वर्ष बिराएर सयौंको आँखाको ज्योति नष्ट गरिसकेको आँखामा लाग्ने शापु रोगको मौसम आउनै लागेको छ। सतर्क हुनुहोस् है। यस रोगको संक्रमणले आँखाको ज्योति पूरै गुम्न सक्छ। हरेक वर्ष बिराएर प्रकोपको रूप लिने यो रोग भदौदेखि सुरु हुने चिकित्सक बताउँछन्।

‘गत वर्ष शापु फैलिएन, यो वर्ष फैलिने वर्ष हो, बेलैमा सचेत हुन आवश्यक छ,’ तिलगंगा आँखा अस्पतालकी नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्। डा. महर्जनका अनुसार यो रोग भदौदेखि कात्तिकसम्म बढी देखिन्छ भने अरू महिना फाट्टफुट्ट। यो रोग फैलिने वर्ष भएकाले अस्पताल उपचारका लागि तयारी अवस्थामा रहेको छ

‘हामी तयारी अवस्थामा छौं,’ उनले भनिन्। यस रोगले २०७४ सालमा प्रकोपको रूप लिएको थियो। यो रोग नुवाकोट, धादिङ, सिन्धुपाल्चोक र काठमाडौंमा बढी मात्रामा देखिने गरेको उनी बताउँछिन्। खासगरी पहाडी क्षेत्रमा बढी, तराई र हिमाली जिल्लामा कम मात्रामा यो रोग देखिन्छ।

के हो शापु रोग ?
शापु आँखाको ज्योति नै नष्ट गर्ने रोग हो। सेतो पुतली (मोथ) छोएको हात या अन्य कुराले आँखा छोए आँखाभित्र कीटाणु संक्रमण गर्छ। सो संक्रमित कीटाणुको छिटो उपचार नगरे आँखाको दृष्टि नै गुम्छ। खेतबारीमा पाइने सेतो  रङमा कालो धर्सा मिसिएको पुतलीले यो रोग ल्याउँछ। पुतलीबाट सर्ने यो कीटाणु स्टटोकोसनिमोनी स्टाफओरियन्स हो। यही कीटाणु संक्रमण भयो भने आँखाको ज्योति गुम्छ। तर कतिपय अवस्थामा सो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखिने भएकाले हालसम्म यस रोगको खास कारण यही हो भनेर पत्ता नलागेको चिकित्सक बताउँछन्।

नेपालमा यस रोगको अवस्था
चिकित्सकका अनुसार नेपालमा यस रोगबारे जनचेतना नहुँदा हरेक वर्ष दर्जनौंको आँखाको दृष्टि गुम्ने स्थिति देखिन्छ। नेपालमा भदौदेखि कात्तिकसम्म सो पुतली देखिन्छ। तिलगंगामा दुई वर्षअघि यो रोग लागेका बिरामी ३५ जना आएका थिए। सो वर्ष प्रकोप थियो। हरेक प्रकोपमा शापु संक्रमितमध्ये ५० प्रतिशतको आँखाको ज्योति गुम्ने गरेको डा. मानन्धर बताउँछिन्। शापुले नेपालमा हालसम्म तीन सयजना भन्दा बढीलाई असर गरिसकेको छ। संक्रमित कतिपय उपचारमा पुग्न सकेकै हुँदैनन्। यो रोग अन्यको तुलनामा  बालबालिकामा बढी देखिन्छ। यो रोग ५० प्रतिशत पाँच वर्षमुनिका बालबालिकामा देखिन्छ। नेपालमा यो रोग २०३२ सालदेखि देखा परेको हो। यो रोग लागेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नपाए आँखाको दृष्टि गुम्ने सम्भावना बढी हुन्छ। रोग लागिसकेपछि आँखा रातो हुने तर चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसकिने, आँखा चिम्लेर बस्नु पर्नेजस्ता समस्या देखिन्छन्। ठूला मानिसमा संक्रमण भए आँखा दुख्ने र हेर्न नसकिने डा. मानन्धरको भनाइ छ। यो रोग लाग्दा एउटा मात्र आँखा रातो हुन्छ।

कसरी गुम्छ ज्योति ?
आँखाको नानी (कर्निया), आइरिस या लेन्सभन्दा ठ्याक्कै पछि अड्किएको अवस्थामा थाहा हुन्छ। शापु कडा रूपमा संक्रमण भयो भने ज्योति गुम्छ। पुतलीको रौं आँखाभित्र छ या छैन भन्ने कुरा थाहा हुन्छ। रेटिनाको कुना काप्चामा छ भने देखिँदैन। यस्तो घटना कुल बिरामीमध्ये १० प्रतिशतमा देखिन्छ। बिरामीमध्ये कतिपयमा भने झुसिलकिराको झुस पनि परेको देखिन्छ। परीक्षणपछि मात्र चिकित्सकले झुसिलकिराको झुस हो या पुतलीको भनी पहिचान गर्छन्

लक्षणहरू
– एक्कासि एउटा आँखा रातो  हुनु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी आउनु, आँखाको दुखाइ सामान्य या बढी हुनु, उपचारमा ढिलाइ भएमा नानीमा सेतो देखिनु।

उपचार

डा. मानन्धरका अनुसार बच्चाको या ठूला मानिसको आँखा रातो हुनेबित्तिकै केही घण्टामै ल्याउनसके उपचार गर्न सकिन्छ। शापु भएको भन्ने कुरा बिरामी आफैंलाई थाहा नहुने हुनाले जुनसुकै कारणले एउटा आँखा रातो हुने र तुरुन्तै देख्नमा कमी भएमा छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ। यसको लक्षण बालबालिकामा भन्दा ठूला मानिसमा छिटो थाहा पाउन सकिन्छ। एउटा मात्र आँखा रातो हुने भएकाले यस्तो अवस्थामा आँखा पाक्ने  रोग नभएर शापु हुने सम्भावना बढी हुन्छ।

२४ घण्टाभित्रै अस्पताल पु¥याउनसके कुनै न कुनै उपाय लगाएर उपचार गर्नसकिने डा. मानन्धर बताउँछिन्। आँखामा कीटाणु संक्रमण भएको केही हप्तापछि आँखाको पर्दा फाट्न थाल्छ। यस्तो अवस्थामा पनि शल्यक्रिया गरेर उपचार गर्न सकिन्छ। तर यो रोगको उपचार उपत्यकाबाहिरका अस्पतालमा सम्भव नभएकाले सकेसम्म तिलगंगा आँखा अस्पतालमा ल्याउनुपर्छ। यो रोगको उपचारमा शल्यक्रिया छिटो गर्नुपर्ने हुनाले सकेसम्म खाली पेटमा ल्याउनुपर्छ। खाली पेट नभएमा शल्यक्रिया गर्न थप सयम कुर्नुपर्ने भएकाले उपचारमा ढिला हुने डा. मानन्धरको सुझाव छ।

बच्ने उपाय
– सेतो पुतली (मोथ)को संसर्गबाट बच्ने, धेरै उज्यालो बत्ती नबाल्ने, साँझ र राति झ्यालढोका बन्द गर्ने, सम्भव भएसम्म झ्यालढोकामा जाली हाल्ने, सुत्ने कोठामा बत्ती निभाउने वा मधुरो बत्ती बाल्ने, सकेसम्म झुल टाँगेर सुत्ने। nagariknews.com

Leave a Reply