विनय रेग्मी – लकडाउनकाे अवधिमा बैकिङ सेवा सुचारू गर्न निकै कठिन छ । कठिन अवस्थामा पनि अवसरहरू हुन्छन् । यतिबेला नगद काराेबार कठिन बन्दै गएकाे छ । याे अवस्थामा हामी मोबाइल बैंकिङ प्रवर्द्धन गर्नको लागि रणनीतिक रुपमा लागि रहेका छौं । डिजिटल बैंकिङ सम्बन्धी सचेतना गर्नको लागि हामीले विभिन्न च्यानलहरु प्रयोग पनि गरिरहेका छौं ।
पहिलो, मोबाइल बैंकिङबाट के–के गर्न सकिन्छ भन्ने मनासायले ग्राहकहरुसँग विभिन्न माध्यममार्फत सम्पर्कमा छौं । जस्तै विभिन्न प्रकारका सामाजिक संजालमार्फत डिजिटल बैंकिङ सम्बन्धी सचेतनात्मक सामग्रीहरु पस्किरहेका छौं । यसमार्फत हामी उहाँहरुलाई मोवाईल बैंकिङ चलाउन सिकाइरहेका छौं ।
दोस्रो, मोवाईल बैंकिङ सेवामा ग्राहकलाई आवद्ध गर्ने र यस एपलाई चलाउन प्रेरित गरिरहेका छौं । उक्त कार्यलाई सहज गराउन कल सेन्टर तथा डेडिकेटेड कार्यदलको प्रयोग गरेका छौं । कल सेन्टर तथा डेडिकेटेड कार्यदलमार्फत ग्राहकलाई यथाशिघ्र सेवा पनि दिइरहेका छौं ।
त्यसैगरी, तेस्रो चरणमा हामी बैंकका ग्राहकलाई मोवाईल बैंकिङमा देखिएका समस्या हल गर्नका निम्ति सपोर्ट गरिरहेका छौं । त्यसको लागि हामीले एउटा टोली बनाएका छौं । जसबाट दैनिक सयौंको सङ्ख्यामा ग्राहकलाई मोबाइल बैंकिङमार्फत मोवाइल बैंकिङ चलाउन सिकाउने तथा यसमा रहेका विभिन्न प्रडक्ट फिचर बुझाउने काम गर्छौं ।
यदि कुनै ग्राहकलाई गाह्रो वा मोबाइल बैंकिङ चलाउन समस्या भइरहेको छ भने हाम्रो कल सेन्टर वा डेडिकेटेड कार्यदलका सदस्यको डाइरेक्ट मोवाइलमा सम्पर्क गर्न सक्नुहुनेछ, हामी ग्राहकको समस्या यथासिघ्र समाधान गर्नेछौं ।
मोबाइल बैंकिङमा आकर्षण
लकडाउन भइसकेपछि हामी ग्राहकसँग झन बढी नजिक भएका छौं । लकडाउन हुनुभन्दा पहिले पर्याप्त समय नहुँदा ग्राहकलाई यस्तो समस्या आउन सक्छ भनेर भन्ने मौका नै पाएनौं । ग्राहकसँग समन्वय गर्ने समय पनि त्यति भएन ।
ग्राहकले सोच्नै नपाएको समयमा लकडाउन भयो । तर, हामीसँग धेरै ग्राहक थिए । उनीहरुले त्यसको सही प्रयोग गरिरहेका थिएनन् । प्यासिभ युजर नै बढी थिए । तर, धेरै ग्राहक अहिले सक्रिय भएका छन् । लकडाउन लगतै हामीले हाम्रो मोवाईल बैकिङ सेवा लिएका तर प्रयोग नगरी रहेका ग्राहकलाई फोन गरेर सेवा सम्वन्धी जानकारी दियौं । हजारौको सङ्ख्यामा कल गरेका थियाैं । धेरै ग्राहकहरु खुसी पनि हुनुभयो, यस्तो समयमा हामीलाई सूचित गराउनुभयो भनेर ।
अहिले धेरै मानिसहरु फुर्सदमा हुनुहुन्छ । धेरैजना सामाजिक सञ्जालमा भएको हुनाले हामीले सामाजिक सञ्जालमार्फत यो सेवा सम्बन्धी जानकारी दिइरहेका छाैं ।
यो समयमा माछापुच्छ्रे बैंक तथा समग्र बैंकिङको हिसावमा कूरा गर्ने हो भने मोबाइल बैंकिङका ग्राहकको संख्या त्यति बढेको छैन । नम्बर नबढे पनि एक्टिभ युजरर्स भने बढेका छन् । पहिले एक्टिभ युजरर्सहरु कम थिए । म यस्तो सुविधा लिन्छु भन्ने खालका ग्राहक अहिले बल्ल आउनु भएको छ ।
पहिले १ सय जना मोबाइल बैकिङ भएका ग्राहक हुन्थे भने त्यसमा २० जनामात्र एक्टिभ युजरर्स हुन्थे । तर, अहिले सेवा सूचारु गर्ने शतप्रतिशतले नै मोबाइल बैंकिङमार्फत कारोबार गरिहनु भएको छ ।
कतिपय मानिसलाई अहिलेसम्म एप्लिकेसन चलाउन आएको थिएन । अहिले फुर्सद भइसकेपछि घरपरिवारमा बुबाआमालाई छोराछोरीहरुले पनि मोबाइल बैंकिङ सिकाइरहेका छन् ।
कतिपयले पहिलेको पासवर्ड बिर्सिसक्नु भएको रहेछ । उहाँहरुको पासवर्ड रिसेट गरिदिने लगायतका सेवाहरु दिएर हामी सहयोग गरिरहेका छौं । पहिलेका प्यासिभ युजरहरु अहिले एक्टिभ भएर मोबाइल बैंकिङको एप्लिकेसन चलाउन थाल्नुभएको छ ।
माछापुच्छ्रे बैंकको हालसम्म करिब ४ लाख ५० हजार मोबाइल बैंकिङका ग्राहक छन् । करीव ३५ हजार ग्राहक इन्टरनेट बैंकिङ चलाउने छन् । कार्ड प्रायोगकर्ता करिब दुई लाख ५० हजार छन् ।
मोबाइल बैंकिङमा के–के गर्न पाइन्छ ?
मोबाइल बैंकिङमार्फत ग्राहकले धेरै काम गर्न सक्नुहुनेछ । जसले ग्राहकको खर्च कम हुन्छ । जस्तै बिजुलीको बिल तिर्न क्युआरहरु पेमेण्ट गर्न, प्लेनको टिकट काट्न, इन्टरनेट, टिभी, खानेपानी, बीमा शुल्क, स्कूल कलेजकाे फि तिर्न लगायतका बिल तिर्न सकिन्छ । खासगरी माछापुच्छ्रे बैंकको एपमार्फत फिक्स डिपोजिट पनि गर्न सकिन्छ । मोवाईल मार्फत फिक्स डिपोजिट गर्दा ०.५ प्रतिशत प्रिमियम पनि प्रदान गरिरहेका छौं ।
मोबाइल बैकिङका विशेषताहरु
माछापुच्छ्रे बैंकलगायत धेरै बैंकले प्रयोगमा ल्याएका मोबाइल बैकिङबाट आफ्नै र अन्य विभिन्न बैंकहरुमा पैसा पठाउन सकिन्छ । त्यसबाट एनटीसी, एनसेलको मोबाइल रिचार्ज गर्न, क्रेडिट कार्डको विल भुक्तानी गर्न, वालेज टपअप गर्न, आफ्नो खाताको स्टेटमेन्ट हेर्न तथा क्युआरकोड मार्फत मर्चेन्ट पेमेन्ट पनि गर्न सकिन्छ ।
मैले माथि उल्लेख गरेको माछापुच्छ्रे बैंकको मोवाईल बैंकिगको एउटा विशेषता भनेको हाम्रो मोबाइल बैकिङमार्फत फिक्स डिपोजिट पनि खोल्न सकिन्छ । न्यूनतम ५० हजार रुपैयाँदेखिको रकम ग्राहकले आफ्नो अनुकुल समयमा मुद्दती निक्षेपमा राख्न सक्नुहुन्छ ।
एक लाखसम्मको कारोबार
