स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको ‘गौमहोत्सव’ मा एक महिला अभियान्ताले १ लाख भन्दा बढी सहयोग गरेकी छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवलाई सफल बनाउने अभियानमा समेत सक्रिय आचार्यले १ लाख ११ हजार १११ सहयोग गरेकी हुन् । आचार्यले आफ्नो पञ्चधेनु गर्ने गरि थप २७ हजार नगद समेत दान गरेको आयोजकले जनाएको छ ।
विभिन्न सामाजिक संस्थामा सक्रिय आचार्यले धार्मिक मात्रै नभई एउटा सन्देश प्रवाह गर्ने महत्वपूर्ण अभियान भएकाले सहयोग गरेको बताईन् । पर्वतकै वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञमा अहिलेसम्म प्रतिब्यक्ति पाँच हजार ५ दाना दिनेको संख्या धेरै रहेको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
उनले प्रतिब्यक्ति ५ हजार दान गर्नेको संख्या १ हजारमाथि पुग्ने बताए ।‘महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ,‘पहिलो पटक गाईको महोत्सव गर्न लागेकाले धेरैबाट सहयोगको प्रतिबद्धता आएको छ’ उनले भने । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पनि गाईपाल तथा संरक्षणको लागि पहल गर्नुपर्ने बताए ।
स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले बताए ।
हिन्दु धर्मावलम्बीहरुको लागि गाई जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिने भएपनि लोप हुन लागेकाले संरक्षणको पहल भइरहेको बताए । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेकाले नयाँ पुस्तालाई समेत महायज्ञमा आर्कषित गरिएको मुल आयोजक समितिले जनाएको छ ।
गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएपनि नेपालमा गाईपालन प्रतिको आर्कषण घट्दै जान थालेपछि महायज्ञको आयोजना गरी धाईरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाब नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना समेत बनाएको छ ।