बागलुङ – पहिलेपहिले अनिकाल र विपद् पर्दा हुनेले अन्न दिने, नहुनेले लाने प्रथा थियो। गाउँलेले त्यसलाई ‘धर्म भकारी’को नाम दिएका थिए। किसानले मुठ्ठी दान गरेर धर्म भकारीमा अन्न थुपार्थे। अन्न नासिँदा, खडेरी, बर्खा आदि समयमा त्यही अन्नको पालोपैँचो चल्थ्यो। भोकमरीमा हातमुख जोरिन्थ्यो।
गाउँघरमा पुस्तैनी प्रथाका रुपमा रहेको धर्म भकारी समयक्रममा भने हराउँदै गयो। अर्थोपार्जनका नयाँ उपाय निक्लिए। बजार बस्यो। पैसाबाट किनमेल हुन थाल्यो। सहकारी, बैंक खुले। मानिसले ऋण लिन थाले, एैँचोपैँचो बिर्से। जसले धर्म भकारी जस्ता सामाजिक चल्ती र थिति ओझेलमा परे।
तर, आधुनिक विकासको चरम स्थितिमा पनि हाम्रा गाउँघरमा अझै पनि पुराना संस्कृति र जीवनशैलीका अवशेष बाँकी छन्। त्यसकै एक उदाहरण हो, गलकोट नगरपालिका–२ तोरीखोलामा रहेको धर्म भकारी। ठ्याक्कै उहिल्यैकैस्वरुप र तरिकामा नचले पनि गाउँलेले जेनतेन त्यसलाई जोगाएका छन्।
धर्म भकारीको संरक्षण र सञ्चालन गरिरहेको तावा–मधुवन–सिलाजित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमार घर्तीमगरले पितापूर्खाको पालादेखि त्यो प्रथा चल्दै आएको बताए। ‘हामीले थाहा पाउने बेलादेखि नै धर्म भकारी थियो, अहिले पनि यसको चलन जीवित छ’, उनले भने।
गाउँको माझमा तोरीखोला सामुदायिक भवन छ। त्यही भवनको भित्रपट्टि ठूलो धर्म भकारी छ। जसमा झण्डै ८० मुरी अन्न अटाउछ। माथिबाट अन्न खन्याउन र तलबाट झिक्न मिल्छ। अहिले त्यहाँ ४० मुरी जति कोदो छ। समूहका अध्यक्ष घर्तीमगरका अनुसार गत वर्ष २० मुरी कोदो लगानी भएको थियो। त्यो कोदो यही पुसभित्र ब्याजसहित पुनःधर्म भकारीमा जम्मा हुँदैछ। धर्म भकारीमा ६९ घरपरिवार जोडिएका छन्।
चाहिँदाको बेला धर्म भकारीबाट कोदो झिकेर लान पाइने र पछि प्रतिपाथिको एक मानाका दरले ब्याजसहित फिर्ता गर्नुपर्ने नियम समितिले बनाएको छ। धर्म भकारीको रेखदेखसहित कोदो लेनदेनको प्रबन्ध समूहले नै गर्ने गरेको अध्यक्ष घर्तीमगरले बताए।
वर्षभरिमा जहिले कोदो लगेपनि नयाँ कोदो फलेर भित्र्याउने याम पुस महिनामा कोदो फिर्ता गर्नुपर्छ। यदि त्यसबेला सबै फिर्ता गर्न नसके ब्याजबापतको मात्र धर्म भकारीमा जम्मा गरी र बाँकी आउँदा वर्षमा तिर्न पनि सकिने व्यवस्था छ।
पहिले अरु अन्नबाली धर्म भकारीमा राख्ने गरिए पनि पछिल्लो समय कोदो मात्रै जम्मा हुने गरेको छ। कोदो तोरीखोलाको मुख्य अन्नबालीमा पर्छ। घरायसी परिकारबाहेक मगर समुदायमा सगुनका रुपमा चढ्ने घरेलु मदिरा बनाउन पनि कोदो प्रयोग हुन्छ।
चार वर्षअघि खुलेको तोरीखोला सामुदायिक होमस्टेका पाहुनालाई पनि स्थानीयवासीले कोदोको ढिँडो, सेल रोटीलगायतका परिकार टर्काछन्। ‘खाद्यान्न नपाउने, बर्खामा लिन जान नसक्ने अवस्थामा धर्म भकारीको बढी महत्व हुन्थ्यो’, स्थानीय खिमकुमारी घर्तीले भनिन्, ‘पहिलेको जस्तो अन्नै नहुने अवस्था त छैन, तर कोदो बढी प्रयोग हुने घरमा यसबाट सहयोग पुगेको छ।’
समूहका सचिवसमेत रहेकी घर्तीले थप्दै भनिन्, ‘सामुदायिक वनको आम्दानीमध्ये केही रकम धर्म भकारीमा खर्च हुने गरेको छ।’ बर्सेनि दुई पटक बैठक बसेर समूहले कोदो लगानीको निर्णय लिन्छ। ‘यो उही पैसा लगानी गरे जस्तै हो, कोदो लानेलेपछि ब्याजसहित तिर्नुपर्छ’, समूहकी सचिव घर्तीले थप्दै भनिन्, ‘दुई/चार पाथीदेखि चाहेकाले १५/२० मुरी एकैचोटी पनि लान सक्छन्।’
स्थानीयवासी भक्त कालाले धर्म भकारीको संरक्षणमा नगरपालिकाबाट सहयोग ल्याउन पहल गर्ने बताए। ‘समुदायले आफ्नै पहलमा सञ्चालन गरिरहनुभएको छ, उहाँहरुको तर्फबाट केही माग आए सहयोग गर्न हामी तयार छौँ’, उनले भने, ‘यो सामाजिक सम्पत्ति हो, यसको संरक्षण हुनुपर्छ।’
धर्म भकारीबाटै पछिल्लो समय खाद्य बैंकको अवधारणा आएको उनले सुनाए। मगर बाहुल्य तोरीखोलालाई ‘नमूनाबस्ती’ का रुपमा विकास गर्न नगरपालिकाले लगानी भित्राएको छ।
जसमा पदमार्ग, सडक, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा काम भइरहेको छ। प्रदेश सरकारको लगानीमा सौर्यबत्ती जडान गरिएको छ। होमस्टे सञ्चालनमा आएपछि तोरीखोलामा पर्यटकीय आकर्षण पनि थपिएको छ। त्यहाँका ११ घरमा होमस्टे छ। त्यहाँको संस्कृति, रहनसहनले गाउँको मौलिकता र पहिचानको अनुभव दिलाउँछ। मध्यपहाडी पुष्पलाल लोकमार्ग नजिकै रहेकाले त्यहाँ सजिलै आउजाउ गर्न सकिन्छ। तोरीखोला सदरमुकाम बागलुङ बजारदेखि ४० किमि दूरीमा पर्छ।