म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०६८ सालमा स्थापित सहकारीमा कुल १ हजार ९९ जना शेयर सदस्यहरु आबद्ध रहेकोमा हालसम्म तीन करोड ७० लाख २९ हजार नौसय रुपैयाँ शेयर पुँजी, १६ करोड ३२ लाख ७२ हजार आठसय १३ लगानी र १३ करोड ६३ लाख ३५ हजार ६१ रुपैयाँ बचत रहेको छ ।

साधारणसभामा सहकारीका अध्यक्ष यामबहादुर बानियाँले अध्यक्षको प्रतिवेदन, सचिव भीमबहादुर खत्रीले वार्षिक प्रगति, कोषाध्यक्ष गीता बोगटीले आर्थिक र लेखा तथा सुपरिवेक्षण समिति संयोजक कमला बानियाँ थापाले लेखा समितिको प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट कारोबारतर्फ अणबहादुर घर्ती क्षत्री र विशेष बचततर्फ भीमबहादुर घिमिरेलाई सम्मान गरेको छ ।

यसैगरी साधारण बचततर्फ पूर्णबहादुर क्षत्री, नरु जुग्जाली, बालबचत अर्पणा खत्री, कृष्ण थापा, स्वर्णिम बचततर्फ पुजा बानियाँ र नारायण पौडेललाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाको मानवीय कोषबाट बेनपा–६, का पुष्पा विश्वकर्मालाई चामल, दालसहित खाद्यान्न सामग्री सहयोग गरिएको छ । त्यस्तै बेनी सामुदायिक मावि र बालमन्दिर मावि कालीपुलमा अध्ययनरत एकएक जना विद्यार्थीलाई नगद, स्टेशनरी, झोलालगायत सामग्रीहरु सहयोग गरिएको सहकारीका प्रवन्धक सरस्वती बानियाँले जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले सहकारी संघसंस्थाहरुले बचत र ऋणको कारोबार मात्र नभई सामाजिक क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाहरुले उत्पादन तथा व्यावसायिक क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउँदै आर्थिक–सामाजिक हैसियत कायम गराउनुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा सहकारीका पूर्व अध्यक्ष एवं बेनी नगरपालिका–६, नम्बर वडाका वडाध्यक्ष कृष्णसिङ बानियाँ, सल्लाहकार एकेन्द्रबहादुर रावल र शेयर सदस्य कपिल बानियाँले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, उपाध्यक्ष भोजबहादुर रिजालको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply