शिक्षक भनेको महत्वपूर्ण,सम्माननित र निकै आधार पूर्वक सम्बोधन गर्ने शब्द हो । चाहेर पनि जो कोही शिक्षक बन्न सक्तैनन् । शिक्षक त्यो व्यक्ति बन्न सक्छ जोसँग बालबालिकासँग रमाउन सक्ने, उनीहरूसगँ खेल्न सक्ने,आफूलाई बालबालिकाकै व्यवहारमा ढाल्न सक्ने र बालमनोविज्ञानलाई बुज्न सक्ने खुबी हुन्छ, त्यो नै शिक्षक बन्न सक्छ ।
एउटा सफल शिक्षक हुनलाई थुप्रै रूपमा आफूलाई परिवर्तन गर्न सक्नु पर्छ । पढाउँन सक्नु वा पढाइ राम्रो हुने व्यक्ति सफल शिक्षक हुन्छ भन्ने हुँदैन । सफल शिक्षकहरू ती हुन् जोसँग कक्षामा सबै विद्यार्थीहरूलाई सकारात्मक, गुणस्तरीय शिक्षण प्रदान गर्न सक्ने क्षमता हुन्छ। एक शिक्षक र विद्यार्थीको राम्रो सम्बन्ध भए मात्र पढाइ प्रभावकारी हुन सक्छ ।
शिक्षक र विद्यार्थीको बीच सकारात्मक सम्बन्ध विकास गर्नु गुणस्तरीय शिक्षण र विद्यार्थीको शिक्षाको मौलिक पक्ष हो । शिक्षक–विद्यार्थीको सकारात्मक सम्बन्धले विद्यालयको स्वामित्वको भावना जगाउँछ र विद्यार्थीलाई हरेक क्रियाकलापमा भाग लिन प्रोत्साहित गर्दछ ।
शिक्षक र विद्यार्थीले धेरै जसो समय एक साथ विताउने भएकाले विद्यार्थीहरू हरेक कुरामा आफ्ना शिक्षकसँग निर्भर हुन्छन र शिक्षकलाई आफ्नो प्रेरणाको पात्रको रूपमा लिने गर्छन् । प्रभावकारी शिक्षाको लागि दुवै जनाको सम्बन्ध राम्रो हुनु एकदमै आवश्यक छ । त्यसैगरी विद्यार्थीको पढाइमा मात्रै नभएर एउटा विद्यार्थी सफल र सक्षम हुनुमा शिक्षकको निकै ठुलो लगानी हुन्छ ।
विद्यालयमा ज्ञान आर्जन गर्न जाने बालबालिका विद्यार्थी हुन् । बालबालिकाको संरक्षण, पालन पोषण गर्ने व्यक्ति अभिभावक हुन् भने बालबालिकालाई पढाएर सफल बनाउने व्यक्ति शिक्षक हुन् । अभिभावक भनेको एक विद्यार्थीको पहिलो शिक्षक भएजस्तै प्रेरणाको स्रोत र उज्वल भविष्यको गोरेटो बनाउने अनि चम्किलो भविष्य निर्मण गरिदिने काम शिक्षकको हुन्छ । विद्यार्थी र शिक्षक एक अर्काका परिपूरक हुन् । यी दुवै एक अर्का बिना अपूरो हुन्छन् ।
शिक्षक र विद्यार्थीको सम्बन्ध राम्रो भए मात्र एक विद्यार्थीले सफलता हासिल गर्न सक्छ । सर्वप्रथम शिक्षक र विद्यार्थीबीच कक्षाकोठामा दोहोरो संवाद हुनु आवश्यक छ । एउटै कक्षा कोठामा बसेर पछि शिक्षकले पढाएको विषयमा विद्यार्थी प्रश्न गर्ने र दुवै जनाले एक अर्कासँग सक्दो संवाद गर्ने गरेमा पढाइ प्रभावकारी हुन्छ ।
विद्यार्थीले कुनै पनि कुरा जिज्ञासा दिएर पढ्न थाले र प्रश्न गर्न थाले भने शिक्षकले पनि त्यसै अनुसार तयारी गरेर आउँछन् र दुवै जनाको ज्ञान बढ्न सक्छ । शिक्षक र विद्यार्थीको बीच सम्मानको भवना एकदमै आवश्यक छ ।
विद्यार्थी भएर आफ्नो शिक्षकलाई आदर सत्कार गर्नु उसको कतव्र्य हो र त्यसैगरी यो नियम शिक्षकलाई पनि लागु हुन्छ । आफूले पढाउने विद्यार्थी सबैलाई आदरका साथ व्यवहार गर्नु पर्छ । विद्यार्थीलाई हेपेर भन्दा पनि माया र आदरका साथ पढायो भने शिक्षक र विद्यार्थी बिचको सम्बन्ध राम्रो हुँदै जान्छ । शिक्षक र विद्यार्थीले एक अर्काको कुरा सुन्नु पर्छ ।
शिक्षकले कक्षाकोठामा पढाइ रहेको बेलामा विद्यार्थीले शिक्षकले पढाएको कुरा जिज्ञासा र ध्यानका साथ सुन्नु पर्छ । त्यसैगरी शिक्षकले पनि विद्यार्थीको कुरा सुन्नु त्यति नै महत्व छ । दुवै जनाको बिचको सम्बन्धलाई राम्रो रूपमा स्थापित गर्न सक्यौँ भने पढाइको स्तर राम्रो हुँदै जान्छ ।
त्यसैगरी दुवै जना शिक्षक र विद्यार्थी बीच सहकार्य हुनु एकदमै आवश्यक छ । शिक्षकले पढाउने र विद्यार्थीले ज्ञान लिने राम्रो वातावरण बनाउनमा दुबै जनाको हात हुन्छ । शिक्षकले आफू ठूलो ठान्ने, विद्यार्थीलाई हेप्ने जस्तो व्यवहारले कसैलाई पनि राम्रो हँुदैन त्यसैले शिक्षकले विद्यार्थीलाई माया र विद्यार्थीले शिक्षकलाई सम्मानको साथ दुुवै जना मिलेर शिक्षालाई अगाडि बढाउन सकिन्छ ।