ए’मा ए’गुरु
तेरी सुरत से अलग
भगवानकी मुरत क्या होगी
उसको नही देखा हमने कभी
पर उसकी जरुरत क्या होगी
मेरो सौभाग्यवश भेटिएका महान गुरुहरुमध्ये एक गुरु हुन् वीरबहादुर कार्की, जसले मेरो विद्यार्थी जीवनको अन्योल यात्रामा राम्रो विद्या एवम् ज्ञान दिएर असल मार्ग दर्शन गराउनु भएको थियो । उहाँको जन्म पिता दलबहादुर कार्की र माता हरिकला कार्कीको कोखबाट कान्छो पुत्रको रुपमा वि.सं. २००६ भदौ ५ गतेको दिनमा रत्नेचौर गा.वि.स. वडा नं. ३ भिरमुनी भन्ने ठाउँमा भएको हो।
भवानी प्राइमरी स्कुल रत्नेचौरबाट आफ्नो ६ वर्षको कलिलो उमेरमा पढाईको जीवन शुरु गरेका कार्की कक्षा ७ सम्म प्रथम श्रेणीमा पास हुनु भएको थियो भने यसपछि आफ्नो माध्यमिक स्तरको अध्ययन श्री विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङ्गमा भएको हो ।
यसै विद्यामन्दिर माध्यमिक विद्यालयबाटै वि.सं. २०२३ सालको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण हुनु भएका कार्कीले आफ्नो उच्च शिक्षाको अध्ययन धौलागिरि बहुमुखी क्याम्पस (महेन्द्र बहुमुखी क्याम्पस) बागलुङ्गमा भएता पनि पृथ्वीनारायण क्याम्पस पोखराबाट स्वीकृत लिई वि.सं. २०२५ सालमा प्रमाणपत्र तह (आइए) उत्तीर्ण हुनुभएको थियो ।
यसपछि काठमाडौंको सरस्वती क्याम्पस लैनचौरबाट वि.सं. २०२७ सालमा उत्कृष्ट अंक ल्याई स्नातक तह (बीए) उत्तीर्ण हुनुभएका कार्कीको विद्यार्थी जीवन निकै नै प्रशंसायोग्य थियो । आफ्नो पढाईमा तीक्ष्ण बुद्धि भएका कार्की लगनशील, इमान्दार एवम् अनुशासन जस्ता गुणहरुको धनी हुनुहुन्थ्यो । यही कारण आफ्ना गुरु, शिक्षकवर्गहरुको नजरमा पनि प्रशंसित एवम् आँखाको नानी बनेका थिए । नवीन जुग्जाली
जसको परिणाम स्वरुप कार्कीलाई एसएलसी परीक्षा दिनासाथ भवानी प्राइमरी स्कुल, रत्नेचौरमा अध्यापन गराइ दिनको लागि त्यहाँका शिक्षक एवम् अभिभावकहरुबाट विशेष निवेदन भएको थियो । सो निवेदनलाई सम्मान गर्दै कार्कीले त्यहाँको विद्यालयमा अध्यापनको लागि मञ्जुरी हुनुभएको थियो ।
त्यतिबेला भर्खर स्थापित तत्कालीन भानु नि.मा.वि. भौतिक, आर्थिक रुपले अति नाजुक अवस्थामा थियो । विद्यालयको यही कमजोर अवस्थालाई सुधार गर्नको निमित्त कार्कीले आफूसँग भएको कला प्रतिभालाई उचित रुपले सदुपयोग गरी विद्यालय तथा समाज कल्याणमा थुप्रै योगदान पु¥याउनुभएको थियो ।
वि.सं. २०२२ सालदेखि आफ्नो नेतृत्वमा हरेक वर्ष तिहारमा देउसी भैलोको कार्यक्रम गरी यस कार्यक्रमबाट उठेको रकमले हार्मोनियम, बाजागाजा आदि इत्यादि सामग्रीहरु जुटाउने जस्ता कार्य गर्नुका साथै भानु नि.मा.वि.को नामाकरण गर्ने कार्यमा समेत कार्कीको उत्कृष्ट भूमिका रहेको थियो ।
