प्रमुख विपदका रुपमा देखिएको बाढीपहिरोको बढ्दो प्रकोपले म्याग्दीमा बर्सेनि ठूलो जनधनका नोक्सानी हुने गरेको छ । बाढीपहिरोको कारण असार यता म्याग्दीमा २८ जनाको ज्यान गएको छ भने ५ जना बेपत्ता छन् । विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी हुन नसक्दा हरेक वर्ष अकालमै ज्यान गुमाउनुपरेको छ।
प्राकृतिक विपद् भन्दा मानव सृर्जित गतिविधिले म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रमा ज्यान गुमाउनुपरेको छ । बेनी नगरपालिका सहित ५ वटा गाउँपालिकामा रहेका ४५ वडाका बासिन्दा बाढीपहिरोको जोखिमबाट मनसुनको समयमा सधै त्रसित अवस्थामा बस्नुपरेको छ। हरेक बर्ष जोखिमको प्रमुख कारण अपनाएको विकासको मोडल नै मानिन्छ ।
सडक विस्तारमा गरिएको हानथापकाले वर्षायामको त कुरै भएन अन्य समयमा समेत ठूलो वर्षा भयो भने बाढीपहिरोको समस्याले समेत विकासे मोडलान गम्भीर त्रुटि रहेको पुष्टि हुन्छ । बेमौसमी बर्षाले पनि कतै न कतै दुःखद घटना भइरहेको छ ।
हरेक बर्ष बाढीपहिरो पीडितको उद्धार, आकस्मिक सहायता र पुनःस्थापनामा सरकारी निकायसँगै सामाजिक संघसंस्था, प्रवासीहरु सक्रिय हुन्छन् तर, उद्धारको चरण सकिएपछि सरकारी सक्रियता बिस्तारै शिथिल हुँदै जान्छ र पुनःस्थापनासम्म बिरलै पुग्छ ।
म्याग्दी र कालिगण्डकी नदी बाहेक नियमित बग्ने साना र खहरे खोलामा तटबन्ध नगर्ने, भिरालो जमिन, कमजोर माटो, बस्तीमाथिका पहाडहरूमा डोजर लगाउने, सडक विस्तारमा जथाभावी माटो फाल्ने प्रबृत्तिले अनपेक्षित बर्षाले बर्सेनि दुःखद प्राकृतिक विपत्ति भोग्नुपरेको अवस्था हो ।
बस्तीमाथि डोजर चलाएर बस्तीबाट आफुँलाई नै जिताएर पठाएका जनप्रतिनिधिले बाढीपहिरो चलाएर उठिबास बनाएका छन् । शासकहरूले दिमाखमा कहिल्यै जनताको समस्या पस्न सकेको छैन् । आफ्नै हेलचेक्याँई, लापरवाहीका कारण ठूलो मात्रामा धन जनको क्षति भइरहेको हेक्का राख्न नसक्नु दुखद् विषय हो।
जनप्रतिनिधिको इसारामा चल्ने प्राविधिकको कमजोरीले समेत विपत्तिले विकराल रुप लिएको छ । प्राकृतिक विपद्लाई निर्मूल नै गर्न सकिँदैन । तर सावधानी अपनाइयो भने केही हदसम्म कम गर्न भने सकिन्छ ।
बाढी र पहिरोको जोखिम भिरालो जमिन र तटीय क्षेत्रमा डोजरे विकासलाई प्रतिबन्ध लगाउने, जोखिम मानिएका क्षेत्रमा रोकथाममा नियमित बजेट विनियोजन गर्ने, बस्ती आसपासबाट सडक विस्तारमा रोक, पुराना र नयाँ सडकमा वातवारणीय संरक्षणको मापदण्डलाई पूर्णरुपमा कार्यान्वयनमा आवश्यक संकल्प, दृष्टिकोण र क्षमता देखाउनुपर्छ ।
अर्कोतर्फ गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकाको पहिरोमा ज्यान गुमाउने अधिकांसलाई प्राकृतिक विपत्तीबाट कसरी बाँच्ने र बचाउने भन्ने बारेमा समान्य जानकारी समेत नहुदाँ ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गरी मानव र प्राकृतिक विपदका समयमा बच्ने र अरुलाई बचाउन पूर्व तयारी बारे सचेतनामुलक कार्यक्रम सञ्चालन आवश्यक छ ।
भूकम्पबाट बच्ने उपायका बारेमा जसरी विद्यालयका विद्यार्थीदेखि समुदायसम्म सन्देश प्रवाह गरिएको छ त्यसैगरी प्राकृतिक विपत्तीबाट जोगिन समेत स्थानीय सरकारमार्फत नै अभियानको रुपमा सञ्चालन गर्नुपर्छ । बाढीपिहिरो कतिवेला, कत्रो जान्छ भन्ने ठ्याक्कै अनुमान लगाउन सकिँदैन, त्यसैले घटेका घटनाकाबाट पाठ सिकेर थप योजना सहित अगाडी बढ्नुको विकल्प छैन् । अब बाढीपहिरो पीडितको बिचल्ली नहोस् भन्ने तर्फ सबै सरोकारवालाको ध्यान जान आवश्यक छ । बेनी साप्ताहिकबाट