मुस्ताङबाट २५ हजार भेडाच्याग्रा बाहिरिने

(हरिकृष्ण गौतम)
यसपालीको दशैंतिहारमा हिमाली जिल्लाबाट करिव २५ हजार भेडाच्याङ्ग्रा बाहिरने भएका छन् । प्रयाप्त चरन, बजार मुल्य र जिल्ला पशुसेवा कार्यालयको नियमित प्राविधिक सहित अनुदान सहयोगबाट भेडाच्याङग्रा पालनमा आर्कषित भएका उपल्लो मुस्ताङबासीको गोठमै ब्यापारी पुग्न थालेका छन् ।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकहरूको गोठमै ब्यापारीहरू पुग्न थालेपछि यसपटक असोजको दोस्रो सातासम्म जिल्ला बाहिर निकासी हुने पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए । ‘चाडपर्वको चहपहल सुरू भएको छ ।विगतमा भन्दा भेडाच्याङग्राको निकासी बढ्छ’ बर्माले भने । यसबर्ष चरन क्षेत्रमा कुनैपनि रोग नदेखिएकाले पनि स्वस्थ भेडाच्याङग्रा बजारमा जाने बताए ।‘आयआर्जन हुने भएकाले पनि हरेकबर्ष कृषकले संख्या बढाउने गरेका छन ।स्थलगत रुपमै पुगेर प्राविधिक सहयोगले समेत उत्साहित छन्’ उनले भने। गतबर्ष मुस्ताङबाट १९ हजार ३ सय भेडाच्याङग्रा निकासी भएको थियो ।

भेडापालनलाई प्रमुख पेशा बनाएकाहरूले घुम्ती चरन क्षेत्रको ब्यवस्था गरेर समेत संख्या बढाएको समेत पशुसेवा कार्यालयले जनाएको छ । मुस्ताङमा भेडाको तुलनामा च्याङ्ग्राको संख्या धेरै हुने गरेको छ । विगतमा हिउँ चितुवाको आक्रमणले गोठमै ठुलो संख्यामा भेडाच्याङ्ग्रा मरेपछि निरास भएका कृषकले गोठ समेत परिवर्तन र बस्ती नजिकका साथै सुरक्षाका विभिन्न उपायहरूको प्रयोग गरेका छन् ।मासुका पारखीले समेत च्याङ्ग्रा रोज्ने भएकाले पनि कृषकको आर्कषण बढेको पशु स्वास्थ्य प्राविधिक आम प्रसाद थकालीले बताए ।

उनले जिल्लामा रहेका भेडापालक कृषकसंग समन्वय भइरहेकाले जिल्लाबाट बाहिरिने क्रममा स्वास्थ्य परिक्षण सहित तथ्याङ्क संकलन गरिने बताए । उपल्लो मुस्ताङमा रहेका विभिन्न स्थान सहित म्याग्दीको सिमानामा रहेको लेतेमा भेडाच्याङग्राको तथ्याङक राख्न कार्यालयले कर्मचारी समेत खटाएको छ ।मुस्ताङका भेडा धौलागिरि अञ्चल सहित देशका विभिन्न जिल्लामा पुग्छन् । सडकमार्ग हुदै लैजानुपर्ने भएकाले पनि ब्यापारीले एकमहिना अगाडी कृषककै गोठमा गएर मुल्य निर्धारण गर्छन् ।

यसैविच गतबर्ष ७ सय भेडा लगेको नेपाल खाद्य संस्थानले यसबर्ष मुस्ताङबाट १५ सय भेडा लैजाने भएको छ । संस्थाले पशुसेवा कार्यालयलाई पत्र मार्फत १५ सय भेडाच्याङग्राको उपलब्ध गराउने वातावरण बनाउन अनुरोध गरेको कार्यालयले जनाएको छ । भेडाच्याङग्रा सहर पसेपछि चाडपर्व तथा ब्यापारिक कारोबार समेत ह्वात्तै बढ्ने गरेको छ ।

तिब्वतबाट ८ हजार भेडाच्याङग्रा

तिब्वतको सिमानामा भएको अन्तरदेशीय ब्यापार मेलामा भेडाच्याङग्राको खरिदविक्री भएकाले करिव ८ हजारको हाराहारीमा मुस्ताङ हुदै बाहिरिने लोमान्थाङका स्थानीय इन्द्रधारा विष्टले बताए।‘ब्यापार मेलाले सहज भएको छ । तिब्वती भेडाच्याङग्रा धेरै उतै खपत हुन्छ’ उनले भने ।

नेपाली बजारमा माग अत्याधिक भएपनि मेलाको अवसरमा मात्रै नाका खुल्ने भएकाले अन्य समयमा दुवै क्षेत्रका ब्यापारीले चाहेर पनि भेडाच्याङ्ग्रा खरिदविक्री गर्न पाउँदैनन् । तिब्वती क्षेत्रका ब्यापारीले नेपाली बजारमा भनेजस्तो मुल्य पाउने भएपनि नाका बन्द भएकाले समस्या खेप्नुपरेको मुस्ताङीको भनाई छ । तिब्वतको झोङवासेन जिल्ला भेडाच्याङ्ग्राका लागि पकेट क्षेत्रको रुपमा लिने गरिन्छ । यसपटकको ब्यापार मेलामा मुस्ताङीले भेडाच्याङ्ग्रा खरिद गरेर गोठमा राखेका छन् । तिब्वतीबाट खरिद गरेको च्याङग्रा लिन जाने ब्यापारीलाई गोठबाटै विक्री गरेर मुस्ताङीले राम्रो आम्दानी गर्ने गरेका छन्।
फाईल तस्विर