विभिन्न मिडिया मार्फत, ग्राहकले पैसावाट पनि कोरोनाको संक्रमण हुने थाहा पाएपछि, पैसाको प्रयोग घट्दै गएको मैले पाएको छु । सकेसम्म र सम्भव भएसम्म ग्राहकले क्युआर, पिओएस तथा विभिन्न वालेटको प्रयोग गरिरहेको पाइएको छ ।
विभिन्न सुपरमार्केट, अनलाईन सप, तथा पसलहरुले पैसाको विकल्पको रुपमा डिजिटल पेमेन्टलाई लिइरहनु भएको छ । हालको लागि अति उपयोगी पेमेन्ट अप्सनको रुपमा क्युआरलाई लिन मिल्छ । सहजै पेमेन्ट गर्न सकिने तथा संक्रमणको डर पनि नहुने भएकाले । अनलाइन डेलिभरी सुरु गर्नुभएको व्यापारीहरुले पनि यसलाई अत्याधिक रुपमा प्रयोग गरिरहनु भएको छ । उहाँहरुले घरमै क्युआर लिएर कारोबार गरिरहनु भएको छ ।
हामीले ठूलो रकमको कारोबार गर्नेदेखि सानो दैनिक उपभोग्य सामान खरिद विक्री गर्नेसम्मका लागि यो सेवा प्रदान गरिरहेका छौं । मोबाइल बैंकिङ मार्फत ग्राहकहरुले दैनिक उपभोग्य वस्तु खरिद गर्नेदेखि दिनमा एकलाख रुपैयाँ तिर्न सक्ने तथा लोड गर्न सक्ने सुविधा छ ।
औचित्य, अवसर र जोखिम
करिब एक वर्षभन्दा अगाडि, जतिखेर क्युआर आयो, त्यतिखेर मोबाइल बैकिङलाई ट्रान्जेक्सन अलर्ट टूल्सको रुपमा मात्र हेरिन्थ्यो । अहिले विस्तारै पेमेण्टमा पनि मोबाइल बैकिङ हुन सक्छ भनेर मोबाइल बैकिङको प्रयोग राम्रो ग्रोथ रेटमा बढ्दैछ ।
अहिले पनि लकडाउन भइसकेपछि मानिसहरुलाई मोबाइल बैकिङ चाहिँदो रहेछ र यो क्यासअल्टरनेटिभ रहेछ भनेर सोच्ने फुर्सद भएको छ । यो हिसाबले हेर्दा लकडाउन पश्चात मोवाईल बैंकिग प्रयोगकर्ता अझै बढ्ने सम्भावना छ ।
मोबाइल बैकिङले मानिसको जीवनलाई सहज बनाइदिएको छ । विभिन्नखालको कष्टहरु घटाइदिएको छ । यो पेमेन्ट सर्भिससँग जोडिएर आउने विभिन्न कम्पनीहरुले बढी अवसर सिर्जना गरिहेका छन्, जस्तै वालेट । मोबाइल बैकिङको प्रयोग हुन्थेन भने नेपालमा धेरै वालेट सर्भिसहरु आउँथेन । उनीहरुको विजनेसले अहिले जसरी एग्रेसिभ रुपमा काम गर्थेन । यसको प्रयोग वाइड स्प्रेड हुने थिएन । तर, अहिलेको अवस्थामा जसरी मोबाइल बैकिङको प्रयोग बढ्दै गएको छ, त्यसरी नै अवसहरु पनि बढ्दै जानेछन् ।
बैंकलाई पनि ग्राहकहरु बैंकमा नै नआएर विभिन्न सेवा सुविधाहरु दिने अवसर पनि दिएको छ । यसले बैंकलाई कर्मचारी घटाउन अथवा जनशक्तिको कम परिचालन गर्न मद्दत पनि गर्न सक्छ । अर्कोतर्फ बैंकको खर्च कटौती गर्न पनि सहयोग गर्छ ।