वि.सं. २०२६ सालदेखि २०२८ साल भदौ ५ गतेसम्म श्री भानु नि.मा.वि.मा प्रधानाध्यापक पदमा रही सफल शिक्षण तथा प्रशिक्षण गरेका कार्कीले आफ्नो कार्यकालमा थुप्रै उल्लेखनीय कार्यहरु गरेर श्री भानु नि.मा.वि.लाई सक्षमस्तरमा पु¥याउनुभएको थियो ।
यसपछि वि.सं. २०२८ साल भदौ १० गतेदेखि वि.सं. २०६६ साल भदौ २ गतेसम्म श्री जनप्रिय मा.वि. दरबाङ्गमा प्रधानाध्यापकको पदमा रही अविच्छिन्न रुपमा सफल नेतृत्व गरी आफ्नो समयमा राम्रो हलचल मच्याएका कार्कीको व्यक्तित्व वास्तवमा मर्यादित एवम् सम्मानित थियो । अंग्रेजी जस्तो जटिल विषयलाई अध्यापनको मुख्य विषय बनाएका कार्की अंग्रेजी अध्यापनमा समेत त्यतिबेला धौलागिरि अञ्चलमै चर्चाको शिखरमा हुनुहुन्थ्यो ।
यसरी अध्ययन र अध्यापनमा अब्बल योग्यता राख्ने कार्कीले वि.सं. २०३१ सालमा काठमाडौंको त्रिभुवन विश्वविद्यालयबाट बीएडको परीक्षामा उत्तीर्ण भई बीएडसम्मको योग्यता हासिल गर्नुभएको हो ।कम बोल्ने तर मीठो मुस्कानले आत्मीयताको अभिव्यक्ति दिने अन्तरमुखी स्वभावका वीरबहादुर कार्की वास्तवमा बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो ।
जसले आफ्नो अध्यापन बाहेक अतिरिक्त गतिविधिहरुमा सदा गतिशील रहँदै आएका कार्कीले श्री जनप्रिय मा.वि. दरबाङ्गको आर्थिक, भौतिक तथा शैक्षिक पूर्वाधारको निमित्त देउसी, भैलो जस्ता विभिन्न साँस्कृतिक कार्यक्रम बनाई विभिन्न गाउँहरुमा पुगी आफ्नो कार्यक्रमको प्रस्तुति दिएर रकम संकलन गर्ने जस्ता कामहरु गर्नुभएको थियो । वि.सं. २०२८ सालतिर एक वर्षमा रु.१६०० सरकारी बजेट विद्यालयको लागि भनेर आउने गर्दथ्यो ।
यति थोरै रकमले विद्यालयको पूर्वाधारमा केही पनि गर्न सकिने अवस्था थिएन । यही अवस्थाबाट माथि उठ्नको लागि कार्कीले निकै ठूलो आर्थिक संघर्ष गर्नुपरेको थियो । वहाँले एउटा शिक्षाप्रेमीले गर्नुपर्ने कर्तव्य र धर्म निर्वाह गरी श्री जनप्रिय मा.वि.लाई उच्च मा.वि.सम्मको स्तरमा पु¥याउनमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
यहाँ नामका भोकाहरुको होडबाजी छ । होडबाजीमा निक्लेकाहरुले अनेक अनेक खाले धुलो उडाउन सक्छन् । तर यस धुलोले कार्कीको योगदानलाई कदापि ओझेल पार्न सक्नेछैन ।
अर्कोतर्फ गीत संगीत भनेपछि हुरुक्क हुने वीरबहादुर कार्की गाउन र वाद्यवादनमा पनि उत्तिकै माहिर हुनुहुन्छ ।
