म्याग्दीमा खेतीका लागि उर्वर खेतबारी पछिल्लो एकदशकयता झाडीमा परिणत हुँदै गएका छन् ।बजारमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुको भाउ बढेर न्यून आय भएका वर्गलाई साँझबिहान हातमुख जोड्न पनि मुस्किल बन्दै गइरहेका बेला गाउँघरतिर लहलहै धानफल्ने र कोदो मकै लगाएतका खाद्यान्न झुल्ने खेतबारी बाँझै रहेका छन् ।
सुविधाभोगी प्रवृति,बसाइँसराइ र स्वदेशमा रोजगारको भरपर्दो माध्यम फेला पार्न नसकेर गाउँका युवाहरु रोजगारीको खोजिमा खाडी मुलुक जाने क्रम नरोकिँदा म्याग्दीका ग्रामीण भेगमा रहेको खेतीयोग्य जमिन बाँझै भएको हो ।स्थानीय तहको चुनावमा प्रायः सबै राजनीतिक दलका उम्मेदवारहरुले विकास र रोजगारीलाई प्रमुख एजेण्डा बनाएका भए पनि जिल्लाका युवाहरु भने पाए युरोप,अमेरिका नपाए खाडी मुलुकमा भए पनि जान बाध्य छन् ।
चुनावको समयमा कृषि क्रान्तिका भाषण गर्ने राजनीतिक दलका नेता,जनप्रतिनिधि र सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूउपयोग नीतिलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा भएको जग्गा जमिन बाँझै राखेर चर्को मूल्यमा आयातित खाद्यान्न किनेर खान बाध्य भएका हुन् ।
युवाहरु विदेशीने र शहर पलाएन हुने क्रम नरोकिँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेती योग्य जमिन बाँझै भएको हो । बाह्रै महिना खेतीपाती गरेर जीविकोपार्जन गर्ने ग्रामीण क्षेत्रका स्थानीयले अहिले भएका जग्गाजमिन बाँझै छाडेका छन् । युुवाहरु विदेशिएसँगै गाउँमा वृद्ध वृद्धा, महिला र बालबालिका मात्र हुँदा खेती लगाउने समयमा जनशक्ति अभाव हुने गरेको छ ।
अहिले स्थानीय तहको निर्वाचनका लागि शहरबाट गाउँ आएका युवाहरु केही दिनका पाहुना जस्तै मात्र भएका स्थानीयले बताएका छन् ।दशैं,तिहार,महामारी,प्राकृतिक विपत्ति र निर्वाचनका बेला गाउँ युवाहरुले भरिभराउ हुने गरेपनि सहज अवस्थामा भने गाउँ युवा विहीन हुने गरेका बेनी नगरपालिका २ का ८६ वर्षिय बेदप्रसाद उपाध्यायले बताउनुभयो ।
गाउँमा खेती गर्ने जनशक्ति नहुँदा जिल्लाको बेनी नगरपालिका,मालिका,मंगला,रघुगंगा,धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् ।
सदरमुकाम बेनीबजारसंगै जोडिएको बेनी नगरपालिका २ बगरफाँटमा मात्रै २६ हेक्टर भन्दा बढी जमिन बाँझै रहेको स्थानीय टेकबहादुर कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो “खेती गर्न जनशक्ति पाइदैन, आफूले गर्न सकिएन, युवाशक्ति विदेश जान थाले, जग्गाजमिन बाँझै छाड्न बाँध्य छौँ ।”
यहाँका वासिन्दाहरुले आफ्नै जग्गाजमिन भएर पनि सदरमुकामदेखि खाद्यन्न सामग्री किनेर ल्याउने गर्दछ । सुविधा खोज्दै केही शहरतिर पस्न थाले, केही विदेशिए, अब त गाउँ नै सुनसान हुन थालेको मालिका ५ का हेमबहादुर किसानले बताउनुभयो ।
अहिले यहाँ भएका युवाहरु पनि खेतीपाती छाडेर व्यापार, व्यवसाय गर्न थालेका उहाँले बताउनुभयो।
ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन जनशक्ति अभावकै कारण बाँझिन पुगेको छ । गाउँमा अन्न उत्पादन हुने खेतीयोग्य जमिन बाँझिदै जान थालेपछि अन्न उत्पादन पनि घटदै गएको छ ।
शिक्षित वर्ग र पुँजी भएकाहरु शहर झरेका छन भने रोजगारका लागि विदेशिएका परिवारहरु पनि सुविधा खोज्दै शहरमा बसाई गर्न थालेपछि गाउँका घरहरुमा बुढाबुढी मात्रै देखिन्छन । वर्षौ देखिको भोगचलन गर्दै आएको खेतीयोग्य जमिन बाँझिदै गएको छ भने घरहरु जीर्ण भै भत्कन थालेका छन् । अर्कोतिर भूकम्पले भत्काएको घरको पुननिर्माण नगरी शहरबजारमा डेरामा बस्न थालेका छन् ।
एकातिर कामदारको अभाव छ भने अर्को तर्फ खेतीयोग्य जमिनलाइ पल्टीङ गर्ने क्रम उत्तकै बढेको छ । खेतीयोग्य जमिनहरु बाँझिन थालेपछि खाद्यान्न अभाव देखिएको छ भने मूल्यवृद्धिको चपेटामा परेका छन् ।
स्थानिय स्तरमा उत्पादन हुने खाद्यान्न कम उत्पादन हुने भएकोले बाहिरवाट निर्यात गनुपर्ने भएकोले मुल्य वृद्धि हुने गरेको व्यापारीहरुको भनाई छ । “खेतवारीमा बनमारा र सिरु फुलेको छ,गाउँलेहरु बजारको आयातित चालम र खाद्यान्न किनेर खाने गरेका छन्” मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
कृषि प्राविधिक बानियाँका अनुसार हरेक वर्ष खेतीयोग्य जमिन बाँझिने क्रम १५ प्रतिशतले बढ्दै गएको छ । तरकारी उत्पादन हुने खबरा,बगरफाँट,सिम,थामडाँडा,बाबियाचौर लगाएतका ठाउँहरुमा पनि जमिन बाँझै छ । धान उत्पादन हुने सिंगा,बगरफाँट,डाँडाखेत लगायतका ठाउँमा बस्ती बसाल्ने तथा जग्गा प्लटिङ गर्ने गरेका छन् ।
यसले गर्दा सदरमुकाम तथा मुख्य बस्तीमा जग्गाको भाउ आकाशिएको छ । कृषि कार्यालय र स्थानीय तहहरुलले किसानलाई प्रोत्साहनका लागि खाद्यन्न, तरकारीबाली, माछाव्यवसाय, च्याउखेती लगायतमा अनुदान दिने, बिमा गर्ने, प्रविधि प्रदान गर्ने गरेका भए पनि खेतीयोग्य जमिन अझै प्रयोगमा आउन सकेको छैन ।
भुकम्पपछि गाउँबाट शहर झर्ने क्रम बढेसँगै खेती योग्य जमिनलाई घडेरीका रुपमा वेच्न भन्दै पल्टिङ गर्न थालिएकाले जमिन बाँझो हुने क्रम उत्तीकै बढेको हो । पछिल्लो समय जिल्ला मालपोत कार्यालय म्याग्दीमा दैनिक सरदर पचास थान भन्दा बढि जग्गा किनवेच हुने गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।