नेपालमै पहिलो पटक सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ । सहासिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्वतको कुश्मा नगरपालिकामा कालीगण्डकी नदीमाथि बनेको स्काई ब्रिज आज सोमबारदेखि सञ्चालनमा आएको हो ।
स्काई ब्रिजको सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन् ।
हार्नेस जिपलाइन प्रालि कुश्माले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबारदेखि ब्यवसायीक रुपमै खुल्ला गरिएको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।
कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।
एकै पटकमा ५० जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौडा छ ।
अहिले युवाहरूको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने कम्पनीको विश्वास छ ।
अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए ।