पर्यटकीय आकर्षणको सम्भावना बोकेको म्याग्दीको केभहिलमा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको छ । म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित पर्यटकीयस्थल केभहिल अर्थात् गुफाको डाँडोमा बनाइएको भ्यू-टावर निर्माणले पूर्णता नपाउँदा अलपत्र बनेको हो ।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन गर्ने, ओझेलमा परेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार तथा स्थानीयवासीको समेत आर्थिकस्तरमा सुधार ल्याउने उद्देश्यले भ्यू-टावर निर्माण थालिएको थियो ।
गाजनेको केभहिल आँफैमा पनि भ्यू-टावर हो । तर यहाँ बनाइएको भ्यू-टावरमा पर्यटक जानुको सट्टा अहिले दैनिकजसो भैंसी र बाख्रा चर्ने गर्दछन् । यहाँ घेराबार गरिएको भ्यू-टावर परिसरमा स्थानीयवासीले भैंसी चराउँछन् ।
पर्यटकलक्षित भ्यू-टावर वरिपरी लगाइएको बार भत्काएर दिनहुँजसो भैंसी चराउने गरिएको छ । केभहिल पर्यटकीय क्षेत्र भएकाले वडा कार्यालय र बेनी नगरपालिकाको झण्डै २० लाख रुपैयाँको लागतमा भ्यू-टावर निर्माण थालिएको थियो ।
भ्यू-टावर निर्माणको केही काम अझै बाँकी रहेको र अहिलेसम्म पनि त्यो कामले पूर्णता पाएको छैन । भ्यू-टावरको काम पूरा नभएकाले स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी समेत नदिँदा यसको संरक्षणमा समस्या आएको हो ।
भ्यू-टावर निर्माणसम्पन्न भई सञ्चालनमा आउनुपर्नेमा अहिलेसम्म अलपत्र बनेको छ । उपभोक्ता समितिको गैरजिम्मेवारीपन, निर्माण व्यवसायीको ढिलासुस्ती र बेनी नगरपालिकाको वेवास्ताले भ्यू-टावर अलपत्र परेको स्थानीयवासीले आरोप लगाएका छन् ।
भ्यू-टावर निर्माणको लागत स्टिमेट तयार एवं निर्माणको क्रममा भएको कमजोरीका कारण भ्यू-टावरमा चारपाँच जना चढ्नेबित्तिकै हल्लिने गर्दछ । एकैपटक धेरै जना चढेको खण्डमा जुनसुकै समयमा पनि भ्यू-टावरमा दुर्घटना हुन सक्ने जोखिम बढेको छ ।
केभहिलमा नवनिर्मित भ्यू-टावरको सुरक्षाका लागि बलियो घेराबार लगाउनुपर्ने तथा गेट निर्माण गर्नुपर्ने गाजनेका स्थानीय समेत रहनुभएका जगन्नाथ मन्दिरका अध्यक्ष निलकण्ठ शर्माले बताउनुभयो ।
भ्यू-टावर बाहिरपट्टी सपोर्टको रुपमा फलामका पोलहरु गाढेर भ्यू-टावरलाई नहल्लिने बनाउन सकिन्छ । आर्थिक वर्ष २०७४-०७५ देखि भ्यू-टावर निर्माण थालिएको भए पनि हालसम्म यस टावरले पूर्णता पाउन सकेको छैन ।
भ्यु-टावर निर्माणमा बेनी नगरपालिकाले १५ लाख र स्थानीय श्रमदान दुईलाख रुपैयाँसहित कुल १७ लाख रुपैयाँको बजेट लगानी भैसकेको छ । आव ०७८-७९ सम्म निर्माण सकिनुपर्ने भ्यू-टावरको काम अहिलेसम्म पनि सकिएको छैन ।
भ्यू-टावर निर्माणका लागि वडा कार्यालय र बेनी नगरपालिकामा ध्यानाकर्षण गराइएको भए पनि कुनै पहल नभएको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर बानियाँले गुनासो गर्नुभयो ।
केभहिलमा निर्माणाधीन भ्यु-टावरको कुल ३६ फिट उचाई, १ सय ७६ दशमलव ७१ वर्गफिट क्षेत्रफल र भ्यु–टावरमा ६ ओटा ल्याण्डिङ (उक्लने र ओर्लने) भर्याङहरु हालिएको छ ।
माथिल्लो भागमा एक पटकमा करिब १५ जना चढेर दृश्यावलोकन गर्न सकिने क्षमता रहेको भ्यु-टावरको सबै संरचनाहरु स्टिल स्ट्रक्चर अर्थात् (फलाम)को प्रयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ ।
भ्यू-टावर निर्माणमा यसअघि नगरपालिकाले आर्थिक वर्ष ०७४-७५ मा एकलाख, ०७५-७६ मा पाँचलाख, ०७६-७७ मा १० लाख र ०७७-७८ मा थप पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
विनियोजित बजेटका सहयोगमा भू-टावरको झण्डै ९० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको छ । यस्तै प्रतिक्षालय बनाउनुका साथै घेराबार लगाइएको भए पनि घेराबारतर्फ भने मर्मतसम्भार गर्नुपर्ने देखिन्छ ।
तर थोरै काम बाँकी रहेको अवस्थामा भ्यू-टावरको पूर्णताका लागि आव ०७८-७९ देखि हालसम्म बजेट विनियोजन नहुँदा निर्माणाधीन भ्यू-टावर अलपत्र परेको हो ।
बेनी नगरपालिका-५ नम्बर वडाका वडाध्यक्ष गोविन्द बानियाँले पर्यटकीयस्थलमा निर्माणाधीन भ्यू-टावरलाई पूर्णता दिन आवश्यक बजेटको व्यवस्थापन गरेर काम गरिने बताउनुभयो ।