कतिपय मानिस आफूमाथि जति अन्याय अत्याचार हुँदा पनि चुपचाप बस्छन् तर केही मानिस जन्मजात विद्रोही हुन्छन् । आफूमाथि मात्र होइन अरु कोही माथि अन्याय भएको देखे पनि त्यसको विरोधमा विद्रोह थाल्छन् । कुनै कुरा विरुद्धको विद्रोह गर्ने विभिन्न माध्यय हुन्छन्, कोही बोलेर त कोही लेखेर विद्रोहको आगो ओकल्छन् । कलम र अभियनयबाट विद्रोहको बिगुल फुक्ने एक प्रतिभा हुनुहुन्छ ध्रुवलाल शर्मा ।
जनता पिल्सिएको सहन नसक्ने बानी उहाँकाे परिचय नै बन्यो उहाँको यही स्भावका कारण उहाँले राजा, पञ्च तथा पत्रकार बिरुद्ध पनि बलियोसँग औंला ठड्याउनुभयो । बेनी नगरपालिका–६ अर्थुङ्गेका ध्रुवलाल शर्माले आफ्नो सक्रिय जीवनमा दुई सय भन्दा धेरै ब्यङ्ग्य (तत्कालिन अवस्थामा कमिक भनिन्थ्यो) मा अभिनय गर्नुभयो ।
जनताको पक्षमा हुने काम र जनताको पक्षमा हुने कार्यकै लागि नेतृत्व गर्दा कोही जनता बिरुद्ध गयो कि भन्ने लागेमा ब्यङ्ग्य वा कविताकै माध्यमबाट पनि उछितो काढ्ने गर्नुहुन्थ्योे उहाँ । २००५ जेठ १७ गते बाबा गंगादत्त र आमा मन्दोत्तरी शर्माको कोखबाट जन्मिनु भएका ध्रुवलाल शर्माले १४ वटा साहित्यिक कृति प्रकाशन गर्नु भएकाे छ ।
पहिलो पटक २०१९ सालमा प्रकाश माध्यमिक विद्यालयको भित्ते पत्रिकामा आफ्नो रचना प्रकाशन गर्नुभएको थियो । विद्यार्थी जीवनमा नाटक तथा ब्यङ्ग्यमा अभिनय गर्नु भएका शर्मा लेखन र अभिनयकै कारण पटकपटक गिरफ्तारीमा पर्नुभएको थियो ।
कविता, कथा, खण्डकाब्य, गीतिकाब्य, मुक्तक, नियात्रा लगायतका शर्माका १४ पुस्तक प्रकाशन भइसकेका छन् भने अन्य १० पुस्तक प्रकाशोन्मुख रहेका छन् । शर्माका लेखरचनाहरु विभिन्न स्मारिका, साहित्यिक पत्रपत्रिका, भित्ते पत्रिका लगायतमा फुटकर रुपमा प्रकाशन भए पनि २०६२ पछि पुस्तककार स्वरुपमा प्रकाशन गर्न थाल्नु भएको थियो ।
विद्यार्थी काल पछि वि.सं. २०३२ सालमा शिक्षकहरुको सुविधाका लागि भएको आन्दोलनमा शर्मा पहिलो पटक गिरफ्तार हुनु भएको थियो । शर्मा भन्नुहुन्छ –‘शिक्षक संगठन स्थापना हुनु भन्दा पहिला शैक्षिक समस्याका बिरुद्धमा आन्दोलन थियो, त्यही आन्दोलनमा म गिरफ्तार भएको थिएँ ।’ १२ पटक भन्दा बढी हिरासतमा पर्नु भएका शर्मा पाँच पटक जेल चलान हुनु भएको थियो ।
२०३४ असार ४ गते राजाको विरुद्धमा बेलुका ७ बजे देशैभर पर्चा छर्ने कार्यक्रममा म्याग्दीको बेनीमा गिरफ्तार हुनु भएको थियो । शिक्षण पेशाको शिलशिलामा नेपालगञ्जमा रहेको बेला जनमत संग्हमा बहुदल या निर्दलको भन्ने विषयमा आफैंले निर्देशन एवम् अभिनय गरेको नाटकलाई तयार गर्नु भयो सोही आधार बनाएर पुनः गिरफ्तारी भएको थियो ।
