केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार म्याग्दीमा एक लाख सात हजार ३७२ जना रहेको छ । २०६८ सालको जनगणना अनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको थियो । बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको देखिन्छ ।
म्याग्दीबाट भारत सहित तेस्रो मुलुकमा म्याग्दीबाट कुल विदेशिनेको संख्या १० हजार ७१३ रहेको छ । म्याग्दीमा महिलाको जनसंख्या ५४ हजार ८१८ र पुरुषको संख्या ५२ हजार ५५४ जना भएको छ । जसमा पुरुष ८ हजार ८४३ र महिला १८ सय ७० रहेको छ । जिल्लाको कु्ल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ ।
यसलाई केन्द्रीय तथ्यांक विभागले गणनाका क्रममा ‘अनुपस्थित विदेश’ भनेर सोधिएको प्रश्नमा आएका जवाफ नै विदेशिनेको तथ्यांक भएको बताएपनि जिल्लाको जनसंख्या र बैदेशिक रोजगारीमा गएकाहरूको विवरणमा त्रुटी भएको हुनसक्ने आधारहरु प्रसस्तै छन् । कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा खाडीमुलक तथा छिमेकी राष्ट्र भारतबाट घर फर्किएकाहरु जनगणनमा समेटिएकाले समेत जनसंख्याको घट्दो क्रमलाई रोकेको छ ।
२०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औ जनगणना अभियान अन्तरगत म्याग्दीमा १८६ जना गणक र ४७ जना सुपरीबेक्षकहरु जनगणनामा परिचालन गरी संकलन गरिएको विवरणमा केही त्रुटी भएपनि तथ्यमा कुनै गोलमाल नभएको दावी गरिएपनि बैदेशिक रोजगारीमा गएको तथ्याङ्कले भने विवरण संकलनमा हेल्चेक्राई भएको देखिन्छ ।
गणक र सुपरभाइजरको अनुभव कम, भुगोलसँग परिचित नहुदाँ तथा विवरण उपलब्ध गराउनुपर्ने लक्षित समुहले समेत खुलेर दिन आनकानी गरेको देखिन्छ ।
जनगणनामा पुरानै शैलीको प्रयोग र स्थानीय तहलाई जिम्मेबारी दिन नसक्नुले पनि कमजोरी भएको अनुमान गर्न सकिन्छ । म्याग्दीमा बच्चा जन्माउने उमेर समूहका युवा–युवतीको ठूलो संख्या विदेशमा रहनु, आधुनिक दम्पतीले धेरै बच्चा जन्माउन नचाहनु, बच्चालाई दिने समय आफ्नो करियरमा खर्च गर्नु, शिक्षा र रोजगारीमा महिलाको पहुँच बढ्दै गएपछि बच्चा जन्माउने कि नजन्माउने भन्ने निर्णय गर्नेमा उनीहरूको भूमिका बढ्नु जनसंख्या दर न्यून हुनुका प्रमुख कारण छन् ।
एक दशकमा म्याग्दीको जनसंख्या घटेको बारेमा खासै बहस र चर्चा भएको देखिएन् । जिल्लाभित्र विकास निर्माण, रोजगारीको र्सिजना तथा स्थानीय तहमार्फत यूवा तथा लक्षित समुदायलाई आर्कषित गर्ने कार्यक्रमको अभावका कारण समेत पलायन हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ ।
जनसंख्या वृद्धिदर कम हुनु भनेको केही दशकपछि काम गर्नसक्ने समूहको संख्या कम हुँदै जानु र वृद्धवृद्धाको संख्या बढ्दै जानु हो । जनशक्ति अभाव हुँदा जिल्लाको आर्थिक, सामाजिक, राजनीतिक लगायत विभिन्न क्षेत्रमा असर पर्छ ।
जनसंख्या कम भएका नेपाल भित्रकै जिल्लाहरूमा विकास निर्माण सहित अन्य सूचकहरुको अवस्थालाई हेरेर समेत प्रष्ट हुन सकिन्छ । म्याग्दीमा दक्ष र यूवा जनशक्ती पलायन हुनुमा यहाँका राजनीतिक दलको पहुँचको अभावले थलिएको विकास निर्माण सहितका अन्य क्षेत्रलाई समेत आधार मान्न सकिन्छ ।
विकास निर्माणको दृष्टिकोणले म्याग्दी जिल्ला छिमेकी जिल्लाको तुलनामा पछाडी छ । आफ्नो परिवार पाल्न विदेशीएकाहरु नफर्किदा र उतै बस्दा समेत जनसंख्यामा असर गरेको छ । रोजगारी र सुविधा भएमा पलायन रोक्न सकिन्छ जसले जनसंख्या बृद्धिमा समेत सघाउँछ । संघीय ब्यवस्था लागू भएपछि पहिलो पटक जनणना भएकाले जिल्लाको लैगिक र आर्थिक अवस्थाको डेमोग्राफिक विश्लेषण आवश्यकता देखिएको छ । समयमै यस दिशामा ध्यान दिनु आवश्यक छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार