हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान झनै जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ। त्यही भनाइलाई पुष्टि गर्ने अर्काे तथ्यांक पनि छ, त्यो हो, पछिल्लो दश वर्षमा मात्र पोखरा–जोमसोम रुटमा चारवटा हवाई दुर्घटना भए। ती दुर्घटनामा मात्र ६० जनाको ज्यान गएको छ।
दश वर्षभित्रको तथ्यांक अनुसार पहिलो घटना २०६९ जेठ १ गते जोमसोममा अग्नी एयरलाइन्सको जहाज दुर्घटनामा पर्यो। त्यो दुर्घटनामा १५ जनाको ज्यान गएको थियो। त्यसको एक वर्षपछि २०७० जेठ २ गते नेपाल एयरलाइन्सको जहाज जोमसोममा दुर्घटनामा परेको थियो। तर, कसैको ज्यान गएको थिएन। तेश्रो दुर्घटना २०७२ फागुन १२ मा घटेको थियो। पोखरा–जोमसोम रुटमा पर्ने म्याग्दीमा तारा एयरलाइन्सको जहाज दुर्घटना हूँदा २३ जनाको ज्यान गएको थियो।
सबैभन्दा पछिल्लो घटना गत आइतबार हो। पोखराबाट जोमसोम उडेको जहाज आइतबार मुस्ताङमा दुर्घटनामा पर्दा २२ जना यात्रुको ज्यान गएको छ। पोखरा–जोमसोम यी चारवटा मात्र दुर्घटना होइनन्, त्यसअघि पनि यो रुटमा हवाई दुर्घटनामा परेका थिए। २०५५ भदौमा पनि यही रुटमा लुम्बिनी एयरको जहाज दुर्घटनामा पर्दा १८ जना यात्रुको ज्यान गएको थियो। २०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्कदै गर्दा सांग्रिला एयरको जहाज पोखरा नजिकै दुर्घटनामा पर्दा १८ जना यात्रुको मृत्यु भएको थियो।
सिजनका बेला भारतीय पर्यटकको घुँइचो लाग्ने हुँदा उडान संख्या पनि उत्तिकै थपिन्छन्। यतिबेला भारतीय पर्यटकको नेपाल घुमघामको सिजन हो। मुक्तिनाथ दर्शन गर्न जाने उनै भारतीय पर्यटकको भीडका कारण अहिले पनि उडान संख्या उत्तिकै छन्। तर, यही रुटमा बारम्बार हवाई दुर्घटना भएका छन्। जसले गर्दा मानवीय र भौतिक क्षति भएको छ।
आखिर किन हुन्छन्, पोखरा–जोमसोम रुटमा बारम्बार हवाई दुर्घटना–हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट निवृत्त भएका पाइलट रवी कंशाकर भन्छन्, ‘कुनैपनि हवाई रुटमा जतिबेला पनि जोखिम आउन सक्छ। सबैको आ आफ्नो तहमा रिस्क छ। तर, पोखरा–जोमसोम रुट ‘रिस्क’ नभएको भन्न मिल्दैन। ‘रिस्क भएपनि त्यो रुटमा जहाज उडिरहेका छन्। उडान दौरान आउने अप्ठेरा के कस्ता छन् भनेर सबैले आफ्नै तरिकाले विश्लेषण गरेका छन्। तर, यसबारे चाँसो लिनुपर्छ।’
अर्का एक अनुभवी पाइलटका अनुसार नेपालको दुर्गम भेगमा हुने सबै हवाई उडान निकै नै चुनौतीपूर्ण छन्। भौगोलिक बनोट र मौसम दुवैमा चुनौती रहेको उनले बताए। उनका अनुसार दुर्गम भेगमा उड्ने जहाज धेरै माथि उचाईमा उड्न सक्दैनन्। किनकी उचाईमा जाँदा यात्रुलाई अक्सिजन अपुग हुन्छ। त्यसैले कम उचाईमा उड्नुको विकल्प छैन। ‘पोखरा–जोमसोम खोँचको बीचमा मौसमसँग जुधेर उड्नुको विकल्प छैन। प्रकृतिसँगै पैठेजोरी खेल्ने नै हो,’ ती पाइलटले भने, ‘जहाजको अवस्था, मौसमी परिवर्तन, पहाडी भेगको चुनौती सामना गर्नुपर्छ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पोखरास्थित प्रमुख बिक्रम गौतम पनि पोखरा–जोमसोम रुटमा भौगोलिक समस्या रहेको बताउँछन्। त्यसबाहेक छिनछिनमा मौसम परिवर्तन भईरहँदा पनि जोखिम थपिने उनले बताए। ‘बारम्बार मौसम परिवर्तन भईरहन्छ। त्यस्तै हावाको गति पनि छोटो समयमा थपघट भईरहन्छ,’ गौतमले भने, ‘स्थानीय ‘वेदर’ विकास हुन्छ। त्यसले गर्दा समस्या आउन सक्छ।’
उनका अनुसार पोखरा–जोमसोम रुटमा फरक भौगोलिक क्षेत्र छ। खेतीपाती गरेको जमिन, नदीनाला, हिउँ, हुँदा ठाउँ अनुसार तापक्रम र हावाको चापमा फरक पर्ने र त्यो सँगै जहाजलाई पनि फरक तरिकाले असर पर्ने उनी बताउँछन्। ‘पोखरा–जोमसोम रुटमा वेदर र भौगोलिक फिचर बढी जिम्मेवार छन्। यसलाई कम गर्न खतरासँग टाढा रहनु हो वा, प्रविधि विकास गर्ने हो,’ उनले भने, ‘मौसम खराब भए त्यो बेला नजाने वा मौसमबारे पूर्ण रुपमा जानकारी लिएर मात्र उड्नुको विकल्प छैन।’ nagariknews.com