यतिबेला २०७६ सालको एसइइको नतिजालाई लिएर राष्ट्रियदेखि स्थानीय मिडिया र सामाजिक सञ्जालहरूमा विभिन्न चर्चा परिचर्चाहरू भइरहेका छन् । कोभिड–१९ को महामारीका कारण स्थगित भएको परीक्षा अन्ततोगत्वा विद्यालयमा लिइएको अन्तिम आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेको थियो ।
विषम परिस्थितिका कारण परीक्षा हुन सकेन, परीक्षा केन्द्रमा तयारीका साथ पुगेका विद्यार्थीहरू परीक्षा नै दिन नपाई फर्कनुपरेको थियो । जब एसइइ नतिजा प्रमाणीकरण पश्चात् अघिल्लै वर्षको तामझामझैँ सार्वजनिक गरियो –‘कोरोना ब्याच’, ‘परीक्षा नै नदिई ल्याएको जिपिए’ भनेर निर्दोष विद्यार्थीहरूमाथि प्रहार गर्ने काम भयो । बालमस्तिष्कमा सधैँभरि हीनताबोध हुने गरी आक्षेप लगाउनेहरूले आपूm पनि कुनै समय विद्यार्थी थिएँ भनेर सोच्नसम्म नभ्याउनु दुर्भाग्य हो ।
समाचार टिपणी
विद्यार्थीहरू दस दस वर्षको आफ्नो मिहिनेतलाई परीक्षाको कसीमा जाँच्न परीक्षा केन्द्र पुगेकै हुन् । कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले अन्तमा भए पनि परीक्षा स्थगित गरेको हो । तत्काल विद्यार्थीहरूले ‘हत्तेरी’ भने तापनि स्वास्थ्य नै जीवन हो ।
परीक्षा त फेरि दिए पनि भइहाल्छ भन्ने कुरा बुझेर सामान्य रुपमा लिएकै हुन् । महामारीले झन् उग्र रूप लिएपछि पुनः परीक्षा सञ्चालन गर्ने स्थिति नभएपछि सरकारले विद्यालयकै आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेको हो । जुन निर्णय नै विद्यार्थीहरूको हितलाई ध्यानलाई राखेर गरिएको निर्णय थियो ।
त्यसपछि वर्षौँदेखि आफ्ना विद्यार्थीहरूको मूल्याङ्कन गर्दै आएका शिक्षकहरूले नै विषयगत मूल्याङ्कन गरी प्राप्ताङ्क राष्ट्रिय परीक्षा बोर्डमा पठाएका हुन् र राप बोर्डले त्यसैलाई प्रमाणीकरण गरेको हो । पुनः परीक्षा सञ्चालन गरेको भए पनि विद्यार्थीहरू त तयारै थिए । उनीहरूले परीक्षा दिन्नौँ भनेर कहिल्यै भनेका थिएनन् । अनि उनीहरूलाई दोषी करार गर्ने किन ? यो नै गम्भीर प्रश्न हो ।
कोभिड–१९ महामारीका कारण बालबालिकाहरूको शिक्षा अस्तव्यस्त बनेको छ । जताततै आशङ्का र त्रास छ । पाका मानिसहरू त त्राहीमाम छन् भने ती अबोध बालबालिकाहरूको दिमाग भयले कति विक्षिप्त बनेको होला ? त्यो देखिने कुरा होइन ।
त्यो ठाउँमा आपूmलाई उभ्याउन सक्ने मानिसले मात्र महसुस गर्न सक्छ । यस्तो अवस्थामा पनि एउटा परीक्षाको नतिजालाई लिएर तिनै बालबालिकाहरूलाई होच्याउने काम विल्कुल असामाजिक र गैरसंवैधानिक काम हो ।
शिक्षा, स्वास्थ्य र संरक्षणको हक बालबालिकाका संवैधानिक मौलिक हक हुन् । कम्तीमा पनि बालबालिकालाई दोषी करार गर्ने अभिभावकहरू र सामाजिक, शैक्षिक सरोकारवालाहरूले यसबारेमा सोच्नु अनि बुझ्नु जरुरी छ ।
आजका बालबालिका नै भोलिका असल नागरिक हुन्, स्वयम्मा समाज हुन् र राष्ट्र हुन् । दुईचार शब्द लेख्न जानियो भन्दैमा, बोल्न जानियो भन्दैमा भोलिका कर्णधारहरूलाई हीनताबोधको पोखरीमा डुबाउने प्रवृत्ति हानीकारक छ ।
परीक्षा त एकपटक हुने कुरा होइन, विद्यालयमा मात्र हुने कुरा पनि होइन जिन्दगीमा कैयौँ अप्ठ्यारा परीक्षाहरू दिनुपर्ने हुन्छ र ती परीक्षाहरूमा सफलता प्राप्त गर्नुपर्ने हुन्छ । आजको मूल्याङ्कनका अङ्कहरूले जिन्दगीको गुणाङ्कमा खासै ठूलो अर्थ पनि राख्दैनन् ।
त्यसकारण एउटा मामुली परीक्षाको ग्रेड र ग्रेड प्वाइन्टलाई हेरेर बालबालिकाको भविष्य बताउने ज्योतिषी बन्ने चेष्टा कसैले नगरौँ बरु सकिन्छ भने उनीहरूलाई हौसला प्रदान गरौँ । बधाइ ज्ञापन गरौँ । आगामी सफलताको शुभकामना व्यक्त गरौँ । त्यति पनि गर्न मन लाग्दैन भने चूप बसौँ । यसैमा सबैको कल्याण हुनेछ।