म्याग्दी जिल्लामा मात्र नभई राष्ट्रिय स्तरसम्म आफ्नो कला र गलाको ख्याति कमाएका कार्कीले वि.सं. २०४० सालमा राष्ट्रिय खेलकुद पोखरामा आयोजना हुँदा राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा भाग लिई राप्ती अञ्चललाई पछाडि पारी “वामरी फुलको बोट” भन्ने गीतको बोलमा गीत गाएर प्रथम हुनुभएको थियो र वि.सं. २०४४ सालमा राष्ट्रिय लोकनृत्य प्रतियोगितामा समेत प्रथम स्थान हासिल गर्नुभएका कार्कीले वि.सं. २०२७ साल भदौ ६ गते रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण भएपछि “हे रानी माछी छ गंगाको तालैमा”, “टाढा छ मायाको डोरो” जस्ता लोकगीत रेकर्ड हुँदा रेडियो नेपालबाट ६ रुपैयाँ पारिश्रमिक पाउनुभएको थियो ।
अहिले कार्कीको आफ्नो शब्द लयमा “रेल पुग्यो बम्बईमा” र नरबहादुर बिसी लगायत चिमखोलाका कलाकारहरु धनकुमारी थापा, जमुना पुन र कार्की स्वयम्को स्वर तथा लय रहेकोगीत “सोल्टीज्यू” जस्ता गीत एल्बमहरु चिनोको रुपमा प्रकाशित छन् ।
यसरी गीत संगीतमा अति रुचि राख्ने कार्कीले भ्रमणमा पनि उत्तिकै रुचि राख्नुहुन्छ । भ्रमणको सिलसिलामा स्वदेश तथा विदेशका थुप्रै ठाउँहरुको भ्रमण गरिसक्नुभएको छ । जस्तै वि.सं. २०४५ सालमा जापान, वि.सं. २०६९ सालमा बेलायत र भारतका विभिन्न मुख्य शहरहरुको भ्रमण गरिसक्नुभएको छ ।
आफू विद्यालयबाट सेवा निवृत्त हुनु अगाडि वि.सं. २०६६ साल वैशाख ५ गतेदेखि १२ गतेसम्म श्री जनप्रिय मा.वि.लाई उच्च मा.वि. सञ्चालन गर्न आयोजना गरिएको महायज्ञ कार्यक्रमको वरिष्ठ सल्लाहकारमा रही सफल नेतृत्व गरेका कार्कीले एक करोड ९६ लाख रुपैयाँ संकलन गरी धौलागिरि अञ्चलकै ठूलो रकम उठाउन सफल हुनुभएको थियो ।
यसरी निरन्तर आफ्नो विद्यालयप्रति निष्ठाभावले वफादार हुँदै वि.सं. २०६६ साल भदौ ३ गते विद्यालयबाट सेवा निवृत्त भइसक्नुभएको छ । हाल वहाँ दरबाङ्ग र आसपासमा केन्द्रीय विद्युतीकरण लाइन बिस्तार समितिको अध्यक्ष र सन् १९७१ जुलाई १५ देखि लायन्स क्लब अफ म्याग्दी दरबाङ्गको अध्यक्ष जस्ता विभिन्न सामाजिक सेवाका पदमा रही क्रियाशील हुनुहुन्छ ।
भ्रमणको सिलसिलामा अमेरिकामा पुग्नुभएका कार्कीले लामो समयसम्म अमेरिकाको बसाइपछि नेपाल फर्के लगत्तै सिरमा फुलै माया नामक गीति एल्बम प्रकाशित गर्नुभएको थियो ।
जीवनको पूर्वाद्र्धमा समाजका अज्ञानसँग लड्नुभयो ।
जसका कारण गाउँगाउँमा ज्ञानको ज्योति पुग्यो । हजारौं युवायुवतीहरुको भविष्य उज्ज्वल भयो । यसरी ज्ञानको ज्योति फिँजाउँदै एउटा सानदार जिन्दगी व्यतित गरेका कार्कीको जीवनको उत्तराद्र्धमा क्यान्सर जस्तो प्राणघातक रोगसँग लडिरहनुभएको छ । उहाँको स्वास्थ्य स्थितिमा छिटै नै सुधार आओस् भन्ने हाम्रो प्रार्थना एवम् शुभकामना छ ।