जुम्लाको गुठीचौर गाउँपालिका–१ मा चौरी गोठालाहरूले आकाशे ताल पत्ता लगाएका छन् ।मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७ सय मिटरको उचाइमा आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् ।
मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली पुगेको हो ।
चौरी हराउँदा खोज्दै जाने क्रममा चौरीपालक गोठालाले ताल भेटेका हुन् । आकाश जस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको हो ।तालको शिरमा दूध कुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ ।
निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घण्टाको समय लाग्ने वडाध्यक्ष महताराले बताउनुभयो ।सात वर्षअघि चौरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए ।