मतदाताले खुट्टा ढोगेको तस्वीरले चर्चामा आएकी म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षकी उम्मेदवार मीना विश्वकर्माको चुनावी प्रचारका लागि गाउँले नै आर्थिक सहयोग जुटाइरहेका छन्।
चुनावी प्रचारमा उम्मेदवारले मतदातासँग हात जोडेको, खुट्टा ढोगेको त प्रायः देखिन्छ। तर, म्याग्दीको रघुगंगा गाउँपालिकामा भने मतदाताले उम्मेदवारको खुट्टा ढोगेको दृश्यले सबैलाई चकित बनायो।
उनी थिइन्, रघुगंगा गाउँपालिका-६ पाखापानीकी २८ वर्षीय मीना विश्वकर्मा। नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेकी उनी गत साता घरदैलोका क्रममा फूलडाँडा पुगेकी थिइन्। गाउँमा पुग्दा स्थानीय गौबहादुर विश्वकर्माले उनको खुट्टा ढोगे। गौबहादुरले खुट्टा ढोगेपछि उनी भक्कानिइन्, अरू पनि भावुक बने।
“खुट्टा ढोग्ने मेरा मामा हुनुहुन्छ। उहाँ पनि लामो समयदेखि राजनीतिमा लागिराख्नुभएको छ,” मीनाले भनिन्, “मामाले अहिलेसम्म कुनै अवसर पाउनुभएको छैन। यस पटक मैले अवसर पाएपछि उहाँले जितका लागि आशीर्वाद दिंदै खुट्टा ढोग्नुभएको हो।”
गौबहादुर पनि माओवादीमै क्रियाशिल छन्। आफूले अवसर नपाए पनि भान्जीले अवसर पाएको उनी खुशी भएको मीना सुनाउँछिन्। “गरीब दलितले पनि अध्यक्षको उम्मेदवार बन्न पाएकोमा खुशी हुनुभयो,” मीना भन्छिन्, “यहाँसम्म पुर्याउने यिनै खट्टा हुन् भनेर ढोग्नुभयो होला।”
तीन वर्षीय छोरा बोकेर चुनावी प्रचारमा जुटिरहेकी मीनाको १७ वर्षमै विवाह भयो।सानैमा आमा गुमाएकी उनले कक्षा १० पढ्दै गर्दा विवाह भएपछि पढाइ छोडिन्। त्यसपछि गाउँमै आमा समूहमा बसेर काम गरेकी उनको स्थानीय बासिन्दा पनि प्रशंसा गर्छन्।
गाउँका सहकारीमा पनि काम गरिरहेकी उनी माओवादीको गाउँ कमिटी, पालिका कमिटीमा आबद्ध छिन्। सामाजिक संस्थामा बसेर काम गरे पनि धेरै समस्या हल नभएको उनी बताउँछिन्। गाउँका महिला, दलित र गरीबका समस्या समाधान गर्न नै अध्यक्षको उम्मेदवार बनेको उनको भनाइ छ। “गाउँमा छुवाछूत छ, घरेलु हिंसा छ, महिलाले पानी लिन घण्टौं धाउनुपर्छ,” उनी भन्छिन्, “पाँच वर्षअघि र अहिले केही फरक नभएपछि आफैं अघि बढें।”
उनको परिवारले गाउँमै खेतिपाती गरेर जीविकोपार्जन गर्दै आएको छ। सामान्य परिवारकी उनी यति वेला भने अध्यक्षको उम्मेदवार बनेर घरदैलो अभियानमा जुटिरहेकी छन्। “म गाउँको समस्या भोगेकी मान्छे हुँ। आफैं लागेर समाधान गर्न कोशिश गर्छु। मलाई अवसर दिनुस्,” घरदैलोमा भन्ने गरेकी छन्।
रघुगंगा गाउँपालिकामा दलितको ठूलो जनसङ्ख्या भए पनि अवसर नपाएको उनी बताउँछिन्। “तीन हजार पाँच सय दलित छन्, तर अवसरबाट वञ्चित छन्,” मीना भन्छिन्, “दलितसँगै सबै समुदायका मतदाताले माया गर्नुभएको छ। आमा समूहमा रहँदा मैले गरेका काम देख्नुभएको छ।”
निर्वाचन आयोगका अनुसार, रघुगंगा गाउँपालिकामा १३ हजार ९४७ मतदाता छन्। जसमा ६ हजार ६८३ पुरुष र सात हजार २६४ महिला छन्। महिलाहरूले उनीप्रति सहानुभूति देखाइरहेका छन्।
आफू अध्यक्षमा जितेपछि गरीब तथा विपन्न परिवारको समस्या समाधानका लागि कोशिश गर्ने बताउँछिन्। तर, डर पनि लागेको छ, किनकि चुनावी प्रचार गर्न आर्थिक अभाव छ। घरदैलो अभियान भन्दा अरू कार्यक्रम गर्न नसकेको उनी बताउँछिन्।“मसँग माइकिङ गर्ने, पोस्टर टाँस्ने पैसा पनि छैन,” मीना भन्छिन्, “साथीभाइले उठाएर दिएको अलिकति पैसाले घरदैलो अभियान चलाइरहेकी छु।”
अन्य दलका उम्मेदवारले भने जोडतोडले चुनावी प्रचारप्रसार गरिरहेको उनी सुनाउँछिन्। “अरू उम्मेदवारले धेरै मान्छे बटुलेर प्रचारप्रसार गरिरहेका छन्। माइकिङ गरिरहेका छन्, पर्चा-पम्प्लेट बनाएका छन्,” उनी भन्छिन्, “मसँग त्यस्तो गर्ने पैसा छैन।”रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट प्रेमबहादुर कार्की, नेपाली कांग्रेसबाट भवबहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार सागर भण्डारी उनीसँग प्रतिस्पर्धा गरिरहेका छन्।
आर्थिक अभावका बीच चुनावी प्रचारमा जुटिरहेकी उनले अध्यक्ष भएपछि गर्ने कामको सूची बनाएकी छन्। सबैभन्दा पहिले गाउँका महिलाका लागि सर्वसुलभ उपचारको व्यवस्था गर्ने उनी बताउँछिन्। उनले सामान्य रूपले प्रचार गरिरहेको देखेर खिसी गर्ने पनि छन्। जातीय हिसाबले हेला गर्ने पनि छन्।
अध्यक्षमा जितेको खण्डमा सबैको मन जित्ने गरी काम गर्ने उनी बताउँछिन्। “यस पटक पार्टीले उम्मेदवार बनाउन धन हेरेन, मलाई जितेर कमाऊँ भन्ने पनि छैन,” मीना भन्छिन्, “आफूले जे भोगेको छु, अरूले त्यो दुःख नपाउने गरी काम गर्छु।” Source: himalkhabar.com