स्टुडेन्ट भाइब्स एजुकेशन एण्ड भिजा सर्भिसेसले मुख्य प्रायोजनमा म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको पुरुष तथा महिला भलिबलको उपाधि ढोरपाटन क्लब अस्ट्रेलिया र म्याग्दी काली युनाइटेडले जितेको छ । आठौं संस्करणको महिला र पुरुष भलिबल च्याम्पियनसिपको ढोरपाटन पुरुषतर्फ र म्याग्दी काली महिलातर्फ च्याम्पियन बनेको हो ।
अस्ट्रेलियाको सिड्नीस्थित अवर्न बास्केटबल सेन्टर लिडकममा आइतवार भएको एक दिने प्रतियोगिताको पुरुषतर्फ रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको फाइनलमा नेपाली पुरुष राष्ट्रिय टोलीका सदस्य रहिसकेका स्पाइकर राजेन्द्र विष्ट सम्मिलित ढोरपाटनले राष्ट्रिय टोलीकै सदस्य रहिसकेका दिल बहादुर सुनारसम्मिलित गल्कोट समाज अस्ट्रेलियालाई ३–२ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको ढोरपाटनले त्यसपछि दुई सेट २५–१८, २५–१९ ले जित्दा चौथो सेट २१–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा लम्बियो । पाँचौं सेटको सुरुवातमै गल्कोटले ४–० को अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । राजेन्द्र विष्टको उच्च प्रदर्शनमा ढोरपाटनले लगातार ६ अंक बटुल्दा खेल ६–४ को स्थितिमा पुग्यो । त्यही अग्रतालाई कायम राख्दै ढोरपाटनले १५–१२ ले सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो । यसैबीच महिलामा आयोजक म्याग्दी जलजला परिवार अस्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दी काली युनाइटेड च्याम्पियन बन्न सफल भयो ।

महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसम्मिलित जलजलालाई पराजित गर्न नेपाली महिला राष्ट्रिय टोलीकी सदस्य सरस्वती चौधरीले सानदार प्रदर्शन गरिन् । म्याग्दी कालीले २५–१९ २५–१९ र २५–१९ को सोझो सेटमा जित निकाल्यो । पुरुषतर्फ विजेता बनेको ढोरपाटनले ३ हजार १ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको गल्कोटले १ हजार ८ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र पायो ।

महिलातर्फको विजेता म्याग्दी कालीले १ हजार २ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा दोस्रो भएको जलजलाले ७ सय ५ अस्ट्रेलियन डलरसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषतर्फ ढोरपाटनका राजेन्द्र विष्ट र महिलामा जलजलाकी अरुणा शाही सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनीहरुले ट्रफी प्राप्त गरे । यस्तै पुरुषतर्फ गल्कोटका दिल बहादुर सुनार उत्कृष्ट स्पाइकर, ढोरपाटनका खेम पुर्जा सेटर, गल्कोटका अर्जुन ब्लकर र गल्कोटकै विशाल विक उत्कृष्ट लिवेरो चुनिए ।

महिलामा म्याग्दी कालीकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, म्याग्दी कालीकी मिया पुन सर्भर र जलजलाकी मनिषा पुन लिवेरो चुनिइन् । उनीहरुले नगद र ट्रफी प्राप्त गरे । प्रतियोगिता दौरान नै जलजलाले राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई सम्मानित गरेको छ ।

जलजलाले नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वती चौधरी र प्रतिभा माली तथा पुरुषतर्फ पुर्व कप्तान मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, बिशाल बहादुर बिक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार, राजु शेरचनलाई सम्मानित गरेका हुन् । एक दिने च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष दिपेन्द्र भण्डारीले बताए । hamrokhelkud.com

Leave a Reply