म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ । रघुगङ्गा गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहरदोहर गर्न बाध्य छन् ।
झोलाभरि किताब र कापी बोकेर दैनिक चारघण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरुलाई निकै सकस हुने गरेको छ । बालबालिका भिर, पाखा र खहरे खोलालाई छिचोल्दै रायखोरस्थित रायखोर आधारभूत विद्यालय पुग्छन् ।
पहिरो, जङ्गल र खोला भएको अप्ठ्यारो र भिरालो बाटो हुँदै दैनिक विद्यालय आउजाउ गर्ने ठाँटी र मूलपानीका १७ बालबालिका गाउँमा प्राथमिक तहसम्मको विद्यालय नहुँदा यस्तो समस्या भोग्न बाध्य छन् ।
सडक सञ्जालले नछोएको ठाटी र मूलपानीकी सजिना शेरपुञ्जा र रजिना शेरपुञ्जा मूलपानी बालविकास केन्द्र पढ्न जाने गरेका छन् । उनीहरु जस्तै गाउँका २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका रायखोरका विकास पुर्जाले बताए । टाढा भएकाले विद्यार्थी नियमित विद्यालय नआउने गरेको उनले बताए ।
कक्षा १–५ रायखोर र कक्षा ६–१० का लागि विद्यार्थी पढ्न पाखापानी र छिमेकी कुइनेमङ्गलेको रितुङ मावि जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् ।
‘विद्यालय पुग्न दुई घण्टा लाग्छ, बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्’, पुर्जाले भने । उनले गाउँबाट विद्यालयसम्म पुग्ने पैदलमार्गमा चार ठाउँमा पहिरो जाने भएकाले असारदेखि भदौसम्म विद्यार्थीलाई सकस हुने गरेको बताए ।
‘दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्, गाउँमै विद्यालयको आवश्यकता छ’, अभिभावक इन्द्रा पुनले भने । भिरको बाटो भएकाले एक्लै पठाउन समस्या हुने गरेको मूलपानीकी धनकुमारी पुनको भनाइ छ । ‘बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारो हुन्छ, घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ’, उनले भने ।
मूलपानीमा प्राथमिक तहको विद्यालयका लागि पहल भइरहेको तर विद्यार्थी सङ्ख्या थोरै भएकाले मापदण्ड पूरा गर्न नसक्दा समस्या भएको वडासदस्य लिलाबहादुर पुनले बताउनुभयो । ‘मूलपानीमा प्राथमिक तहसम्मको विद्यालय सञ्चालनका लागि माग गरेका छौँ’, उनले भने ।
रघुगङ्गा–६ का वडाध्यक्ष मन शेरपुञ्जा बस्ती छरिएकाले सबै ठाउँमा विद्यालयको अनुमति पाउन समस्या भएको बताए । मूलपानीमै कक्षा १ सम्म पठनपाठनको व्यवस्था मिलाउन लागिएको उनी बताउँछ । बस्तीसम्म सडक खने राहत हुने शेरपुञ्जाले बताए ।