प्रहरी प्रशासनले २०३९ सालमा म्याग्दीको बेनीमा गिरफ्तार गरी १६ वटा अड्डा सार गर्दै नेपालगञ्ज जेलमा पु¥याएको शर्माको अनुभव छ । पञ्चायत कालमा प्रहरी प्रशासनले शर्मालाई पक्राउ पूर्जी विना नै गिरफ्तार गरी विभिन्न प्रकारका यातना दिएको थियो ।
पञ्चायतका विरुद्धमा आवाज बुलन्द गरेको आरोपमा उल्टो झुण्डाएर पैतालामा पिट्ने, आफैंलाई खाडल खन्न लगाएर घाँटीसम्म पुरिदिने, नङमा पिन ठोकिदिने लगायतका यातनाले आफ्नो विचार झन् बलियो र दृढ बन्दै गएको बताउनुहुन्छ । २०२५ सालमा प्रकाश माध्यमिक विद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (फेडेरेसन)को अध्यक्ष रहेका शर्मा म्याग्दीमा जन्म अनि अध्ययन भएको भए पनि उहाँले बाँकेमा रहेर अध्यापन तथा अन्य सामाजिक कार्य पनि गर्नु भएको थियो ।
२०३६ सालमा बाँकेको खजुराको प्रभात क्लबका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । तीन वर्ष क्लब अध्यक्ष रहेका शर्माले बाँकेकै घोडा एक्का मजदुर संगठनको सचिव (२०३७–२०३९) को जिम्मेवारी निभाउनु भएको थियो । तत्कालीन पातलो मसालका सेक्रेटरी समेत बन्नु भएको थियो उहाँ बाँकेमा ।
तर पनि पार्टीको तर्फबाट कहिल्यै लाभको पदमा पुग्न भने सक्नु भएन । मसाल, जनमोर्चा, नेकपा एकिकृत, मोहन बैद्य नेतृत्वको नेकपा माओवादी अनि त्यस पछि नेत्रबिक्रम चन्दप्रति सहानुभुति राख्ने शर्मा अहिले भने साहित्यमै केन्द्रित हुनुहुन्छ ।
कम्युनिष्ट विचारधाराका शर्मा नेपाल कम्युनिष्ट पार्टी म्याग्दी र नेपाल शिक्षक संगठन म्याग्दीकोको संस्थापक सदस्य समेत हुनुहुन्छ । शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत हुनुभएको थियो । शिक्षण पेसामा संलग्न रहेका शर्मालाई कम्युनिष्ट विचारधारा अवलम्बन गरेकै कारण तत्कालीन सरकारले पटक पटक सरुवा गरेको थियो । शर्मा अध्ययन, खेलकुद, राजनीति र कलासाहित्य सबै क्षेत्रमा अब्बल हुनुहुन्थ्यो ।
अध्ययनकालमा शर्मा उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडीको रुपमा सम्मानित हुनुभएको थियो । शर्मा नेपाल रेडक्रस सोसाइटीसँग पनि आबद्ध हुनुहुन्थ्यो । उहाँले अध्यापनको समयमा प्रकाश माध्यमिक विद्यालयमा लामो समयसम्म रेडक्रस शिक्षक नायकको रुपमा कार्य गर्नुभयो भने साहित्य विभागको संयोजक समेत हुनुहुन्थ्यो । उहाँ रेडक्रसको जिल्ला शाखाको जुनियर÷युवा सर्कल संयोजकका, उपमन्त्री लगायत विभिन्न पदमा रही कार्य गर्नुभएको थियो ।
