राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीको प्रथम जिल्ला भेलाबाट यूवराज रोकाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन भएको छ । शनिबार सदरमुकाम बेनीमा आयोजित भेलाबाट उपाध्यक्षमा छवि आचार्य, सचिव राजाराम बरुवाल, सहसचिव कल्पना केसी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा यादबप्रसाद पौडेल, सुनिता परियार, गुनमायाँ पुन, सन्तोष ढुंगाना, राजबहादुर केसी रहनुभएको छ ।
नवनिर्वाचित कार्यसिमितको कोषाध्यक्ष सहितका मनोनित पदहरू नयाँ कार्यसमितिले मनोनित गर्ने उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन समारोहमा बोल्दै केन्द्रिय प्रबक्ता एवम् प्रतिनिधिसभा सदस्य मनिष झा, प्रतिनिधिसभा सदस्य हरि ढकाल, विनिता कठायत, रास्वपा गण्डकीका अध्यक्ष राजन गौतमले बैकल्पिक शक्तीको रुपमा स्थापित भएको बताउनुभयो ।
प्रथम सम्मेलनमा सत्तापक्षबाट निरन्तर भइरहेको प्रहारले कुनै बिचलित नहुन र संगठन विस्तारमा सक्रिय हुन समेत जिल्ला नेतृत्वलाई योजनाबद्ध रुपमा अगाडी बढ्न र आगामी निर्वाचनमा पहिलो शक्ती बनाउने गरी सक्रिय हुन समेत निर्देशन दिनुभएको थियो ।
यसअगाडीको नेतृत्व कमजोर हुदाँ जिल्लामा संगठन विस्तार सहितका विभिन्न गतिविधिहरु अगाडी बढ्न नसकेको, जनआर्कषणलाई समेत असर गरेको भन्दै आलोचना भएको थियो ।
नवनिर्वाचत अध्यक्ष रोकाले आगामी बैठकबाट जिल्लाका सबै पालिका, वडास्तरसम्म पुग्ने गरी संगठन विस्तारको अभियान तथा २०८४ सालको प्रतिनिधि र स्थानीय निर्वाचनका लागि उम्मेदवार तयारी गर्ने बताउनुभयो । राजनीतिक र सांगठनिक अभियान आवश्यक रहेको निष्कर्षका साथ प्रथम भेला सम्पन्न भएको उपाध्यक्ष आचार्यको भनाई छ ।