कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक उपकरणहरू बनाइरहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महावीर पुनले नेपाल सरकारले कोरोनाको महामारीसंग युद्धस्तरमा जुध्न गरेको प्रयासहरू प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
केन्द्रबाट पिपिई,कोरोना बुध, एरोसोल बक्स, मास्क लगायतका साम्रागीहरू बनाएर देशभर वितरण गरिरहेका यूवा बैज्ञानिक पुनले कोरोना बिरुद्धक आवश्यक सामान खरिदमा एकदमै ढिला गरेर चालेको कदमहरू प्रभावकारी नदेखिएको बताउँदै संकटपूर्ण घडीमा आवश्यकता पूरा गर्न तत्कालै कदम चाल्ने गरी काम गर्नुपर्ने बताए । ‘केन्द्रमा दैनिकजसो फोन आइरहन्छ,‘बादविवादमा अल्झिने समय होईन्’ पुनले भने ।
उनले समस्याको समाधान निकालेर र तत्कालै कदम चाल्नु पर्ने युद्धजस्तो स्थितिको भएको बताए । केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवनमा काम भइरहेको अवस्थामा पछिल्लो समय कोरोना भाइरसँग लड्ने साम्रागी बनाउनै केन्द्रित छ । पुनले कोरोना बिरुद्ध लड्न सरकारलाई यस्तो सुझाव दिएका छन् । केन्द्रमा उत्पादन गरेको बुथ, पिपिई लगायतका आवश्यक साम्रागीहरु देशभर प्रयोग भइरहेका छन् ।
पुनले कोरोना बिरुद्ध लड्न सरकारलाई यस्तो सुझाव दिएका छन् ।
यसो गरेको भए कसो हुन्थ्यो ? राम्रोसंग पढ्नुहोस् त ….नेपाल भरिका अस्पतालहरु, स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरु, सेना सहित सुरक्षाकर्म्रीहरु, बिभिन्न सेवामा कार्यरत कामदारहरु, नेताहरु, प्रशासकहरु बाट अत्यधिक मात्रामा फोनमा राष्ट्रिय आविष्कार केन्द्रलाई आइरहेको PPE, कोरोना बुध, एरोसोल बक्स, मास्क सहित अन्य सामानहरुको अत्यधिक मागले गर्दा यसो गरेको भए कसो हुन्थ्यो होला भनेर सोच्न बाध्य भएको छु. गल्ति भएमा माफ पाउँ किन भने मलाई कानुन सम्बन्धि कुनै ज्ञान छैन.
नेपाल सरकारले कोरोनाको महामारी संग युद्ध स्तरमा जुध्नको लागी चाहिने सरसामानहरु खरिद गर्न एकदमै ढिलै गरेर चालेका कदमहरू प्रभावकारी देखिएनन्. मैले बुझे अनुसार यो संकटपूर्ण घडीमा सरकारले विद्यमान कानुनी दायरामा बसेर काम गर्ने प्रयास गरी रहेको छ. तर यो समय भनेको सामान्य अबस्थाको प्रशासनिक प्रक्रियाले काम गर्ने र वाद-विवाद गर्ने समय होइन. अहिलेको अबस्था जति सक्दो चांडो समस्याको समाधान निकालेर र तत्कालै कदम चाल्नु पर्ने युद्ध जस्तो स्थितिको अवस्था हो. यस्तो अबस्थामा निम्न अनुसारको कदम चालेको भए कसो हुन्थ्यो होला?
१. संघीय संसद्को अधिबेशन नभएको अबस्थामा अध्यादेश द्वारा द्रुतगतीमा अति आबश्यक स्वास्थ्य सामाग्रीहरु खरिद र ब्यबस्थापन गर्न कोरोना बिरुद्धको युद्ध तथा आपतकालीन अवस्थामा नागरिक व्यवहार तथा स्वास्थ्य सेवा संचालन सम्बन्धी अति आबश्यक ऐन जारी गर्ने
२. सो ऐन द्वारा कोरोनको महामारी संग जुध्नको लागी चाहिने अति आबश्यक सरसामानहरु पारदर्शी तरिकाले युद्ध स्तरमा निर्णय लिई खरिद गर्न र सबै सरकारी तह सम्म वितरण गर्नको लागी मात्र भनेर द्रुत गतिमा निर्णय लिई काम गर्न सक्ने र कार्यान्बयन गर्न सक्ने अधिकार सम्पन्न एउटा अति सक्षम टीमको गठन गर्ने
३. सो टीमको चयन सर्बपक्षीय बैठक बाट गर्ने. टीम बनाउंदा कुनै राजनैतिक पूर्वाग्रह नलिईकन अत्यन्तै ईमान्दार, निस्वार्थी, आबश्यकता अनुसार तुरुन्तै निर्णय लिन सक्ने र कठिन परिस्थितिमा पनि बिचलित नभैकन द्रुत गतिमा काम गर्न र गराउन सक्ने १५ जना जति सदस्यहरुको चयन गर्ने
४. सो टीममा मोटामोटी निम्न अनुसारको सदस्यहरुको व्यवस्था गर्ने र कामको जिम्मा दिने.
(क) सामान खरिद गर्नको लागी जी२जी को समन्वय गर्न सक्ने सक्षम सदस्यहरु – ३ जना
(ख) अति आबश्यक सामानहरुको विवरण तयार गर्न सक्षम सदस्यहरु – ३ जना
(ग) तयार गरिएको विवरण अनुसारको सामानहरु खरिद गर्न र आर्थिक कारोबार हेर्न सक्षम सदस्यहरु – ३ जना
(घ) खरिद गरिएका सामानहरुको लजिस्टिकको व्यवस्था द्रुत गतिमा गर्न सक्ने सक्षम सदस्यहरु – ३ जना
(ङ) खरिद गरेर ल्याईएको सरसामानहरु प्रदेश र स्थानीय तहहरु सम्म वितरण गर्ने व्यवस्था मिलाउन सक्ने सक्षम सदस्यहरु – ३ जना
(च) हरेक टीमले आबश्यक परे अनुसार सहयोगीहरु नियुक्त गरेर काममा लगाउन सक्ने.
५. यसरी गठन गरिएको टीमले आबश्यक परे अनुसार सोझै प्रधानमन्त्री लाई अथवा प्रधानमन्त्रीले नियुक्त गरेको अधिकार सम्पन्न टीम लिडरलाई रिपोर्ट गर्ने, आबश्यक सल्लाह सुझाव दिने र निर्देशन लिने व्यवस्था गर्ने.
लौ मेरो छोटो र मुर्ख बुद्धीले यसो एक घन्टा जति घोत्लिंदा सोचेको कुरा यहि हो. मेरो सुझाबमा पक्कै पनि धेरै नै कमी कमजोरीहरु छन्. जान्ने सुन्नेहरुले थपथाप गरेर राम्रो बनाउनु होला भन्ने अनुरोध छ. यदि मेरो सुझाब हावा जस्तो लागेमा हावा मै उडाई दिनु होला. धन्यबाद.