म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७, बिमस्थित “प्रभुचेला धुरी” एक पवित्र तपोभूमि हो, जहाँ करिब एक शताब्दीअघि श्रीस्वर्गद्वारी महाप्रभुका चेला स्वामी कपिलानन्द गिरिजीले कठोर तपस्या गर्नुभएको थियो । दशकौँसम्म उपेक्षित अवस्थामा रहेको यो स्थान अहिले श्रद्धालु भक्तजनहरूको अथक प्रयास, आर्थिक, भौतिक तथा नैतिक सहयोगद्वारा पुनर्जीवित हुन पुगेको छ । समयक्रमसँगै उपेक्षित र छायाँमा परेको यस पावन भूमिलाई पुनः जागरुक गराउने सङ्कल्पले अनेकौँ समर्पित मनहरू एकत्रित भए । यही समर्पणको फलस्वरूप २०८१ माघ २१ गते वसन्त पञ्चमीको पावन अवसरमा प्रभुचेला धुरी ध्यानाश्रमको प्राण प्रतिष्ठा महोत्सव भव्य रूपमा सम्पन्न भयो ।
यस ऐतिहासिक क्षणलाई विशेष बनाउन देशभरका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रह्यो । श्री नवीन जुग्जालीज्यूको सभाध्यक्ष र कार्यक्रममा प्रमुख अतिथि स्वामी चिरञ्जीवीज्यू हुनुहुन्थ्यो भने, विशिष्ट अतिथि पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य माननीय रेशम जुग्जाली (सुविन), गाउँपालिका प्रमुख श्री बेग प्रसाद गर्बुजा, वडा अध्यक्ष श्री टकलाक पुन, श्री कदबहादुर जुग्जाली, समाजसेवी तम बहादुर थापा तथा अन्य विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन श्री सुर्मन गर्बुजाज्यूले गर्नुभएको थियो, जसले सम्पूर्ण अनुष्ठानलाई सुव्यवस्थित रूपमा सम्पन्न गराउनु भयो ।
यो दिव्य अवसरलाई अझ बढी आध्यात्मिक ऊर्जा प्रदान गर्न श्रीस्वर्गद्वारी धाम, प्युठानबाट आउनु भएका भएका पाँच जना गुरुज्यूहरूद्वारा महा रुद्री पाठ, अभिषेक अनुष्ठान, यज्ञ विधान (हवन विधि) तथा प्राण प्रतिष्ठा विधिपूर्वक सम्पन्न गरियो । विशेषगरी गुरुज्यूहरूद्वारा नवनिर्मित कुटी, प्रदेश सरकारबाट विनियोजित योजनामा निर्मित हवन कुण्ड, स्वामी कपिलानन्द गिरिजीको प्रतिमा, सिद्धथान, शिवालय मन्दिर, गणेश मन्दिर, सहज ध्यान केन्द्र (गोलघर), ठुलो घन्टी र पिउने पानीको धारालाई श्रीस्वर्गद्वारी धामकै परम्परागत विधि अनुसार प्राण प्रतिष्ठान गरिएको थियो । मन्त्र उच्चारणका साथ गरिएको अभिषेकले प्रभुचेला धुरीलाई एक नवीन आध्यात्मिक केन्द्रको रूपमा प्रतिष्ठित गराएको छ । गुरुज्यूहरूले यस स्थललाई श्रीस्वर्गद्वारी धाम बराबरको चैतन्ययुक्त तथा जागरुक भएको घोषणा समेत गर्नुभएको थियो, जसले यो स्थान अब केवल ऐतिहासिक मात्र नभई आध्यात्मिक ऊर्जा प्रवाहित गर्ने धरोहर बनेको छ ।
प्रभुचेला धुरीको पुनर्जागरणमा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई यस अवसरमा सम्मानित गरियो । श्री कद बहादुर जुग्जाली, श्री रत्न प्रसाद पुन, श्री समालाल जुग्जाली, माननीय श्री नवराज शर्माज्यू, माननीय श्री रेशम बहादुर जुग्जाली (सुविन) र श्री वेग प्रसाद गर्बुजा गरी कुल ६ जना महानुभावहरूलाई स्वामी चिरञ्जीवीज्यूको अनुकम्पाबाट विशेष अभिनन्दन गरियो । साथै आर्थिक, भौतिक तथा नैतिक रूपमा महत्त्वपूर्ण योगदान पु¥याउने ६० जना महानुभावहरूलाई कृतज्ञतास्वरूप सम्मानपत्र प्रदान गरियो । यस महोत्सवलाई व्यापक रूपमा प्रचारप्रसार गरी जनचेतना जगाउने कार्यमा योगदान पु¥याउनु भएका पत्रकारद्वय श्री हरिकृष्ण गौतम र गोपाल आचार्य लगायत सह–पत्रकार खड्क छन्त्याल समेतलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
दोस्रो दिन २०८१ माघ २२ गते, पहिलो दिन सम्पन्न गरिएका अनुष्ठानहरूलाई परिपूर्ण बनाउने उद्देश्यले उत्तराङ्ग पूजा, पूर्णपात्र दान तथा पूर्णाहुती गरियो । यस अवसरमा गाउँपालिका प्रमुख श्री बेग प्रसाद गर्बुजाज्यूलाई दोसल्ला तथा सम्मानपत्रका साथ अभिनन्दन गरिएको थियो । गुरुज्यूहरूलाई विशेष सत्कारसहित सम्मानपूर्वक बिदाइ गरियो । अन्ततः पूर्ण पाठसहित यज्ञ विधान सम्पन्न गरी भक्तजनहरूमा प्रसाद वितरण गरियो ।
यस भव्य प्राण प्रतिष्ठा महोत्सवसँगै प्रभुचेला धुरीको पुनर्जागरण भएको छ । एक समय उपेक्षित र बिर्सिइसकेको यो तपोभूमि अब केवल एक ऐतिहासिक स्थल मात्र होइन, आध्यात्मिक साधना, ध्यान तथा आत्मबोधको केन्द्र बन्ने विश्वास गरिएको छ । श्रद्धालु भक्तजनहरूको निरन्तर सहयोग, समर्पण र साधनाले यस स्थललाई उज्ज्वल आध्यात्मिक प्रकाशमा समाहित गर्दै लैजाने छ ।
– नवीन जुग्जाली, मालिका–७, बिम, म्याग्दी