वुद्ध र कोरीयाना लोक दोहोरीको फाईनलमा

वुद्ध एकेडेमी बगरफाँट र होटल कोरीयानाको समूह बेनीमा आयोजित खुल्ला लोक दोहोरी गित प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।पाँचौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको शुक्रबार भएको सेमी फाईनलमा वुद्ध एकेडेमीले याक होटललाई पराजित गर्दै अन्तिम फाईनलमा पुगेको मूल्याङ्कन उपसमितिका संयोजक रामकृष्ण बर्राईलीले जानकारी दिनुभयो ।

यसैगरी कमल सुनचाँदी दुकानलाई पराजित गर्दै होटल कोरीयाना पनि अन्तिम फाईनलमा पुगेको छ । शनिबार तेस्रो र चौथौ स्थानका लागि याक होटल र कमल सुनचाँदी दुकानबिच प्रतिस्पर्धा हुने भएको छ । प्रथम स्थानका लागि वुद्ध एकेडेमी र होटल कोरीयानाबीच महोत्सवको अन्तिम दिन आईतबार प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।१६ समूहले सहभागिता जनाएको प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुने समूहलाई क्रमश १ लाख एक हजार १११, ५१ हजार १११, २५ हजार १११ र ११ हजार १११ रुपैया पुरस्कार प्रदान गरिने लोकदोहोरी गित प्रतियोगिता संयोजक बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

सेमी फाईनलमा सहभागिहरुले बैदेशिक रोजगारी, साली भेनाको पिरती, अपरिचित युवायुवतीको महोत्सवमा भेट भएको, मुक्तिनाथ यात्राको विषयमा दोहोरी गाएका थिए । लोक दोहोरीमा प्रथम चरण पार गरेका टिमलाई आयोजकले दैनिक दर्ुइ हजार रुपैयाका दरले भत्ताको व्यवस्था गरेका छन् ।

पुष २५ गते सुरु भएको महोत्सवको आठौ दिन राष्ट्रिय पशुपती शर्मा, बद्रि पंगेनी, प्रजापती पराजुली, मिना लामा, अनुप थापा, हस्त केसी, कृष्ण जिसी लगायतका कलाकारले गित प्रस्तुत गर्नुभएको सांस्कृतीक कार्यक्रम संयोजक उत्तम कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गणेशटोल र क्याम्पसचोकको समूहले नृत्य प्रस्तुत गरेका थिए ।