बेनी–दरबाङ सडकखण्डमा जीपको प्रतिस्पर्धा, यात्रुलाई भाडामा सुविधा

पश्चिम म्याग्दीको भेगलाई जोड्ने बेनी–दरबाङ सडकखण्डमा शनिबारदेखि जीप सेवा शुरु भएको छ । सर्वसाधारणलाई लक्षित गरी म्याग्दी बस तथा जीप सञ्चालक समितिले बेनी–दरबाङ सडकखण्डमा स्तरीय जीप सेवा शुरु गरेको पत्रकार भेटघाटकार्यक्रममार्फत जानकारी गराएको हो ।

शुरुमा पाँचवटा जीपमार्फत सेवा शुरु गरिएको समितिले जनाएको छ । शनिरबार बिहानैदेखि पालोअनुसार बेनीदेखि यात्रु लिएर दरबाङका लागि जीप छुटेको समितिका सचिव सुमन श्रेष्ठले जानकारी दिए । बेनीदेखि दरबाङका लागि प्रति यात्रु २ सय ५० रुपैयाँ भाडादर कायम गरिएको बताउँदै उनले आगामी दिनमा जीपको सङ्ख्या थप गरी अन्य क्षेत्रमा पनि जीप सञ्चालन गरिने बताए । बेनी–दरबाङ सडकमा शुरुमा यातायात सेवा सञ्चालनमा आएपछि जीपमार्फत यात्रुलाई सेवा दिन थालिएको थियो ।
img_6551
तर, पछि विस्तारै जीप विस्थापित भएपछि अहिले बसमार्फत यात्रु बोक्ने गरिएकोमा पुनः जीप सेवा सञ्चालन गरिएको सचिव श्रेष्ठको भनाई छ । पश्चिम म्याग्दीको दरबाङ क्षेत्रका युवाहरुले पश्चिम म्याग्दी यातायात सेवा प्रालि कम्पनी दर्ता गरी आइतबारदेखि जीपको सेवा शुरु गर्न लागेपछि म्याग्दी जीप तथा बस सञ्चालक समितिले पनि फेरी प्रतिस्पर्धात्मक रुपमा जीप सेवा शुरु गरेको बताइएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रालिले आइतबार देखी प्रति यात्रु ३ सयको दरले भाडा तोकेर नयाँ सेवा सुरु गर्ने तयारीमा छ ।