नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले २६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको जानकारी दिए ।
“आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको एलएनटीसँग सम्झौता गरिएको हो”, उनले भने, “सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गरेको छ ।” ठेक्का सम्झौताको अवधि ३० महिना छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।
पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।
गैरआवासीय नेपालीहरूको अगुवाइमा धवलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङको अडिट पोर्टल बनाउन थालेको छ । आयोजनाका इञ्जीनियर प्रकाश शाहीले पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको जानकारी दिए ।
गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ । बाँध र विद्युत्गृह निर्माणको तयारी भएको छ । मालिका–७ बिम र धवलागिरि–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । धवलागिरि–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।
हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्रयाक खोलिसकेको जानकारी दिए । धवलागिरि–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुशील पोखरेलले निर्माण अघि बढाउन विद्युत् विकास विभागबाट अध्ययन अनुमति पाइसकेको बताए ।
अपर हाइड्रोपावर प्रालि काठमाडौँले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३।५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ । धवलागिरि–४ मुदीको खाम्ला नजिकै बाँध र मालिका–७ बिमको भारवाङमा विद्युत्गृह रहने आयोजना रन अफ द रिभर प्रकृतिको हो । पाँच किलोमिटर ५०० मिटर दूरीको सुरुङबाट ल्याइएको पानी ७७० मिटर हेडबाट विद्युत्गृहमा खसालिने कम्पनीले जनाएको छ । रासस