तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी रहेको हालको बेनी नगरपालिकाभित्रका धार्मिक मठमन्दिर, चौतारी पोखरी र ऐतिहासिकस्थलको पुनर्निर्माण तथा संरक्षण अभियान सुरु भएको छ ।
म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकामा रहेका धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग सम्बन्धित वर–पीपल, चौतारी र पोखरीको संरक्षण तथा मर्मतसम्भारका लागि वडा कार्यालयले अभियान नै सञ्चालन गरेका छन् ।
बेनी–७ ले वडामा रहेका मठमन्दिर, वर–पीपल, चौतारी पोखरीको पुनर्निर्माण तथा संरक्षणका लागि जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा अभियान सञ्चालन गरेको वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । आध्यात्मिक विश्वास, वातावरणीय शुद्धता र नगरको सुन्दरतासँग सम्बन्धित यस्ता सम्पदाको संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए । उनका अनुसार तत्कालीन पर्वत राज्यको टक्सार (मुद्रा बनाउने ठाउँ) मा रहेको ऐतिहासिक बेनी कोतको पुर्ननिर्माण भइसकेको छ भने बेनी बजार क्षेत्रमा रहेका धार्मिक मठमन्दिर, सत्तल, चौतारी र वर–पीपलको संरक्षणमा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरेर पुनःर्निर्माण कार्यलाई अघि बढाएको छ ।
यसैगरी, बेनी –६ मा पनि चौतारी पोखरी र मठमन्दिरको पुनर्निर्माण तथा मर्मतसम्हारको काम सञ्चालन भइरहेको बेनी–६ का वडाध्यक्ष कृष्ण बानियाँले बताए । उनका अनुसार बेनी–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वर–पीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब पाँच लाख रुपैयाँ बजेट नै खर्च गरेको छ ।
पुराना सम्पदाको संरक्षणसँगै नयाँपुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकौँ अगाडिका वर–पीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौं पहिले रोपिएका वर–पीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको वडाध्यक्ष बानियाँले जानकारी दिए ।
उनका अनुसार १०० वर्षभन्दा पुराना वर–पीपलका रुख रोप्नेको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वर–पीपल संरक्षण तथा रोपणका लागि रु तीन लाख र चौतारी तथा कुवाका मर्मतसम्भारका लागि रु दुई लाख बजेट खर्च गरिएको उनले बताए । उक्त बजेटबाट थानकपोखरी र जरबुटामा वर–पीपल रोपण र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो ।
वर–पीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ । वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वर–पीपल र चौतारी छन् ।
यसैगरी बेनी–२ ज्यामरुककोटमा पनि धार्मिक तथा ऐतिहासिक खड्ग भवानी कोत परिसरमा भौतिक पूर्वाधार निर्माण गरेर ज्यामरुककोटलाई उजिल्याउने प्रयास गरिएको छ । वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार ऐतिहासिक खड्गभवानी कोत परिसरमा घेराबार लगाइनुका साथै कोतमा पुग्न भकुण्डे र कन्थराजथानबाट पदमार्ग निर्माण गरिएको छ । ज्यामरुककोट क्षेत्रमा रहेका चैतारी र पोखरीको संरक्षणका लागि स्थानीयसँग वडाले समन्वय गरेर काम अघि बढाइने उनले बताए ।
६ वटा स्थानीय तह रहेको जिल्लाका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गरी पाँचवटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।
बेनीलगायत केही स्थानीय तहका वडाले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगतरूपमा समेत वर–पीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।
त्यसैगरी, ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वर–पीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा, काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी, बेनी–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १०८ वर–पीपलका बिरुवा रोपिएको छ । रासस