नेकपा एकिकृत समाजवादी म्याग्दीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारलाई साथ दिने भएको छ ।
वैशाख १६ गते तालमेल प्रति असन्तुष्टि जनाउदै गठबन्धनबाट बाहिरिदै धवलागिरी गाउँपालिका बाहेकका पालिकामा दर्ता गरेको मनोनयन फिर्ता गरेका एसका नेताहरु आइतबारदेखि गठबन्धनको उमेद्वारको प्रचारमा हिडेका छन् । पाँच दलीय गठबन्धनका जिल्ला स्तरीय नेताहरुबीच हालै भएको सहमति अनुसार एकिकृत समाजवादीले गठबन्धनलाई साथ दिने निर्णय लिएको नेताहरुले बताएका छन् ।
नेकपा एकिकृत समाजवादीका म्याग्दी जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा आइतबार बेनी नगरपालिका–९ तोरीपानी र सोमबार वडा नम्बर ६ को अर्थुङ्गेमा भएको गठबन्धनको चुनाव प्रचार सभामा सहभागि हुनुभयो ।
जिल्ला सचिवालय सदस्य रुद्र किसानले आइतबार दरवाङमा भएको नेकपा माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्नुभयो । अर्का नेता देउप्रसाद छन्त्यालले गठबन्धनले ताकममा गरेको चुनावी सभामा एमालेका नेताले नेतृत्व गरेको धवलागिरी गाउँपालिकाको बेतिथि र विकृतिको भण्डाफोर गर्नुभयो ।
यसैगरी जलजला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीको तर्फबाट उमेद्वार बनेका नेताहरुले सोमबार विज्ञप्ति निकालेर काँग्रेस–माओवादी गठबन्धनका उमेद्वारलाई सर्मथन गरेको घोषणा गर्नुभएको छ ।अध्यक्षका उमेद्वार देवीलाल चापागाई र उपाध्यक्षका उमेद्वार संगिता सुवेदीले उमेद्वारी फिर्ता लिएर गठबन्धनका उमेद्वारलाई सर्मथन गरेको घोषणा गर्नुभएको हो ।