हिमालको फेदीमा रहेको तलाउमा डुंगा आकारको ढुंगामाथि रहेको रिखार मन्दिर छ । सत्य युगमा डुंगा आकारको ढुंगामाथि देवताले भोकमरी अन्त्यका लागि खाद्यान्न ढुवानी गर्ने गरेको धार्मिक विश्वास छ । डुंगा आकारको उक्त ढुंगाको कुवामा कहिल्यै नसुक्ने र मन्दिरमा पूजाआजा गरे मनोकामना पूरा भएकाले विश्वासले अनकन्टार ठाउँमा अवस्थित मन्दिरमा बर्षेनी भक्तजनहरू पुग्ने गरेका छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा समुद्री सतहदेखि चार हजार ६०० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार’ मा पुग्ने धेरैले त्यहाँको भौगोलिक तथा मन्दिर आसपासका दृष्यलाई हेर्दा प्राकृतिबाट बरदान पाएको सुन्दर गन्तब्य भन्दा फरक पदैन् ।
हिमालका देवता’ को वासस्थान मानिने मन्दिरको धार्मिक ग्रन्थका ब्याख्या गर्ने गरेपनि धेरैलाई रिखार क्षेत्रका बारेमा जानकारी छैन् । कुईनेमंगले तथा आसपासका क्षेत्रका बासिन्दाहरूको सक्रियतामा स्थानीयस्तरबाटै पूर्वाधार विस्तार गरिएपनि राज्यका निकायको नजरमा समेत नपरेको रिखार म्याग्दीको उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तब्य भित्र पर्ने प्रसस्तै सम्भावनाहरू रहेका छन् ।
डाँडापाखा,घनाजंगल, साहसिक यात्राबाट थकित भएकालाई हिउँको बख्खु ओढेर सदाबार मुस्कुराइरहेका धौलागिरि लगाएतका हिमाल, सप्तऋषिको तपोभूमि रिखारमा पुग्ने धेरैले कल्पना गरेभन्दा फरक अनुभुती गर्ने गरेका छन् । सदरमुकाम बेनीबाट गलेश्वर, मौवाफाँट, दग्नाम, दर्मिजा, चिमखोला, मङ्गले, घाँसीखर्क, चौरखानी द्धारी, पात्लेर्खक, बयलीखर्क हुँदै हिमालको फेदमा अवस्थित रिखार क्षेत्रमा पुगिन्छ । रिखारलाई रघुगंगा गाउँपालिकाको सिरानमा अवस्थित भगवानको आश्रयस्थलको रुपमा लिने गरिन्छ ।
गाउँपालिकाभित्रकै विभिन्न रुटबाट घना बस्ती, बनपाखा, पशुचौपाया, स्थानीयको साक्षत्कारबाट उत्साहित हुने पदयात्रीलाई रिखारमा पुगेपछि सत्ययुगमा सप्तऋषिसंग भेटेको कल्पना समेत गर्ने सकिने योगगुरु नविन जुग्जालीको अनुभव छ । एकपटक भ्रमणमा पुगेको बेलामा जुग्जालीले रिखार क्षेत्रलाई धर्तीको स्वर्गको रुपमा समेत ब्याख्या गर्न मिल्ने बताउँछन् ।
हिन्दु् धर्मका बारेमा प्रकाशित धेरै पुस्तकमा उल्लेख गरिएको रिखार नेपालभित्र पर्छ भन्ने धेरैलाई थाहा समेत छैन् । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षित स्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरूले उत्तापन्थमा धौलागिरि पर्वतलाई समुद्रको बीचमा माथि उठेको देखे र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई त्यहाँ आएर तपस्या गरेको उल्लेख छ ।
पुलाहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा, दक्षिणमा जगन्नाथ धामर उत्तरमा मुक्तिनाथ धाम रहेका छन् ।वाल्मिकी गुफा,अरुन्धती गुफा, सप्तऋषि गुफा, नामका गुफा रहेका रहेका छन्। डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्य पुराण र श्रीमद्भागवत महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको छ । सप्तऋषिको तपभूमि समेत रहेको रिखार क्षेत्र हिन्दूधर्मावलम्बीको आस्थाको धरोहर समेत मानिन्छ ।
जनैपुर्णिमामा पुग्ने भक्तजनले एकपटक पुग्नै पर्ने म्याग्दीको पर्यटकीय तथा धार्मिकस्थलका रुपमा प्रचारप्रसार गरेकै आधारमा पछिल्लो समय जिल्लाका साथै देशभरबाट धार्मिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने जनविश्वासका साथ रिखार क्षेत्रमा पुग्ने गरेको वडा अध्यक्ष गमन छन्त्यालले बेनीअनलाइनलाई बताए । उनका अनुसार विगतमा सानो सानो बजेटबाट पूर्वाधार विस्तार गरिएको बताए ।
उनले रिखारलाई धार्मिकसँगै पर्यटकीय गन्तब्यको रुपमा विकास गरी छिमेकी भारतमा रहेका हिन्दु धर्मालम्बीहरुलाई समेत आर्कषित गर्न सकिने बताए । गाउँपालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले प्रदेश र संघीय सरकारबाट समेत निरन्तर पहल गर्न सकेमा म्याग्दी जिल्लाको पर्यटन तथा धार्मिक क्षेत्रमा ठूलो योगदान पुग्ने बताउँछन् । पछिल्लो समय धार्मिकसँगै पदमार्गमा रमाउने पर्यटकहरु समेत रिखारमा पुग्ने गर्दछन् । त्यहाँ पुग्नेले स्वर्गजस्तै रिखार भन्दै आफने यात्राको अविस्मरणीय क्षणलाई सुनाउने तथा विभिन्न संचारमाध्यममा समेत अनुभव पोख्ने गरेको पाइन्छ ।
दुई वर्षसम्म कोभिड-१९ को संक्रमणका कारण पूजा रोकिएकामा यस वर्ष स्वास्थ्य मापदण्डको पालना गरी क्षमा पूजासहित मेला आयोजना गरिएको हो। हिन्दुका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा वर्णन गरिएको भए पनि यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको पण्डित नीलकण्ठ आचार्यले बताए। सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा हरेक वर्ष विशेष पूजाआजासहित मेला लाग्छ। यस वर्ष सावधानी अपनाएर पूजालाई निरन्तरता दिइएको रिखार युवा क्लबका संरक्षक अंकित पुनले बताए।