धु्रबसागर शर्मा\न्यू दिल्ली
भारतको राजधानी न्यू दिल्लीको यमुना नदीको तटमा अवस्थित राजघाट उद्यान प्रत्येक भारतीय नागरिकहरुको आस्थाको धरोहर बनेको छ । भारतका राष्ट्र पिता महात्मा गांधीकोे बिरला हाउसमा हत्या भएपछि उनको समाधीलाई यहाँ राखिएको थियो । राजघाट भारतको प्राचीन घाटको रुपमा परिचित छ ।
राजघाटमा १२ फिटको चर्तुभुज आकारको मंच छ । १२ फिटको चौकोण कालो संगमरमरबाट निर्माण गरिएको मंचमा अखण्ड दीप बालिएको छ । यो मंचमा महात्म गान्धीको अन्तिम संस्कार गरिएको पर्यटक गाइड अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
भारतीय तथा अन्यदेशका पर्यटकहरु राष्ट्रपिता महात्मा गान्धीको सम्मान र श्रद्धाञ्जली दिनका लागि यहाँ आउने गर्दछन् ।
राजघाटमा महात्मा गान्धीको स्मारक मात्रै होइन उनको यस घाटले गान्धीको शानदार जीवनलाई पनि प्रस्तुत गर्ने न्यू दिल्लीलाई कार्यथलो बनाई विगत १४ वर्षदेखि भारतीय संस्कृतिको अध्ययन गर्दै आउनुभएका नेपाली विद्यार्थी शिव शर्मा आचार्यले बताउनुभयो ।
राजघाटको नजिकै गांधी स्मारक संग्रहालय पनि रहेको छ । यहाँ चित्र, मूर्तिकला र तस्बीरको माध्यमबाट महात्मा गान्धीको जीवनलाई सचित्र प्रस्तुत गरिएको छ । यहां उनकोे जीवन र सर्वोदय आंदोलनको पनि फिल्मको माध्यमबाट देखाइने गरिएको गान्धी स्मारककी कर्मचारी नयना चतुर्वेदीले जानकारी दिनुभयो ।
राजघाट, यमुना नदीको निकै नजिक रहेको छ । राजघाट भारतको ऐतिहाँसिक घाटको रुपमा परिचित छ । यहाँ महात्मा गांधीको हत्याको एक दिन पछि ३१ जनवरी सन् १९४८ मा उनको अन्तिम संस्कार गरिएको थियो ।राजघाटमा रहेको स्मारक एक कालो संगमरमरको संरचना हो । जमिनबाट करिब ४ फिट माथि मठाएर बनाइएको यो संरचनामा महात्मा गान्धीको अन्तिम शब्द “हे राम” अत्यन्त आकर्षक शैलीमा कुदिएको छ । यो स्मारकको माथिपट्टी अखण्ड दीप जलिरहन्छ ।
यो स्मारकको डिजाइन भारतीय नागरिक बनू जी भुट्टाले गर्नुभएको पर्यटक गाइड लोचन तिवारीले बताउनुभयो । यो स्मारक गांधीजीको सरल जीवन शैलीको प्रतिबिंब भएको उहाँको भनाइ छ । यहाँ रानी एलिजाबेथ द्वितीय, आइजनहावर, हो ची मिन्ह तथा अन्य धेरै मानिसहरुले रोपेका विरुवाहरुको एक सुन्दर बगैंचा रहेको छ ।
राष्ट्रीय गांधी संग्रहालय
राजघाट परिसरमा एउटा संग्रहालय पनि छ । जो राष्ट्रपिता महात्म गान्धीको नाममा समर्पित छ । ३० जनवरी १९४८ मा महात्मा गांधीको हत्या पछि कलेक्टरहरुले गान्धीसंग सम्वन्धित सम्पूर्ण कलाकृतिहरुको खोजी शुरु गरेका थिए । खोजी गरिएका ती कलाकृतिहरुलाई पहिला मुम्वई लगिएको थियो । सन् १९५१ मा कोटा हाउस, सन् १९५७ मा हबेली हुँदै १९५९ मा भारतका तत्कालिन राष्ट्रपति राजेन्द्र प्रसादद्धारा राजघाट स्मारकको नजिकै राष्ट्रीय गांधी संग्रहालय संचालन गरिएको इतिहाँस रहेको छ ।
गांधी संग्रहालयमा एक पुस्तकालय छ । जहाँ गान्धीको जीवनसम्वन्धि कैयौं अध्ययन सामाग्रीहरु राखिएका छन् ।
यी सबैका अतिरिक्त संग्रहालयमा एक ग्यालरी छ, जहाँ गान्धीका व्यक्तिगत कलाकृतिहरु,उनले टेक्ने लठ्ठी,ओढ्ने च्यादर (शाल) लगाउने धाती र जुन गोलीद्धारा उनको हत्या गरिएको थियो त्यो गोली पनि प्रर्दशनका लागि राखिएको छ ।