“पँध्यारोमा वन पाल्नु । रुख नभएदेखि जहिले खोज्यो तहिले पानी रहँदैन सुकी जान्छ । वन धेरै फाडिया पैरो पनि जान्छ । धेरै पैरो गए उपधाहा चल्छ । उपधाहाले खेत पनि लैजान्छ । वन नभए गृहस्थीको कुनै काम पनि चल्दैन ।तसर्थ पँध्यारोको वन जसले काट्ला त्यसलाई पनि ५ रुपैयाँ दण्ड गरिलिनु ।” –राजा रामशाह (सन् १६०६–१६३६) को चौधौं तिथि ।
प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदै गर्दा आज भन्दा ४ सय वर्ष अघि तत्कालिन गोर्खा राज्यका राजा राम शाहको माथि उल्लेखित भनाइको स्मरण गर्नु सान्दर्भिक देखिन्छ ।
केही वर्षयता नेपालमा तीब्र रुपमा भैरहेको सडक विस्तार र डोजरको प्रयोगका कारण ग्रामीण क्षेत्रमा रहेका वन जंगल,सीमसार र चिस्यानयुक्त ठाउँहरुको विनास भए पछि पानीका मुहान र स्रोतहरु सुक्दै जान थालेका छन् ।
पृथ्वी,जल,तेज,वायु र आकाशलाई पञ्च तत्व भनिन्छ । पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । पानी विना मानवको मात्र होइन सम्पूर्ण प्राणीहरुको अस्तित्व नै रहँदैन ।
यही कुरालाई मनन् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।
नेपाल जलस्रोतको दोस्रो धनी देश भएर पनि विगत केही वर्षयता देशका शहरी क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खानेपानीको समस्या उत्पन्न भैरहेको छ ।
पानीका मुहानहरु सुक्दै गएका छन् । चिस्यान रहीरहने ठाउँहरु डोजर संस्कृतिका शिकार बनेका छन् । सीमसार क्षेत्रहरु सुख्या ठाउँमा परिणत हुँदैछन् । जसले गर्दा ग्रामीण जीवनको अभिन्न अङ्गका रुपमा रहेका पँधेरा र ढुङ्गेधाराहरु गाउँघरबाट नै लोप हुन थालेका छन् । बढ्दो शहरीकरण र संरक्षणको अभावमा सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका यस्ता पँधेरा र ढुङ्गेधाराहरू दिन–प्रतिदिन हराउँदै जान थालेका हुन् ।
बढ्दो जनसङ्ख्या र अव्यवस्थित वस्ती विकासका कारण परम्परागत प्रविधि र कलात्मक शैलीमा निर्माण गरिएका पँधेरा र ढुङ्गेधाराहरू भत्काइनाका साथै संरक्षण र जीर्णोद्धारको अभावमा पुरिएपछि अहिले गाउँघरमा यी सम्पदाहरु लोप हुँदै गएका ज्यामरुककोटका ७२ वर्षिय डिलबहादुर थापाले बताउनुभयो ।
अव्यवस्थित रुपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पु¥याउने होडबाजीमा कतिपय जलसम्पदाहरु पुरिएका बेनी नगरपालिकाका इन्जिनीयर विमलरञ्जन कार्कीले बताउनुभयो ।
म्याग्दीका ग्रामीण भेगमा रहेका कयौं पँधेरा र ढुङ्गेधाराहरु लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरु देख्न नपाउने हुँदा भएका ढुङ्गेधाराहरुको संरक्षण गर्न स्थानीय तहहरुले नै सक्रियता देखाउनु पर्ने म्याग्दीको इतिहास र संस्कृतिका अध्येता कृष्णवहादुर बानियाँले बताउनुभयो ।
दुई दशक अघिसम्म ग्रामीण महिलाका लागि पानी पँधेरो नै दुःखसुख साट्ने र पीर ब्यथा कहने एक मात्र माध्यम हुने गरेको थियो । पँधेरा र ढुङ्गेधाराहरु केवल पानीका स्रोतहरु मात्र नभएर नेपाली ग्रामीण सभ्यता र संस्कृतिका स्रोतहरु पनि भएका पं निलकण्ठ शर्माले बताउनुभयो ।
“पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रुपमा खाने गरिन्थ्यो,” उहिलेका कुरा सम्झदै बगरफाँटमा ८४ वर्षीय वेदप्रसाद शर्माले भन्नुभयो ।
गाउँघरमा डोजर लगाएर बाटो खन्ने चलन शुरु भएसँगै ग्रामीण मौलिक सम्पदाहरुको विनाश हुने क्रम पनि शुरु भएको वन तथा वातावरण क्षेत्रमा सक्रिय वन डिभिजन कार्यालय म्याग्दीका प्रमुख चन्द्रमणी सापकोटाले बताउनुभयो । “ग्रामीण जीवन पद्धतिका परम्परागत सम्पदाहरु पँधेरा, ढुङ्गेधारा, चौतारी, पोखरी, कुवा, पाटी, पौवा जस्ता नेपाली ग्रामीण परिवेशका अमूल्य सम्पदाहरुको संरक्षणमा ध्यानै दिएनन्” सापकोटाले भन्नुभयो ।
म्याग्दीका स्थानीय तहका केही जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षण गर्न अभियान नै सञ्चालन गरेका छन् । बेनी नगरपालिका वडा नं ६ का अध्यक्ष कृष्णबहादुर बानियाँले आफ्नो वडाभित्रका विभिन्न ठाउँमा रहेका पँधेरा, चौतारी, पोखरी, पाटी, पौवाहरुको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुभएको छ । सम्भव भएसम्म वडाको बजेट प्रयोग गर्ने र सम्भव नभए आफ्नै निजी खर्चमा समेत चौतारी, पोखरी, पँधेराहरुको पुनःनिर्माण गरेर सन्ततिहरुका लागि सुरक्षित राख्ने प्रयास गरेको उहाँले बताउनुभयो ।
बेनपा–६ का अध्यक्ष बानियाँ जस्तै सबै स्थानीय तहका जनप्रतिनिधिले मौलिक सम्पदाहरुको संरक्षणका लागि चासो राख्ने र त्यस्ता सम्पदाहरुलाई महत्व दिने हो भने ग्रामीण जीवनका अजस्र सोत बनेका रैथाने सीप, स्रोत, साधन, प्रविधि र सम्पदाहरु आगामी पुस्ताका लागि आफ्नो सभ्यता, संस्कृति र पितापुर्खाको जीवन पद्धति हेर्ने आँखिझ्याल सावित हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
“आज विश्व पानी दिवस मनाइरहदा पानीका स्रोतहरुको संरक्षण कसरी गर्ने भन्नु कुरामा पनि छलफल चलाउनु आवश्यक छ” बुद्ध एकेडेमी बगरफाँटका सामाजिक विषयका शिक्षक धनबीर थापाले भन्नुभयो “औपचारिक रुपमा दिवस मात्र मनाएर हुँदैन,बढ्दै गएको खाने पानीको समस्या समाधानका उपायहरु निकाल्न सक्ने हो भने मात्र दिवस मनाउनुको औचित्य रहन्छ, नत्र भने देखावटी र कर्मकाण्डी मात्रै हुन्छ ।”