माग बढेपछि म्याग्दीमा अर्जमे कालो सुँगुर (च्वाँचे) व्यावसायिक रूपमा पाल्न थालिएको छ । बेनी नगरपालिका–१ सिमका एकेन्द्र थापाको खोरमा अहिले २८ वटा सुँगुरका माउ छन् । थापाले वर्षको तीन सयभन्दा बढी सुँगुरका पाठापाठी बेच्ने गरेका छन् । पाठापाठी किन्न जिल्लाबाहेक बागलुङ र पर्वतबाट समेत ग्राहक आउँछन् ।
एउटा पाठो ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । ‘पुर्खादेखि नै सुँगुर पाले पनि व्यावसायिक थिएन । अहिले बंगुरसंगै सुँगुरलाई पनि व्यावसायिक पालन थालेको हुँ । परिवारबाहेक ४–५ जनालाई रोजगारी पनि दिएको छु’ एकेन्द्रले भने, ‘व्यवस्थित खोर बनाएर व्यावसायिक रूपमा पाल्न थालेपछि हिजोआज सुँगुरले पनि ‘मान’ पाएको छ, कृषकलाई हौसला मिलेको छ ।’
सँगुरका पाठापाठीलाई स्थानीयले ‘भुनी’ र ‘वीरे’ भनी सम्बोधन गर्छन् । भुनी तीन महिनामा गर्भवती हुन्छे । ६ महिनामा ब्याउँछे । भुनीले एक बेतमा १५ वटासम्म पाठापाठी पाउँछे । अर्जमे कालो सुँगुरको एक बर्षमा ६० केजी तौल पुग्छ । ४५ दिनमा पाठापाठी र माउ छुट्याउनुपर्छ, नत्र आमाले पाठापाठी मार्छे । सुँगुरको मासु प्रतिकेजी ८ सय रुपैयाँमा बिक्री हुन्छ ।
सुँगुर पाल्न नगरपालिकाको पशु शाखा र वडा कार्यालयले खोर निर्माण तथा पाठापाठी खरिद गर्न एक लाख रुपैयाँ अनुदान दिएको छ । मासुको मुख्य बजार बागलुङ र बेनी हो । जिल्लामा सुँगुर पाल्ने बेनी–१ का रत्नेचौर र अर्जममा मात्र हो । होटल, रेस्टुरेन्टमा सुँगुरको मासुको माग बढेसँगै पछिल्लो समय जिल्लाभर व्यावसायिक रूपमा बंगुरसँग जोडेर कालो सुँगुर पाल्न थालिएको छ । रत्नेचौर र अर्जममा ५ सयभन्दा बढी मगर घरमा २–४ वटा लोकल कालो सँगुर अनिवार्य पाल्ने गरिन्छ । केही दलित र नेवारले पनि सुँगुर पालेका छन् ।
थापा मगरको घरमा मान्छे मर्दा पिण्डदान गर्ने बेला सुँगुर नभई हुँदैन । पितृलाई पिण्ड चढाउँदा जाँड, रोटी, सुँगुरको मासु चढाउने चलन छ । कुलपुजा, पितृपुजा, दसैंमा देवी मन्दिरमा पञ्चबलि दिँदा होस् वा विवाह, व्रतबन्धलगायत सामाजिक कार्यकर्ता सुँगुर काट्ने गरिन्छ । परम्परागत शैलीमा पालिँदै आएको कालो सुँगुरपालनलाई व्यावसायिक बनाउन बेनी–१ वडा कार्यालयले खोर निर्माण, व्यावसायिक फर्म स्थापना गर्नेलाई आर्थिक अनुदान सहयोग गर्न थालेको छ । इकान्तिपुरबाट साभार गरिएको