पुस महिनाको कठ्याग्रिदो जाडोमा एकसरे कपडामा दुधे बच्चा च्याप्नुभएकी कमला परियार राम्रोसँग बोल्न सक्नुहुन्न। बर्षातको समयमा चुहिने एकतले साँधुरो घर, ६ जना छोराछोरीलाई हुर्काउँनुपर्ने बाध्यता कमला र उहाँका श्रीमान टेकबहादुर लाई छ ।
चिसो भुईमै रात काट्ने गरेका बालबालिकालाई पेटभरी खानेकुरा समेत छैन् । चरम गरिबी र अशिक्षाका कारण अभावै अभावको पहाडले थिचेजस्तै भएको छ ।
गाउँमा मजदुरी गरेर जुटाएको खाद्यान्नले कुनैपनि दिन पेटभरी खान पुग्दैन् । कमलाको कोखबाट पाँच छोरा र दुई छोरीलाई जन्मदिनुभयो । गरिबीकै कारण जेठी छोरी मनुले पढ्न छोडेर सानै उमेरमा विवाह गर्नुपर्यो भने पाँच छोरा र एक छोरी स्कुल उमेरकै छन्।
गाउँकै धवलागिरि आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययन जेठा छोरा खिमबहादुरले बाबा आमाको नियमित आम्दानी नभएको र आफुहरुले काम गर्न समस्या भएकाले पढाई खर्च जुटाउन नसकेको बताउनुभयो । ‘स्कुले र मजदुरीसँगै लैजान सक्ने भए मैले काम गरेरै भाईबहिनीलाई पढाउने थिए,‘एकैपटक सँगै जान मिल्ने रहेनछ’ खिमबहादुरले भन्नुभयो ।
पढ्ने चाहना भएपनि माईलो भाईले बिचैमा विद्यालय जान छोडेको र आफ्नो पनि उस्तै अवस्था आउन लागेको खिमबहादुरको भनाई छ। मनेले दुई कक्षामा अध्ययन गर्दागर्दै स्कुल छाडेका थिए भने बहिनी जमुनाले कक्षा ४, भाई कुशलले कक्षा २ र संगीनले बाल कक्षामा अध्ययरत छन् । कान्छो भाई इसान घरमै छन् ।
चरम गरिबी र आवश्यकता भन्दा बढी सन्तान जन्मिएपछि थप समस्या भएको विद्यालयका सहायक प्रधानध्यापक रुपेश सुवेदीले बताउनुभयो। ‘अशिक्षा र गरिबीले पिल्सिएको परिवारलाई सहयोगको आवश्यकता छ,‘घरदेखि विद्यालयसम्म आउन नसक्ने अवस्थामा छन्’ सहायक प्रअ सुबेदीले भन्नुभयो ।
विद्यालयले केही राहत उपलब्ध गराएपनि बालबालिकालाई उच्च शिक्षासम्म आवश्यक शैक्षिक साम्रागी, पोशाक लगायत उपलब्ध भए धेरै सहज हुने विद्यालयका प्रअ मनबहादुर पुनले बताउनुभयो ।‘उचित वातावरण भए पढ्न सक्छन्,‘न्यूनतम आवश्यकता पुरा गर्न पनि मुस्किल छ’ प्रअ पुनले भन्नुभयो। तस्वीर सौजन्य : कमल खत्री