म्याग्दीमा विभिन्न क्षेत्रमा ज्यालामजदुरी गर्ने मजदुर आवश्यक सुुरक्षा सावधानीका कारण मृत्युबरण गर्नुपरेको
क्युपेक नेपाल म्याग्दीको जिल्ला अधिवेशनमा बोल्ने बक्ताले बताएका छन् । बि.स २०७५ यता म्याग्दीको विभिन्न क्षेत्रमा मजदुरी गर्ने ३० जना मजदुरको मृत्यु भएको अधिवेशनमा बताइएको थियो ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक नेपाल)को नवौं जिल्ला अधिवेशनमा उक्त धारणा राखिएको हो । क्युपेक नेपालकी केन्द्रीय सचिव बलादेवी राईले म्याग्दी जिल्लाको विभिन्न ठाउँमा निर्माणको क्षेत्रमा काम गर्ने मध्ये ३० जना मजदुरको कार्यक्षत्रमै भएको दुर्घटनामा मृत्यु भएको बताउनुभयो ।

उहाँका अनुसार क्युपेक नेपालका सदस्य रहेका ११ जना र सदस्य नरहेका १९ जनाको मृत्युको तथ्याङ्क क्युपेक नेपाल सँग रहेको छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन म्याग्दीको नवौं जिल्ला अधिवेशनमा बोल्दै केन्द्रीय अध्यक्ष शान्ता बस्नेतले नेपाल मात्रै नभएर विश्वकै विकासका लागि मजदुरहरुको भूमिका उल्लेख्य रहने बताउनुभयो ।

उहाँले निर्माणको क्षेत्रमा हुने हाम्रो योगदानले नै सबैका लागि सहज हुने भएकाले मजदुरको पेशा सम्मानित पेशा रहेको धारणा राख्नु भयो । पछिल्लो ३० वर्ष देखि मजदुरको क्षेत्रमा काम गर्दै आएको बताउने उहाँले राज्यले पनि मजदुरको क्षेत्रमा केही राम्रा काम गरेको धारणा राख्नु भएको थियो । योगदानमा आधारीत सामाजिक सुरक्षा मजदुरहरुलाइ नै केन्द्रीत गरेर सञ्चालनमा आएको दावी गर्नुभयो ।

कार्यक्रममा अखिल नेपाल ट्रड युनियन महासंघ(जिफन्ट) गगण्डकी प्रदेश उपाध्यक्ष लिलाबहादुर कार्की, क्युपेककी केन्द्रीय सदस्य बिन्दुकुमारी श्रेष्ठ, सामुदायिक प्रहरी सेवा म्याग्दीका अध्यक्ष पशुपती शाहीलगायतले बोल्नु भएको थियो । क्युपेक नेपाल म्याग्दीका कार्यवाहक अध्यक्ष जीतबहादुर किसानको अध्यक्षतामा भएको कार्यक्रममा शुकला गुरुङले स्वागत गर्नुभएको थियो भने पुजा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply