दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका बेनी नगरपालिका-५,भीरमुनीका रिमे परियारको ढाडमा नसा च्यापिएपछि लामो समयसम्म उठ्न र बस्न नसक्ने अवस्थामा पुगे।
कोरोना संक्रमणको जोखिमसँगै लामो समयसम्म भएको लकडाउनले मजदुरीको बाटो बन्द भएपछि चुल्हो निभ्न थाल्यो । घरबाहिर गएर कमाएर ल्याउने मुख्य मान्छे नै बिरामी भएर थलिएपछि घरखर्च समेत छैन् ।
आर्थिक अभावका कारण धेरै दिन भोकभोकै सुतेका रिमेले चुल्होमा आगो बोल्दा तीन छोराछोरी खुसी हुने गरेको बताउँछन्।
‘घरमा यतिबेला रोगको डरसँगै भोकको पीडा पनि उस्तै छ,‘भोकभोकै मरिन्छ कि भन्ने डर छ’ परियारले भने । उनले श्रीमतिसँगै भोकै पनि दुईचार दिन बस्न सक्ने भएपनि स–साना छोराछोरी भोक लाग्यो भनेर कराउँदा रातभरी निन्द्रा नलाग्ने बताए ।
‘छोराछोरी मध्यरातमा भोकले कराउन थाल्छन्,‘मेरो घरको अवस्था तपाईले आफै भित्र गएर हेनुहोस्’ रिमले आफ्नो दुई कोठे टिनको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा र सुत्ने ठाउँ देखाउँदै भने।
परिवारको गुजरा चलाउन श्रीमती शोभालाई मजदुरीमा पठाउने गरेको अवस्थामा श्रीमतिको कमाईले एक छाक पेटभरी खान नपुग्ने रिमेको भनाई छ । मजदुरीबाट घर खर्च नचलेपछि मागेर गुजारा चलाएपनि कैयौं रात भोकै सुत्नु परेपछि छोराछोरीको अनुहारलाई हेर्न नसकेर पटक–पटक आत्महत्याको सोच समेत पलाएको उनले बताए।
‘कमाएर खुवाउन सक्ने अवस्थामा छैन्,‘सहयोग आउन ठाउँ नै भेटेको छैन’ उनले भने। बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ताले पिरोल्ने गरेको उनले बताए । रिमेका १२ बर्षिया छोरी किरण, १० बर्षिया रितु र ४ बर्षिय छोरा रितिमसँगै साँघुरो कोठामा श्रीमति भुईमा सुत्छिन् ।
कोठामा रहेको खाटमा ओच्छाउने पातलो दस्ना, पुरानो सिरक र सिरानी बिरामी बुबालाई छुट्टाएर आमासँगै चिसो भुईमा गुन्द्री ओच्छाएर सुत्ने गरेकोको छोरी रितुको भनाई छ । ‘विरामी बुबाले कमाउन सक्नुहुन्न,‘‘धेरै रात खाली पेट सुत्नुपर्छ’ उनले भनिन् ।
पढ्ने कपिकलमको अभावले पढ्न नपाएको उनको भनाई छ । उनले पेटभरी भात खाएर बस्ने धोको रहेको सुनाईन् । यता स्थानीय महिला स्वयंमसेविका राजकुमारी परियारले चामल, दाल, नून, तेल सहयोगले धेरै राहत हुने बताईन् ।
उनले वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नगरपालिकाबाट १४ हजार ५ सय उपलब्ध गराएको बताउँदै उक्त रकमले लामो समयसम्म बिरामी अवस्थामै खाद्यान्न जुटाउन सहज भएको बताईन् । उनले दलित बस्ती भिरमुनीमा लकडाउनले रोजगारी गुमेपछि हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा सहयोगको आवश्यकता रहेको बताईन् ।