विशेष गरी मोबाइल बैंकिङले बैंकहरुको अपरेशनल खर्च घटाउन ठूलो सहयोग गर्छ । यही अनुपातमा भविष्यमा एक्टिभ युजर बेस बढेको खण्डमा, बैंकहरुले प्रविधिमा ठूलो फड्को मार्ने अवसर प्राप्त गर्नेछन् । हालको विषम परिस्थितिले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ ।
मोबाइल बैकिङको मुख्य चुनौती यसको सुरक्षाको हो । यसको सेवा सुविधामा कति सुरक्षा हुन्छ भन्ने हो । यो प्रविधि हो, प्रविधिमा सानोतिनो रिक्स जहाँ र जहिले पनि हुन्छ । तर, यसलाइै बैंकहरुले न्युनिकरण तथा कम गरिरहेका छन्। हामी पनि त्यही अनुसार अगाडि बढिरहेका छौं ।
नेपालमा क्यासलेसको सम्भव
सरकारले पनि अहिले क्यासलेस भुक्तानीलाई फोकस गरिरहेको छ । लकडाउनको अवस्थामा, विशेषत सहरी क्षेत्रमा अहिले पनि क्यासलेस जस्तो भइसकेका छौं । अहिले मानिसलाई नगद समाउँदा पनि रिक्स छ । त्यसले पनि मोबाइल बैंकिङको अवसर सिर्जना गरिदिएको छ ।
हामी यो तीन हप्तासम्म क्यासलेस जसरी नै बसेका छौं, त्यो परिस्थिति मनन् गर्दा क्यासलेस भुक्तानी सम्भव छ । सरकारले क्यासलेसमा जाने निर्णय गरेमा अझ सहज हुनेछ । बानी पर्नको लागि केही समय अप्ठेरो महसुस हुन सक्छ । त्यो समयमा मानिसहरुले आफूलाई अपग्रेट गर्ने मौका पाउँछन् ।
नेपालमा स्मार्टफोन होल्डरहरुर बढी भएको कारणले पनि यो सम्भव छ । प्रतिशतको आधारमा हेर्ने हो भने बैकिङ प्रणालीमा आवद्ध हुनेहरुको संख्या पनि राम्रो छ । भारतको जति गाह्रो नहोला तर सम्भव अवश्य छ ।
विश्वसनियता
हामीले हाम्रो मोबाइल बैकिङ र इन्टरनेट बैकिङ आफैले उत्पादन गरेको प्रडक्ट नभए पनि किनेको प्रडक्ट हो । तर, ती सबै सेवाहरु हाम्रै बैंकमार्फत नै संचालित हुन्छ । आफ्नो बैंकको डेटाहरु पनि बैंककै अधिनमा र डेटा सुरक्षाको लागि उचित सुरक्षा प्रणाली अपनाइएको हुन्छ । उचित सुरक्षा प्रणाली, व्यवस्थित आन्तरिक नियन्त्रण प्रणाली र समय समयमा हुने ईन्टरनेट सेक्युरीटी अडिटले धेरै हदसम्म विश्वसनियता कायम गरी राख्दछ ।
त्यसैगरी, बैंकमा आउनसक्ने रिक्सहरुलाई हेर्न, भविष्यमा हुन सक्ने भवितव्यलाई न्यूनीकरण गर्न हामीले इन्भफरमेसन सेक्युरिटी अफिसर पनि राखेका छौं । यसका साथै, हाम्रो मोबाइल बैंकिङको विश्वसनियता के छ भनेर करीव १ बर्ष पहीले नै अन्तराष्ट्रिय मान्यताप्राप्त संस्थामार्फत ईन्टरनेट सेक्युरीटी अडिट गरी उनीहरुको परीक्षण विवरण बमोजिम जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गरिरहेका छौं । source: Bikashnews.com
(माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ विभागका नायब प्रमुख रेग्मीसँग सन्ताेष राेकायाले गरेकाे कुराकानीमा आधारित