नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघ, जिल्ला कार्य समिति, म्याग्दीको आयोजनामा “स्मृति दिवस एवम् सम्मान कार्यक्रम” सम्पन्न गरिएको छ। पार्टीको जिल्ला नेतृत्वमा रहेर योगदान पु-याउनु भएका साविक अर्थुङ्गे गाविस बेनीबजारका मीनबहादुर विश्वकर्माको सातौं वार्षिक स्मृति दिवस मनाउँदै वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको हो।

कार्यक्रममा लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई सम्मान गरिएको थियो। स्व. विश्वकर्मालाई जीवन्त व्यक्तित्वका रूपमा चित्रण गर्दै २०७३ जेठमा वहाँको स्मरणमा आधारित “बिर्सन नहुने दिन” (संस्मरण) पुस्तकमार्फत विश्वकर्माको भू्मिका उल्लेख गर्नुभएकोले उक्त प्रसंसनीय कार्यको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको थियो।

२०७८ मंसिरमा श्रेष्ठले लेखन एवम् प्रकाशन गर्नुभएको “म्याग्दीका चम्किला तारा” जीवनी सङ्ग्रह पुस्तकमा समेत स्व. विश्वकर्माको जीवनी समाहित गरी वहाँको सामाजिक भू्मिका र योगदान अभिलेखन गर्नुभएको थियो। स्व. मीनबहादुर विश्वकर्माको दलित वर्गको उत्थान र हकहितको कार्यलाई जनसमक्ष ल्याउने एेतिहासिक कार्यका निम्ति उल्लिखित भूमिकाको उच्च मूल्याङ्कन गर्दै स्मृति का प्रस्तावक एवम् अभिप्रेरित श्रेष्ठलाई “स्व. मीनबहादुर विश्वकर्माको सातौं वार्षिक स्मृति दिवस”मा आयोजित स्मृति कार्यक्रममा हार्दिक सम्मान गरिएको जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस, म्याग्दीका उपसभापति केबि भण्डारीले सम्मानपत्र प्रदान गर्नुभएको थियो। सो कार्यक्रममा स्व. मीनबहादुर विश्वकर्माको सामाजिक योगदान र भूमिकाको चर्चा गरिएको थियो। वि.सं.२००४ असोज ११ गते जन्मनु भएका विश्वकर्माको गत २०७२ साउन ९ गते निधन भएको थियो। स्व. विश्वकर्मा दलित संघ म्याग्दीका संस्थापक अध्यक्ष, पूर्व केन्द्रीय सदस्य र नेपाली कांग्रेस, म्याग्दीको सल्लाहकार हुनुहुन्थ्यो।

वहाँ उदारमना र मनकारी सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। प्रमुख अतिथि केबि भण्डारी, म्याग्दी कांग्रेसका सचिव हिरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन विश्वकर्मा, स्रष्टा अजयमिलन श्रेष्ठ, तरूण दल अध्यक्ष मुकुन्द छन्त्याल, शिक्षक संघ र ट्रेड युनियन पूर्व जिल्ला अध्यक्ष दुर्गाराम सुवेदी, दलित संघ म्याग्दीका उपाध्यक्ष बालकुमार लामिछाने विश्वकर्मा लगायतका व्यक्तित्वहरुको वक्तव्य रहेको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर विश्वकर्माको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा विश्वकर्माका जेठा छोरा जीवन विश्वकर्मा लगायतका परिवारले स्व. पिताका स्मृतिमा नेपाल दलित संघ मार्फत सञ्चालन हुने गरी करिब दुई लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ।

Leave a Reply