नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो ।मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ ।
दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ ।
जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं ।नसा च्यापिदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसुस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ ।
जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ ।
यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँपिच्छे फरक हुन्छ ।
उपचार विधि
यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पुर्याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ ।
बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।
तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।
पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।
निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ । परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ ।
त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो ।
कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ ।
त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।
सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ ।
तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ ।
यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ ।
यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ । तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ ।
अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।
नशा च्यापिने प्रमुख कारण ?
नशा च्यापिने समस्या अनौठो समस्या हो । यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ ।
त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।
· बसाई नमिलेमा
· महिलाहरुको हकमा प्रसव वेदनाको कारण
· शरीरमा अनावश्यक बल प्रयोग गरेमा
· भारी सामान उचालेमा
· गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
· हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
· जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा
यसबाट बच्ने उपाय
· आहारविहारमा ध्यान दिने
· कुर्सीमा बस्दा अढेस लगाएर बस्ने
· खुट्टा टेकेर बस्ने
· बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने
· व्यायाम गर्दा कम्मर सड्किन नदिने
· शरीरमा ज्यादा दखल नदिने
· त्यस्तै, जीवनशैलामा केही परिवर्तन गर्ने
(सुरज भुसाल एभरेष्ट नर्सिङ्ग होममा कार्यरत फिजियोथेरापिस्ट हुन् ।)