म्याग्दीमा नाटक मञ्चन गर्दा बालकृष्ण पौडेल र ध्रुवलालको जोडीले नाटक देखाउने गर्थे । उनीहरुको जोडीलाई तत्कालीन समयमा ‘धु्रवा’ जोडी भनेर चिन्थे । उहाँको टिम म्याग्दीमा मात्र नभएर कमिक प्रदर्शनकै लागि बागलुङ, पर्वत लगायतका ठाउँमा पुग्ने गरेको उहाँ बताउनुहुन्छ ।
तत्काली अवस्थामा ध्रुवलाल जब कुनै कार्यक्रममा मञ्चमा पुग्नुहुन्थ्यो हाँसोको फोहोरा छुट्ने गरेको अग्रजको भनाइ छ । ध्रुवलालले परिकल्पना गरी तयार गरेका विभिन्न नाटकहरुमा याम श्रेष्ठ, सुवास श्रेष्ठ, मनोहर श्रेष्ठ, प्रदिप श्रेष्ठ, प्रेमबहादुर हमालहरुले मञ्चन गर्नु भएको थियो । तत्कालिन अवस्थामा प्रहरी प्रशासन अनि अदालतलाई पनि ब्यङ्ग्यको शिकार बनाएका शर्मालाई २०४२ सालमा अदालतको मानहानीको मुद्दा लागेको थियो ।
“तत्कालीन अवस्थामा पुरुषहरुले महिलालाई गरेको शोषणलाई चित्रित गर्दै महिलालाई मात्र बोलाउने प्रसंगमा अदालतले पनि छोरी नै बोलायो भन्ने प्रसंगमा ब्यङ्ग्य गर्दा मुद्दा लागेको थियो” शर्मा सम्झनु हुन्छ । कम्युनिष्ट विचार बोकेकै कारण तत्कालीन माओवादी द्वन्द्वको समयमा शर्मालाई शाही नेपाली सेनाले समेत पटक पटक शारीरिक तथा मानसिक यातना दिएको थियो, जुन घटनाहरु जेल जीवन यात्रा पुस्तकमा शर्माले उल्लेख गर्नुभएको छ ।
नेपाली सेनाको अर्थुङ्गेमा रहेको ब्यारेकको पोष्टमा सिपाही ड्युटीमा रहेको समय सिपाहीको बन्दुकको गोली छुट्यो र एक बालिकाको मृत्यु भयो । उक्त समय स्थानीयहरु आन्दोलित भएर सेनाले प्रयोग गर्ने पानीको पाइप काटिदिए । उक्त घटनाको समाचार नागरिकको पक्षमा नआएको भन्दै शर्माले पत्रकारकै खेदो खन्नुभएको थियो ।
उहाँले राजा, पञ्चायतको मात्र होइन पत्रकारको पनि धज्जी उडाउनु भयो तर पनि उहाँ कहिल्यै पनि कुनै त्यस्तो लाभको पदमा पुग्नु भएन । शर्माका आमाको सम्झना कविता सङ्ग्रह, यौटा कथाको कथा (कथा सङ्ग्रह), खोरभित्रको स्वर (गितीकाब्य), तस्बीरहरु (कविता सङ्ग्रह) प्रतिच्छाया कविता सङ्ग्रह, कोख र काख (खण्डकाब्य), जीवन र जेल (यात्रा संस्मरण), खोरभित्रको स्वर (गीतिकाव्य भाग–२), दृष्टि (मुक्तक सङ्ग्रह), आक्रान्त आवाज (आलेख), यात्राका अनुभूति (नियात्रा), रक्त रेखा (कविता सङ्ग्रह), चिताको काखमा (कविता सङ्ग्रह) र बह (गिती सङ्ग्रह) गरी १४ कृति प्रकाशन भएका छन् । साभार गोरखापत्र अनलाइन
पत्रकारले लेखेको चित्त नबुझेपछि शर्माले लेखेको कविता
“...सैतानी सेवाको निम्ति
दलीय माउहरु लगलगी काँप्न सक्छन्
पत्रकारी च्याउहरु उल्टो छाप्न सक्छन्
दाम र मामको च्याँखे थाप्न
तिम्रो नाम र गाम ढाँट्न सक्छन्
रगतको आहालमा तड्पिरहेको
क्षतविक्षत तिम्रो तन काट्न सक्छन्
पित पत्रकारिताको निकृष्ट नमुना दिएर
यसरी नै जल्लादको जुठोपुरो चाट्न सक्छन् ।…”