हिमाली जिल्ला म्याग्दीमा पछिल्लो केही वर्षदेखि यता सुन्तलाको उत्पादन बढ्न थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा व्यावसायिक रुपमा सुन्तला खेतीलाई जोड दिएपछि उत्पादनमा वृद्धि हुँदै गएको हो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ मा जिल्लाभर कुल ४ हजार ७ सय ८१ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष २५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ । जिल्लाको हालसम्म कुल ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती लगाइएको छ भने त्यसमध्ये ४ सय २५ हेक्टर क्षेत्रफलको सुन्तला खेतीले उत्पादन दिएको छ ।
प्रति हेक्टर ११ दशमलव २५ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसवर्ष उत्पादित सुन्तलाको सरदर हिसाबमा प्रति केजी ७० देखि ७५ रुपैयाँको दरले जिल्लामा कुल ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । जिल्लामा उत्पादन भएको कुल सुन्तलाको परिमाणमध्ये ८० प्रतिशतभन्दा बढी जिल्ला बाहिर खपत हुने गरेको उहाँले बताउनुभयो ।
म्याग्दी जिल्लामा उत्पादित सुन्तलाको मुख्य बजार पोखरा, चितवन, धादिङ र काठमाडौं रहेको केन्द्र प्रमुख बाँस्तोलाको भनाइ छ ।
सुन्तला पाक्न थालेपछि व्यापारीहरु खरिद गर्नका लागि किसानको बगैंचामा नै पुग्ने गरेका छन् । म्याग्दीको बेनी नगरपालिकामा ३ नम्बर वडाको भकिम्ली, मरेक, राखु, ४ नम्बर वडाको बास्कुना, थामडाँडा, ९ नम्बर वडाको काउलेगौंडा, नेप्टेचौर, अन्नपूर्ण गाउँपालिकाको हिस्तान, दोसल्ले, घार, दाना, दोवा, नारच्याङ, रघुगंगाको राखुपिप्ले, भगवती, मंगलाको बरंजा, भोर्लेनी र अर्मन सुन्तलाको पकेट क्षेत्र मानिन्छन् ।
यसैगरी मालिकाको विम, देवीस्थान, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम र धारापानी क्षेत्र सुन्तला उत्पादनको हिसाबले अब्बल मानिने कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दी जिल्लाका व्यावसायिक सुन्तला उत्पादक किसानहरुले स्थानीय जातको सुन्तलाको खेती गर्दै आइरहेका छन् । विगतका वर्षहरुको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा धेरै वृद्धि भएको कृषि प्राविधिहरुको भनाइ छ । वर्षेनी जिल्लामा सुन्तला खेती विस्तार हुनुका साथै उत्पादन समेत बढ्दै गैरहेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गंगा लामिछानेले जानकारी दिनुभयो ।
यसवर्ष सुन्तला उत्पादन बढ्नुमा रोग तथा किराको प्रकोप नियन्त्रण, मौसम अनुकुल, सुन्तला खेतीको क्षेत्रफल विस्तार, बगैंचा सुदृढीकरण कार्यक्रम र किसानहरुलाई आवश्यक तालिम, गोष्ठी दिनुका साथै बिऊमल, विषादी, औजार–उपकरण र अनुदान सहयोग भएकाले उत्पादनमा वृद्धि भएको जनाइएको छ । हिमाली जिल्लामा सूचीकृत भए पनि म्याग्दीमा व्यावसायिक सुन्तला खेती फस्टाउँदै जान थालेपछि गण्डकी प्रदेश सरकारले सुन्तलाजात फलफुल उत्पादनमा विशेष जोड दिएको छ । म्याग्दीलाई आलु खेतीपछि नगदे बालीतर्फ सुुन्तला धेरै उत्पादन हुने जिल्लाको रुपमा लिन थालिएको छ ।
कृषि ज्ञान केन्द्रले स्थलगत रुपमा सुन्तलाको बगैंचामा पुगेर किसानहरुलाई आवश्यक प्राविधिक ज्ञानलगायत कृषि औजार तथा उपकरणमा सहयोग गरिरहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले किसानहरुलाई लक्षित गरेर कृषि उत्पादन सम्बन्धी विभिन्न कार्यक्रमहरुमार्फत प्रोत्साहन तथा अनुदान सहयोग गरेपछि विदेशबाट फर्किएका किसानहरु समेत व्यावसायिक तरिकाले कृषि, फलफुल र पशुपालनको क्षेत्रतर्फ आकर्षित भएर लागिपरेका छन् ।
किसानहरुले अन्न उत्पादन हुने पाखोबारी तथा खेतलाई मासेर सुन्तला खेतीमा रुपान्तरण गरेका छन् । विगतमा धान, मकै, कोदो, जौ, तोरी, ऊवा, फापरलगायत खाद्यान्न बाली उत्पादन हुने जग्गामा अचेल व्यावसायिक रुपमा सुन्तलालगायत नगदे बालीको उत्पादन हुँदै आएको छ । सुन्तला खेती म्याग्देली किसानहरुको मुख्य आम्दानीको स्रोतका रुपमा विकास भैरहेको छ । सुन्तला खेतीबाट सामान्य किसानले न्यूनतम ५०÷६० हजारदेखि अधिकतम दशप्रन्ध लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।