्न सफल भइन् । उनले आफ्नो गृह जिल्ला म्याग्दीमा समेत विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउने गरेकी छन् ।
म्याग्दीबाट आउने दुखकष्ट र अभावै अभावमा बिताएकाहरुका समाचारले उनलाई सधैं छुन्छ र सक्ने सहयोग समेत आँगनमै पुग्छ । ‘मैले बेवारिसेलाई दागबत्ती दिएर सेवा गरेको छु । यो सेवामा लाग्दा निकै आनन्द महसुस भएको छ,’ सपना भन्छिन् ।
बेवारिसे शवका वारिस बनेर पशुपति र अस्पतालका शव गृहमा पुग्ने गरेकी उनलाई ठूला अस्पतालमा बेसहाराको अभिभावकको रुपमा समेत चिन्न थालेका छन्। ‘कुनै समय म पनि सडकमै थिएँ । सडकमा बस्दाको अनुभव मलाई पनि छ,’ उनी भन्छिन् ।
आर्यघाटमा शव जलाउँदा माक्स लगाएर, हातले नाक थुनेर आवतजावत गर्दा सपनालाई केही हुँदैन । विभिन्न ठाउँमा फेला परेका बेवारिसे शव पोष्टमार्टम गरेर दुर्गन्ध फैलिएको शवलाई पनि दाउरा र पराल मिसाएर तयार गरिएको चितामा दागबत्ती दिने गरेकी छन् । भन्छिन्, ‘अपरिचित लासमा दागबत्ती दिँदामृत आत्माले शान्ति पाउँछ । मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ ।’
बेवारिसलाई जमिनमा गाड्न खोज्दासमेत धार्मिक परम्परा अनुसार नै दागबत्ती दिनुपर्छ भनेर समेत अडान लिएको उनको भनाइछ । पशुपतिमा सधैं मृतकका परिवार, आफन्तको रूवाबासी हुने, मलामीको भिडभाड नजिकै उनले दागबत्ती दिने चिता आसपासमा न कसैको रुवाबासी, न कुनै भीड हुन्छ ।
उनले अहिलेसम्म २ सयभन्दा बढीबेवारिसे शवमा दागबत्ती दिएकी छन् । उनले दाहसंस्कार गर्ने प्रायः शव एक महिनादेखि ५ वर्षसम्म पुराना हुन्छन्। बच्चा जन्माएर डस्टविनमा फालेकाको शव समेत उनले नै अन्त्येष्टि गरेका उदाहरण छन् । उनले आफ्नो जीवन समाजसेवामै सर्मपित गर्ने बताइन् ।
समाजसेवा नै आफ्नो शरीरभित्र बग्ने रगत भएको सपनाको भनाइछ । सपनाले यो अभियानको क्रममा दर्जनौ सम्मान समेत प्राप्त गरेकी छन् । उनलाई विश्वका विभिन्न देशबाट समेत भ्रमणसहितको निम्तो आएपनि नेपालको कार्यतालिकाकै कारण समस्या भएको बताउँछिन् ।
को हुन् सपना ?
सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्। त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्। बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रिएपछि केही समय बुटवल र पोखरा बसिन् ।
गलत संगतमा फसेपनि सपनाले कक्षा १२ सम्मको पढाइसकेकी छन् । जीवनसँग हारिसकेकी अवस्थामा आत्महत्याको तयारीसमेत गरिन् । उनले आफ्नो पुरानो जीवन कुलतमा फसेपनि अब बाँकी जीवन समाजसेवामा लाग्ने बताइन् ।
आत्महत्या असफलता माथिको सफलता नभएको भन्दै संघर्ष गरेर सफल बन्ने निधो गरिन् । उनले परिवारबाट गुमेको आफ्नो परिचय स्थापित गर्न सामाजिक कार्यमा निरन्तर सक्रिय भइन् । मध्यम वर्ग, सपनाको घरपरिवार खेती किसानी गर्छन् । सपना घरकी कान्छी छोरी हुन् ।
जो–कोहीसँग एकदमै छिटो घुलमिल हुन सक्ने उनी साथीहरुसँग दुखसुख पोख्थिन् । पहिलोपटक शवको दाहसंस्कार गर्दा सपना १७ वर्षकीमात्र थिइन् । अहिले विगत आफ्नै नाम जस्तै लाग्न उनले परिवारसँग विगतमा गरेका गल्तीको क्षमायाचना गर्दै बेवारिसेहरुको सेवामा लाग्ने प्रतिबद्धता समेत जनाइन् । उनले आफ्नो जीवनको पुरानो दिनलाई चटक्कै बिर्सिएर अगाडि बढेकी छन् । हाल उच्च माविमा अध्ययनरत सपनाले आफ्नो शिक्षालाई समेत निरन्तरता दिने बताएकी छन् ।
यो स्टोरी म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले ढोरपाटन राष्ट्रिय दैनिकमा लेख्नुभएको छ ।