धौबलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो ।
दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । “टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ”, उनले भने, “थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउने छ ।” टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।
धातुका सिक्का बनाउनसमेत तामा प्रयोग हुने गर्दथ्यो । तामाखानीको सम्भाव्यता अध्ययनसँगै उत्खनन्को वातावरण बन्नेमा स्थानीय अमर छन्त्याल ढुक्क हुनुहुन्छ । गुर्जा, मच्छिम, कुइँनेमङ्गले र ओखरबोटमा समेत तामाखानी छ । खानी उत्खनन् र सुरुङ खन्नका लागि आधुनिक उपकरण तथा प्राविधिको विकास, विद्युत् र सडक पूर्वाधारको पहुँच विस्तार भएकाले सजिलो हुने अपेक्षा गरिएको छ । तामाखानीको सम्भाव्यता अध्ययनका लागि गाउँपालिका र जनप्रतिनिधिले पहल गरेका थिए । तामाखानी सञ्चालन गर्न सकेमा रोजगारी सिर्जना हुने वडाध्यक्ष छन्त्यालको भनाइ छ । रासस