बावियाचौरमा बन्यो मंगला इन्द्रेणी पार्क

0
19

म्याग्दीको मंगला गाउँपालिका-२ बाबियाचौरमा उद्यान (पार्क) को निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको ५० लाख बढीको लगानीमा आर्थिक बर्ष २०७५÷०७६ देखि सुरु गरिएको पार्कको करिव ९० प्रतिशत काम सम्पन्न भएको छ ।

बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर बनाइएको पार्कले आन्तरिक पर्यटनलाई समेत सघाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो। ‘अब पार्कलाई अन्तिम रुप दिन्छौ,‘शान्त तथा रमणीय वातावरणमा रमाउनका लागि सजिलो हुनेछ’ अध्यक्ष रोकाले भन्नुभयो ।

म्याग्दी नदीको नजिकै रहेका पार्कभित्र विभिन्न प्रजातिका फुल सहित आर्कषक संरचनाले समेत घुम्न जानेलाई आर्कषित गर्नेछ ।अध्यक्ष रोकाले बालबालिकालाई रमाइलो वातावरणमा खेल्ने, भूल्ने र ज्येष्ठ नागरिकलाई बिहानको हिँडाइ गर्न सजिलो हुने भएकाले आवश्यकता परेमा अन्य संरचना समेत थपिने बनाउनुभयो ।

पार्क निर्माणका लागि बाबियाचौर घर भई हाल काठमाडौंमा बस्दै आएका इन्द्रबहादुर अधिकारीले ५ रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराउनुभएको थियो । जग्गादाताको सम्मानका लागि उद्यानलाई ‘मंगला इन्द्रेणी पार्क’ नामाकरण गरिएको छ । पार्क बनाउन ५ आना जग्गा सम्मर बहादुर अधिकारीले पालिकाबाट जम्मा रु ३ लाख मात्रै लिएर सहयोग समेत गर्नुभएको थियो ।

२ हजार १ सय ९१ दशमलव ९५ बर्गमिटर क्षेत्रफलमा निर्माण भएको पार्कमा जग्गा दान गर्ने इन्द्र बहादुर अधिकारीको अर्धकदको सालिक समेत बनाइने छ। सहरी क्षेत्रको धुलो, धुँवाबाट बच्न, स्वस्थ तथा स्वच्छ हावायुक्त वातावरणमा रमाउने व्यवस्था मिलाउन बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार नै संरचना बनाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो । पार्कभित्र निर्मित भवनमा सबै जातजातिको जीवनशैली, रहनसहन, वेशभूषा झल्किने सामग्रीहरू संकलन गरेर संग्रहालयमा राखिने छ । पार्क निर्माणका लागि हाल सम्म १ करोड ८ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ ।