सरु पौडेल/थानकोटमा रहेको त्रिभुवन पार्कमा प्रायजसो मानिसहरु मनोरञ्जनकै लागि जाने गर्छन् । त्यही मनोरञ्जनको लागि त्रिभुवन पार्क अवलोकन गर्न जाने एक मानिसमा म पनि पर्छु । त्रिभुवन पार्क छिरेपछि पोखरीसँगै रहेको उत्तानो परेर ढलिरहेका त्रिभुवनको शालिक देख्दा लाग्यो म मनोरञ्जनको लागि आएको होइन ।
राजा त्रिभुवनको बिजोग हेर्न आएकी हुँ । खाइलाग्दो शरीर भएका त्रिभुवन त्यसरी भुइँमा ढलेको देखेर आँखामा आँसु पनि आए तर रोक्ने कोशिस गरेँ । सरसर्ती मैले पढेका राजा त्रिभुवनका योगदानहरु सम्झिएँ एकचोटी – २००७ सालको क्रान्ति, ,त्रिपक्षीय लील्ली सम्झौता, राणाशासनबिरुद्ध क्रान्ति गर्नको लागि दरबार छोडेर हिँड्नु र जनताको खुसीको लागि लड्ने राजा त्रिभुवनलाई राष्ट्रिय विभूतिको रुपमा पढेको पनि सम्झिएँ ।राजा त्रिभुवनको उक्त शालिक २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ढलाएको थियो ।
त्यसलाई उठाउनु राज्यको कर्तव्य हो तर राज्यले एक विभूति ढल्दा अनि राष्ट्रिय धरोहर ढल्दा पनि उठाउन नसक्नु यो के राष्ट्रप्रतिको सम्मान होला ?उत्तानो परेर भुइँमा लडेका त्रिभुवनले आकाश नियालिरहेका छन् तर म भने त्रिभुवनलाई हेर्दै एक्लै कुरा गरिरहेँ ।ऐतिहासिक, साँस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्वपूर्ण पार्क हो त्रिभुवन पार्क । १६५ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क अहिले सडक विभागको कटानीको कारण १५५ रोपनीमा मात्र सीमित छ ।
राजा त्रिभुवनको मृत्युपछि वि.सं. २०२४ सालमा उनको सम्झनामा केशव शमशेर जबराको अध्यक्षतामा गठन भएको नौ सदस्यीय समितिले यो पार्क दर्ता गरी २०२८ सालमा निर्माण भएको थियो जसको उद्घाटन राजा वीरेन्द्रले गरेका थिए । सुरुमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क वि.सं २०३०÷३१ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
त्रिभुवनको सम्झनामा निर्माण गरिएकोले वि.सं.२०६५ भन्दा अघिसम्म यसलाई श्री ५ त्रिभुवन स्मारक समिति भनिन्थ्यो । वि.सं. २०६५ मा नाम परिवर्तन गरी सहिद स्मारक प्रकृति प्रतिष्ठान राखिएको थियो । यस पार्कमा अहिले वनभोज लगायतका कार्यक्रमहरु हुन्छन् तर उत्तानो परेका त्रिभुवनलाई भने उठाउन सकिएको छैन । ती त्रिभुवनलाई उठाउन बजेटको अभाव छ या छैन ? यो कुरा विस्तारै गरौला तर सरकार भने पक्कै अन्धो भएको छ ।
म्याग्दी सञ्चार साप्ताहिकबाट