म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पनन भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक,व्यापार मेला शान्त, संयमित तथा उत्साहजनक दर्शकको उपस्थितीमा सम्पन्न भएको छ ।
गत पुस २८ देखि यही माघ ८ मंगलबारसम्म आयोजना भएको महोत्सवमा १ लाखले प्रत्यक्ष र अप्रत्यक्ष अवलोकन तथा १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्देलीले म्याग्दी महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाएर सन्देश प्रवाह गरेको बताए ।
‘अपेक्षा गरे अनुसारकै कारोबार भएको छ, महोत्सव सफल बनाउने सबैप्रति आभारी छौ।’ महोत्सवको अवसरमा विभिन्न संघसंस्थाको जनजातिका झाँकी र भेषभूषासहित प्रतियोगिताले कला, संस्कृति तथा भेषभूषाको जगेर्नामा समेत सघाएको अध्यक्ष श्रेष्ठले बताए ।
कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष रहेको महोत्सवभित्र र बेनीबजारमा हरेका होटल तथा रेष्टुरेन्ट, अन्य ब्यापारिक क्षेत्रहरूमा समेत चहलपहल थियो ।
महोत्सवमा स्थानीय कृषि तथा पशुजन्य, सूचना प्रविधि,आयातित बस्तु,खाद्यान्न, भाडाको प्रर्दशनीगरिएको थियो। स्थानीय उत्पादनका ३५ वटा स्टलमा भने निःशुल्क प्रर्दशनीको व्यवस्था मिलाइएको थियो। नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारले समेत दर्शकलाई आर्कषित गरेको थियो ।
महोत्सवमा कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, कृषि तथा पशु प्रर्दशनी, बास्केटबल, लोकदोहोरी, रत्यौली, पुख्यौली, भजन, एकल खुल्ला नृत्य प्रतियोगिता, मोना फोटो प्रर्दशनी सहित विविध कार्यक्रमहरु समेत आयोजना गरिएको थियो। महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र समापन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघले महोत्सवमा एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ रुपैयाँ खर्च भएर म्याग्दी उद्योग बाणिज्य संघलाई पाँच लाख १० हजार ८६ रुपैयाँ बचत गर्ने लक्ष्य लिएको कोषाध्यक्ष एवम् आर्थिक संयोजक सुमन श्रेष्ठले बताए ।
म्याग्दीको बेनीमा २०५७ सालदेखि माघेसङ्क्रान्ति मेला लगाउन सुरु गरिएकोमा २०६० सालबाट म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा म्याग्दी महोत्सव लगाउन सुरु गरिएको थियो। हरेक तीन–तीन वर्षको अन्तरालमा म्याग्दी महोत्सव लाग्ने गरेको छ ।