म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको बगुवाखोलामा सञ्चालित बाल जागृति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयका पूर्व विद्यार्थी स्वर्गीय डेबिड काउचाको स्मृतिमा एक समिति गठन गरी प्रारम्भिक अक्षयकोष स्थापना गरिएको हो ।

२०७६ साल असार १७ गते म्याग्दी नदीले बगाउँदा मृत्यु भएका स्व. काउचाको स्मृतिमा एकलाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

उक्त अक्षयकोषको व्याजबाट बाल जागृतिमा सञ्चालित बौद्धिक अपाङ्गता बालबालिकाहरुको लागि कल्याणकारी काम गर्ने, विद्यालयको शैक्षिक उन्नयन र विभिन्न रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्ने उद्देश्य राखिएको विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले बताए ।

उक्त अक्षयकोषलाई क्रमिक रुपमा वृद्धि गर्दै लैजाने लक्ष्य समेत रहेको छ भने स्व. डेबिड काउचा स्मृति अक्षयकोषको संरक्षक कजिना घर्तीमगर रहेकी छन् । अक्षयकोष सञ्चालन समितिको अध्यक्षमा भक्त कार्की, सचिवमा बबिता घर्तीमगर र कोषाध्यक्षमा धनबहादुर क्षत्री रहेका छन् । यसैगरी समितिका सदस्यहरुमा मनिसा न्यौपाने, अमृता पौडेल, गेमबहादुर घर्तीमगर, मनकुमारी कार्की, अमिता पुन र आदेवी घिमिरे रहेको जनाइएको छ ।

Leave a Reply