म्याग्दीको रघुगंगा गाउँपालिका-६ ठाडाखानी गाउँका ७९ वर्षीय बलबहादुर छन्त्यालको दिन हिजो आज गाउँमा उक्लिएका जीप, ट्याक्टर र मोटरसाइकल गन्ती गर्दै र चोयाँका सामग्री बुन्दै बित्ने गर्छ । जीवनको उत्तरार्धमा आएर बल्ल अलिअलि सुखको महसुस गर्न पाएका उनको बाल्यकाल, युवावस्था र प्रौढावस्था अनेकौँ दुःख संघर्ष गर्दै बित्यो ।
अहिले छोरा नातिको मुहारमा खुशी देख्दा आफू पनि खुशी हुनाको अर्को कुनै विकल्प उनीसँग छैन । पिडौला फर्किने गरी उकालीओराली गर्दै जवानी बित्यो । भौतिक सुख र प्रविधिको उपयोग उनका लागि सपना बन्यो तर आजभोलि छन्त्याल असाध्यै खुशी छन् । उनी यसरी खुशी हुनुको कारण हो घर घेउमै दैनिकजसो गुड्ने दर्जनौं मोटर गाडीहरु ।
मुलुक सङ्घीय संरचनामा गएपछि पछिल्लो समय ग्रामीण बस्तीमा पनि विकासले गति लियो । विकासले गर्दा सुविधा पाउन र देख्न थालेपछि उमेरले डाँडो काटेका अन्य ज्येष्ठ नागरिकको मुहारमा पनि खुशी छचल्किएको छ । आफूहरुले बटौलीबाट डोकोमा नुन बोकेर १५ दिनपछि पैदल गाउँमा फर्किदाको दुःख सुनाउँदै छन्त्याल छोरा नातीका दुःखका दिन विस्तारै हट्दै गएकामा खुशी व्यक्त गर्छन् । गाउँगाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडिसम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उनको भनाइ छ ।
“आजभन्दा १५/२० वर्षअगाडि अहिलेको जस्तो सुविस्ता थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोकेर जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ-गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ”, छन्त्याल भन्छन्, “उतिबेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चिज त हाम्रा पालामा पाइँदैनथ्यो ।” विगत १५/२० वर्षयता गाउँमा आफूले नसोचेको विकास भएकोमा छन्त्याल मात्रै होइन उनकै उमेरका धेरै ज्येष्ठ नागरिकहरु पनि दङ्ग परेका छन् ।
बेनी नगरपालिका-२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले अहिलेको पुस्ता भाग्यमानी भएको बताउछन् । “हामीले गरेको दुःख अहिलेको युवा र केटाकेटीलाई सुनाउँदा पत्याउदैनन् । त्यतिबेलाको तुलनामा अहिले त आनन्दै आनन्द छ”, उनी भन्छन् । उपाध्याय सुनवल, बुटवल, तानसेन, नाउडाँडा, कुश्मा, बागलुङ र बेनी हुँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु बोकेर घरमा ल्याए पछि मात्र खान पाइने विगतको स्मरण सुनाउछन् ।
“गाउँमा नुन, चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०/१२ दिन लगाएर खसौली वा बटौली जानुपथ्र्यो, त्यसपछि मालढुङ्गासम्म गाडी आउन थाले हामीलाई पनि सहज हुन थाल्यो”, उपाध्याय भन्छन्, “अहिले गाउँ-गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।”
त्यसैगरी मङ्गला गाउँपालिका-४ का ७६ वर्षीय कृष्णहरि कँडेलले पनि आफ्नो जीवनकालमा गाउँमा मोटरगाडी गुड्लान् भन्ने कल्पना नगरेकामा अहिले गाउँमा गाडी गुड्दा खुशी लागेको उनी बताउँछन् । गाउँमा मोटरबाटो पुगेपछि बलबहादुर, बेदप्रसाद र कृष्णहरिजस्ता सयौँ बुढापाका र स्थानीय बासिन्दा खुशी भएका छन् । सडकले उनीहरूले भोगेका पुराना दुःख भुलाएको छ ।
जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक गुजारा चलाएकी रघुगङ्गा गाउँपालिकाको दग्नामकी ७३ वर्षीया स्वरुपा गर्बुजा अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग छिन् । मुस्ताङको थाकखोलाबाट नुन ल्याएर उपभोग गरेकी स्वरुपाले अहिले नुन मात्रै होइन दैनिक जीविकाका लागि चाहिने सामान घरै नजिक किन्न पाउछन् ।
“यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५/२० दिन हिँडेर मुस्ताङ पुग्नुपथ्र्यो, अहिले नुन, सुन जे भने पनि गाउँमै पाइन्छ । गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सोचेका पनि थिएनौँ”, स्वरुपा भन्छिन्, “विकास भनेको कस्तो हुँदोरहेछ बल्ल अहिले अनुभव गर्न पाएका छौँ ।” मोटरगाडी ठूला-ठूला सहरमा पुगेपछि मात्रै देखेको अनुभव सुनाउँदै अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेको उनी बताउँछिन् ।
गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पुर्याउने गर्दै आएका थियौँ । अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान पाइन्छ । “पहिले त गाडी भन्ने सुनेका मात्रै थियौँ, गाउँमा कोही बिरामी पर्दा डोकोमा, डोलामा बोकेर अस्पतालसम्म लैजाने गथ्यौँ, समयमा अस्पताल नपुग्दा कतिको बाटैमा मृत्युसमेत भयो,” स्वरुपा भन्छिन्, “अहिले त अस्पताल पनि नजिकै छ, कोही बिरामी पर्यो भने तुरुन्तै गाडीमा लैजान सकिन्छ ।”
हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय सडक निर्माणले तीब्रता पाएको छ । एक नगरपालिकासहित छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाबाहेक अन्य ४४ वडामा सडक सुविधा पुगेको छ । सडक डिभिजन कार्यालयका अनुसार म्याग्दीमा ११ मुख्य सडक र ४२ वडा सहायक तथा कृषि सडक छन् । वडा र पालिकाले स्थानीयवासीको आवश्यकता अनुसार निर्माण गरिएका सडकको सङ्ख्या भने समेटिएको छैन ।
सडकको पहुँचसंगै स्थानीय उत्पादनले बजारीकरणको अवसर पनि पाएको रघुगङ्गा गाउँपालिका-६ का वडाध्यक्ष मनकुमार शेरपुंजा बताउछन् । स्थानीयवासीलाई आवतजावत गर्न मात्रै होइन गाउँको समृद्धि र स्वास्थ्योपचारका दृष्टिले पनि सडक सुविधा वरदान सावित भएको उनको भनाइ छ ।