बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिबाङ स्थित न्यू मोर्डन एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयबोङ्गाका १५ वर्षीय हिक्मत बिक प्रिन्सिपल दीपक कुवँरको कुटाइबाट गम्भीर घाइते बनेका हुन् ।
घाइते बिकको शरीरमा चोट नभए पनि टाउको र शरीरका विभिन्न अङ्गहरुमा निलडाम छन् । टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिंगटा लागेर उठ्न नसक्ने भएको बिककी आमा मन्सर बिकले जानकारी दिइन् । बिकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात पोखरा लगिएको उनको आमाको भनाई छ ।छोराले हिजो रातिदेखि वान्ता गरेको र खाना समेत नखाएको भन्दै शिक्षकलाई कडा कारवाही हुनु पर्ने बताइन् । उनले प्रिन्सिपल कुँवरले फाइपले आफ्नो छोरालाई निर्घात कुटपिट गरेको बताइन् ।
‘दीपक सरले मेरो छोरालाई निर्घात कुटपिट गर्नु भएको छ, अहिले मैले पोखरा लैजाँदैछु, सरले पाइले टाउकोमा, शरिरमा कुट्नु भएकको रैछ, शरिर भरिनै डामैडाम छ, टाउको छुनै दिँदैन, रगत जमेजस्तो भएको छ,’ बिकले भनिन् ‘राति वान्ता पनि गरेको थियो, खाना पनि खाएन, उठ्नै सक्दैन, चक्कर लाग्छ भन्छ, पढाउन पठाएको छोरालाई सरलेनै कुटेर यस्तो बनाउँनुभयो, मेरो छोराले न्याय पाउनु पर्छ ।’
विद्यालयका प्रिन्सिपल दीपक कुँवरले आफूले त्यसरी कुटपिट नगरेको जिकिर गरे । शिक्षकले पढाउँदै गर्दा स्यानीटाइजरको बोत्तल पङ्खामा फालेको र उछिट्टिएर पढाउँदै गरेका शिक्षक करण कुवँरलाई लागेर निधारमा चोट लागेपछि सामान्य सम्झाई बुझाई गरेको प्रिन्सिपल कुवँर बताउँछन् । उनले बुर्तिबाङको एक मेडिकलमा सामान्य जाँच गर्दा बच्चाको अवस्था ठिक रहेको भन्दै सिटीस्क्यानका लागि पोखरा पठाएको बताउँछन् ।
‘मैले बच्चालाई त्यसरी घाइते हुने गरेर कुटेको होइन, हिँजो कक्षामा करण सरले पढाउँदै गर्दा फ्यानमा स्यानीटाइजरको बोत्तल फालेछन् बाबुले, त्यो बोत्तल उछिट्टिएर सरको निधारमा लागेर चोट लागेको छ, मैले किन यस्तो गरेको भनेर सामान्य रुपमा सम्झाएको मात्रै हुँ’ प्रिन्सिपल कुवँरले भने ‘बाबुलाई केही भएको छैन, हिँजो पनि मेडिकलमा लगेर चेक गराएको हो, आज सिटिस्क्यान गर्ने भनेर पोखरा पठाएका छौँ, त्यस्तो समस्या छैन बाबुलाई ।’ Source:-eparinews.com